गठबन्धनले कांग्रेसलाई फाइदैफाइदा, गठबन्धनविरुद्ध गए कारबाही : देउवा

पोखरा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धन बनेपछि कांग्रेसलाई देशैभरी फाइदा भएको भन्दै यसलाइ बचाउन आवश्यक रहेको बताए ।

पोखरामा चुनावी सभालाई सम्बोधन गर्दै उनले भने, ‘गठबन्धन बनेपछि नेपाली कांग्रेसको मुख्यमन्त्री बन्नुभएको छ । गठबन्धन भएपछि सबै पार्टीले सरकारमा सहभागी हुन पाएका छन् । कसैले अर्थमन्त्री पाएको छ, कसैले भौतिक मन्त्रालय पाएको छ । त्यसकारण कांग्रेसका लागि गबठन्धन सबैभन्दा बढी आवश्यक्ता छ । हाम्रो कस्तो अवस्था थियो हिजो ? अहिले कांग्रेसको नेतृत्वमा सरकार छ ।’

देउवाले गठबन्धनमा शंका गरेर असहयोग कसैले गरेको प्रमाणित भए कारबाही गर्ने चेतावनी दिएका छन् । ‘कांग्रेसका साथीहरूले गठबन्धनमा शंका उपशंका गर्नु हुँदैन । यदि त्यो प्रमाणित भयो भने कारबाही हुन्छ,’ भन्छन्, ‘प्रचण्ड र माधव नेपाल जीले उदार भएर हामीलाई सहयोग गर्नुभएको छ । हामीलाई सरकारमा ल्याएको छ, कांग्रेसको कर्तव्य हो गठबन्धनलाई सफल पार्ने ।’

गठबन्धन नजोगाए देश पुनः दुर्घटनातर्फ जाने उनको तर्क छ । ‘गठबन्धन किन बनेको हो ? ओलीको आतंकी शासन थियो, संसदमा विरोध गर्यो भने भंग गर्दिहाल्ने । उनी संसदीय व्यवस्था मान्ने मान्छे पनि होइनन् । संसदमा विपक्षीले विरोध गर्न पाउँछ नि । त्यो विरोध सहन नसकेर भंग गरे,’ देउवाले थपे, ‘संविधानतः भंग गर्न नमिल्ने भएर अदालतमा गएर फिर्ता ल्यायौँ । ओली र ओलीको पार्टी गणतन्त्रको खिलापमा छन् । अहिले गठबन्धन जित्न आवश्यक छ । स्थायीत्व र स्थिरताका लागि जिताउनुपर्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *