केपी ओली बयलगाढा दर्शनका प्रवर्तक, संविधानको माया छैन : नेपाल

पोखरा । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई संविधान र गणतन्त्रको माया नभएको आरोप लगाएका छन् ।

उनले ‘गणतन्त्र आउनु बयलगाढा चढेर अमेरिका पुग्नु’ जस्तै भएको भनि अ‍ोलीले तर्क गरेको भन्दै बयलगाढा सिद्धान्तको प्रवर्तक ओली भएको आरोप लगाए ।

‘जसले (ओली) दुई पटकसम्म संविधानले नदिएको ठाउँमा प्रधानमन्त्रीको पदको दुरूपयोग गरेर प्रतिनिधिसभा भंग गरेका छन् । संविधानको घाँटी थिच्ने काम गरेका छन् । उनलाई लोकतन्त्र र संविधानको माया छैन,’ नेपालले भने, ‘बयलगाढा दर्शनको प्रवर्तक भएर अमेरिका जानु र आन्दोलन गरेर ज्ञानेन्द्रको शासन ढाल्नु एउटै हो भन्ने व्यक्तिले अब कुन रूपले भोट माग्छन् ?’

गठबन्धन दलले पोखरामा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले ओलीलाई प्रतिगामी गठबन्धनको नेतृत्व गरेको आरोप लगाए । नेपालले गठबन्धन दलभित्र कसैले पनि आफूलाई ठूलो ठानेर दम्भ देखाउन नहुने बताए ।

‘गठबन्धन अहिलेका लागि सही निर्णय हो । सही कदम हो,’ उनले थपे, ‘यो अवस्थामा कसैले दम्भ पाल्नु हुँदैन । नत्र केपी ओली जस्तै विनाश हुन्छ ।’ नेपालले अधिकांश समय केपी ओलीविरुद्ध बोलेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *