म्याग्दीमा निर्वाचनको तयारी अन्तिम चरणमा

काठमाडौँ । स्थानीय तह निर्वाचनको दिन अर्थात् वैशाख ३० आउन अब ४ दिन मात्र बाँकी रहँदा म्याग्दीमा निर्वाचनको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ।

मतदान केन्द्र र मतदानस्थलमा खटाइने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम दिई मतदानस्थलमा खटाउने तयारी भएको छ भने निर्वाचन सुरक्षा रणनीति पनि तयार पारेर कार्यान्वयनमा ल्याइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। उम्मेदवार र राजनीतिक दलले पनि चुनावीसभा, घरदैलो अभियान र मतदाता शिक्षालाई अन्तिम चरणमा पुर्याएका छन् भने मतदाता मतदान गर्ने दिनको पर्खाइमा छन्।

निर्वाचनलाई शान्ति र सुरक्षित रूपमा सम्पन्न गर्न जिल्लाभरका ७४ मतदानस्थल र ११४ मतदान केन्द्रलाई लक्ष गरी मतदान र मतदानअघि तथा मतगणनासम्मको अवस्थासम्मका लागि सुरक्षा रणनीति कार्यान्वयन ल्याइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। निर्वाचनमा खटिने कर्मचारीलाई तालिम दिएर सम्बन्धित कार्यक्षेत्रमा खटाउन लागिएको जिल्ला निर्वाचन कार्यालयका अधिकारी भीमप्रसाद घिमिरेले जानकारी दिए। उनका अनुसार ७४ स्थानका ११४ मतदान केन्द्रमा एक मतदान अधिकृत र एक सहायक मतदान अधिकृत, ११४ मतदान केन्द्रमा २१९ सहायक कर्मचारी एवं प्रत्येक केन्द्रमा एक-एक कार्यालय सहयोगी खटाइने तयारी भएको छ।

निर्वाचन सम्पन्न गराउनका लागि ५६१ कर्मचारी खटाइएको र प्रत्येक केन्द्रमा तीन जनाका दरले स्वयंसेवक मतदान अधिकृत तोक्ने मुख्य निर्वाचन अधिकृत तेजनारायण पौडेलले बताए। उनका अनुसार जिल्लामा ९६ हजार थान मतपत्र एवं निर्वाचनका लागि आवश्यक सम्पूर्ण सामग्री आइपुगेको छ। मतदान अधिकृतलाई नियुक्ति दिएपछि मतदानस्थलका लागि आवश्यक सम्पूर्ण सामग्री बुझाएर मतदान केन्द्रतर्फ पठाइने तयारी भएको छ।

जिल्लामा १५ स्थानका ३० मतदान केन्द्र अति संवेदनशील, ४९ स्थानका ७२ मतदान केन्द्र संमेदनशील र १० स्थानका १२ मतदान केन्द्र सामान्य गरी वर्गीकरण गरिएको प्रमुख जिल्ला अधिकारी चीरञ्जीवी रानाले जानकारी दिए। कूल ७४ स्थानका ११४ मतदान केन्द्रमा ४१ हजार ४१४ पुरुष, ४३ हजार ९६० महिला र एक अन्य गरी कूल ८५ हजार ३७५ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

म्याग्दीमा रहेको छ वटा स्थानीय तहका ४५ वडामध्ये धौलागिरि गाउँपालिका–१, गुर्जामा निर्विरोध भएसँगै अन्य ४४ वडामा वडाध्यक्ष, छ वटा स्थानीय तहका १२ प्रमुख, उपप्रमुख र प्रत्येक वडामा चार सदस्य गरी कूल २३२ पदका लागि ७१८ जना चुनावी प्रतिस्पर्धामा छन्। जिल्लाका छ वटा स्थानीय तहको प्रमुखमा २९ उपप्रमुखमा २३ उम्मेदवार छन्। अब निर्वाचन हुन बाँकी ४४ वडाध्यक्षका लागि १४८ र ८८ खुल्ला सदस्यका लागि २७३, ४४ महिला सदस्यका लागि १२४ र ४४ दलित महिला सदस्यका लागि ११६ जना चुनावी मैदानमा रहेका जनाइएको छ।

धौलागिरि तथा अन्नपूर्ण गाउँपालिका र बेनी नगरपालिकामा मात्रै सामान्य गठबन्धन भए पनि मालिका, मङ्गला र रघुगङ्गा गाउँपालिकामा भने एकल प्रतिस्पर्धा हुँदैछ। जिल्लामा ४३ हजार ९६० महिला, ४१ हजार ४१४ पुरुष र एक अन्य गरी कूल ८५ हजार ३७५ मतदाता छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *