गोला प्रक्रिया पारदर्शी छ -कामु प्रधानन्यायाधीश कार्की

काठमाडौँ । कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले सर्वोच्च अदालतमा गोला प्रक्रियाबाट पेसी व्यवस्थापन गर्ने कार्य पारदर्शी भएको बताएका छन्।

कानून दिवसका अवसरमा सर्वोच्च बार एसोसिएनले आज आयोजना गरेको कार्यक्रममा उनले मुद्दाको पेसी व्यवस्थापन गर्ने कार्यक्रम गोला प्रक्रिया निष्पक्ष र पारदर्शी भएको बताएका हुन्। “न्यायपालिकामा धेरै समस्या छ, त्यसमा पनि जिल्ला र उच्चमा भन्दा सर्वोच्च अदालतमा बढी समस्या छ”, कामु प्रधानन्यायाधीश कार्कीले भने, “गोला प्रक्रियाबाट मुद्दाको पेसी व्यवस्थापन गर्न सुरु गरेपछि पारदर्शीता भएको छ।”

उनले न्यायपालिकाप्रति जनताको आशा भरोसा दिलाउनका लागि सबैले साथ दिनुपर्ने बताए। महान्यायाधिवक्ता खम्मबहादुर खातीले समयसापेक्ष संशोधन गर्नुपर्ने ऐन कानूनहरू संशोधन गरेर सेवाग्राहीलाई छिटो न्याय दिनुपर्नेमा सबैको ध्यान जानुपर्ने र न्यायकर्मीले बानी, व्यवहार र आचरण सुधार गर्नुपर्ने जरुरी रहेको बताए।

नेपाल बार एसोसिएनका अध्यक्ष गोपालकृष्ण घिमिरेले न्यायालयमा विकृति, विसङ्गति रहेको हुँदा त्यसको अन्त्यका लागि विधिको शासन कायम गर्न सबैले कसम खानुपर्नेमा जोड दिए। एकै खाले मुद्दाहरूलाई एकै ठाउँमा राखेर सुनुवाइ गर्नुपर्ने उनको भनाइ छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *