एसियाली खेलकुदका लागि सुदूरका सात कुस्ती खेलाडी छनोट

काठमाडौँ । १९औं एसियाली खेलकुदका लागि कुस्तीतर्फ सुदूरपश्चिम प्रदेशका सात खेलाडी प्रारम्भिक छनोटमा परेका छन्।

सुदूरपश्चिम प्रदेशको नौवटा जिल्लामध्ये कञ्चनपुरको महेन्द्रनगरमा मात्रै कुस्तीको नियमित प्रशिक्षण हुँदै आएको छ। कञ्चनपुरका कुस्ती प्रशिक्षक राजेन्द्र चन्दले कुस्तीको इतिहासमै पहिलोपटक सातजना खेलाडी एसियालीका लागि प्रारम्भिक चरणमा छनोट हुनु सुदूरपश्चिमका लागि गौरवको विषय भएको बताए।

उनका अनुसार एसियाली खेलकुदको पूर्वतयारीका लागि बन्द प्रशिक्षणअघि काठमाडौँमा प्रारम्भिक छनोट सकिएको छ। जसमा पुरुषतर्फ ७४ केजी तौल समूहमा यहाँका सुरेश चुनारा, महिलातर्फ शिवाङ्गी दुबे, मनिसा सिंह र अम्बिका भण्डारी ५७ किलो तौल समूहमा छनोटमा परेका छन्। त्यसैगरी, ६२ किलो तौल समूहमा निर्मला जाग्री, कोमल खत्री र बिमला सुनार छनोटमा परेको प्रशिक्षक चन्दको भनाइ छ।

सुदूरपश्चिमबाट यसअघि चार वर्षअघि सुरेश चुनाराले मात्रै एसियाली खेलकुद प्रतियोगितामा भाग लिएका थिए। आगामी भदौमा चीनमा हुने एसियाली खेलकुदमा सुरेशसँगै ६ जना यहाँका महिला खेलाडी सहभागी हुन प्रारम्भिक चरण पार गरेका छन्। प्रशिक्षक चन्दका अनुसार बिमला, मनिषा र कोमल कञ्चनपुरबाट कुस्ती खेल्छन् भने सुरेश, निर्मला र शिवाङ्गी दुबे त्रिभुवन आर्मी क्लबसित आबद्ध छन्।

त्यस्तै, अम्बिका भण्डारी सशस्त्र प्रहरी बलको एपिएफ क्लबमा आबद्ध छिन्। जेठमा हुने बृहत् राष्ट्रिय खेलकुद प्रतियोगितापछि एसियाली खेलकुदको बन्द प्रशिक्षण हुने भनिएको छ। “कुस्तीतर्फ परिणामले पनि हेर्ने हो भने सुदूरपश्चिम उर्वरभूमि नै हो”, प्रशिक्षक चन्दले भने, “तर विडम्बना न यहाँ कुस्तीको हल छ नत, खेल सामग्री नै।” अभावका बीच खेलाडीहरूको खेलप्रतिको लगन र मिहेनतले उनीहरू एसियालीसम्म पुगेको उनको भनाइ छ।

एसियाली खेलकुदको अनुभव बटुलिसकेका कुस्ती खेलाडी सुरेश चुनाराले अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रतिस्पर्धा गर्न आफू नियमित प्रशिक्षणमा रहेको बताए। “यसअघि पनि एसियाली सहभागिताले धेरै सिक्ने मौका मिलेको थियो”, चुनाराले भने, “अब राष्ट्रियपछि हुने बन्द प्रशिक्षणमा कडा मेहनत गरेर अघि बढ्छौँ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *