कटहरीका उम्मेदवार भन्छन्- ‘चुनावमा प्रतिस्पर्धा, चुनावपछि एकता’

विराटनगर । मोरङको कटहरी गाउँपालिकाका अध्यक्षका प्रत्याशीहरूले कटहरी गाउँपालिकालाई राम्रो बनाउनको लागि सबै एक भएर लाग्ने बताएका छन् ।

संवाद समूह मोरङले आयोजना गरेको कार्यक्रममा उम्मेदवारहरूले स्वास्थ्य, शिक्षा, रोजगारी, कृषि, सामाजिक सुरक्षा , सुकुम्वासी समस्या समाधानमा एक भएर लाग्ने बताएका हुन् ।  निर्वाचनको बेलामा भएका प्रतिबद्धतालाई नाराको रूपमा नल्याई नागरिकको जीवनसँग जोडेर जाने  उम्मेदवारहरू बताउँछन् ।

रोजगारी सिर्जना
नेपाली कांग्रेसका उम्मेदवार देवराज चौधरीले  महानगरसँग जोडिएको पालिका भएरपनि हरेक क्षेत्रमा समस्या रहेको बताए ।  खानेपानी, शिक्षा, स्वास्थ्य र रोजगारीको समस्या रहेको उनको भनाई छ।  उनले भौतिक पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य, खानेपानी र रोजगारी सिर्जनामा आफ्नो प्राथमिकतामा रहेको बताए ।

वडा नम्बर १ देखि ४ सम्ममा खानेपानीको व्यवस्था नभएकोले त्यहाँको नागरिकको आवश्यकतालाई ध्यानमा राखेर खानेपानीको व्यवस्थापन मिलाउने उनको प्रतिबद्धता छ । अहिलेको आवश्यकता रोजगारी सिर्जनामा ध्यान दिनु पर्ने भएकोले आफ्नो योजना त्यसमा केन्द्रित हुने बताए । ‘कटहरीमा धेरै उद्योगहरू रहेको भएपनि भारतीय कामदारका कारण स्थानीयले काम पाउन सकेका छैनन्,’ उनले भने, ‘कटहरीका नागरिकलाई उद्योगकालागि आवश्यक पर्ने जनशक्तिलाई तालिम दिएर ५० प्रतिशत रोजगारी त्यहीँको उद्योगमा व्यवस्थापन गरिने छ ।’

विराटनगरसँग जोडिएको कटहरीका नागरिक स्वास्थ्य क्षेत्रमा ठगिएको चौधरीको भनाई छ । ‘एउटा अस्पतालमा लग्छु भनेर अर्कै अस्पतालमा पुर्‍याएर ठगिएका बन्धक बनाइएको घटनाहरू प्रशस्तै घटेको छ,’ उनले भने, ‘कटहरी गाउँपालिका भित्रै २५ बेडको सुविधा सम्पन्न अस्पताल बनाएर नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउँछु ।’

बिचौलिया अन्त्य
नेकपा एमालेका तर्फबाट अध्यक्षका उम्मेदवार सुवास सरदारले निर्वाचित भएपछि कटहरीको पहिचान दिलाउने बताए । कृषि क्षेत्रको प्रवर्द्धन गर्नको लागि अहिलेसम्म काम नभएकोले  कृषि क्षेत्रलाई प्राथमिकतामा राखिएको उनले सुनाए । ‘हरेक क्षेत्रमा बिचौलियाका कारण कटहरी गाउँपालिकामा समस्या देखिएको छ,’ उनले भने, ‘बिचौलियाको अन्त्य गरी नागरिकको लागि सहज सेवा प्रवाह गर्ने मेरो पहिलो दायित्व हुनेछ ।’

आफू दलित भएको सुनाउँदै उनले अहिलेसम्मका जनप्रतिनिधिले गरिब र दलितको क्षेत्रमा कामै नगरेकोले आफ्नो प्राथमिकता गरिब र दलित समस्या समाधानमा केन्द्रित हुने बताए । उनले जेष्ठ नागरिकको सामाजिक सुरक्षा भत्ता वितरणमा समस्या रहेकोले घरघरमा सामाजिक सुरक्षा भत्ता पुर्‍याउने आफ्नो योजना रहेको उल्लेख गरे । उद्योगी र व्यवसायीसँग समन्वय गरेर बेरोजगार युवाको लागि रोजगारीको अवसर सिर्जना गर्ने उनको प्रतिबद्धता छ ।

कृषि औजार बैङ्क सञ्चालन
जनता समाजवादी पार्टीको तर्फबाट अध्यक्षका उम्मेदवार मृत्युञ्जय झाले विगतका जनप्रतिनिधिबाट भएका राम्रो कामको निरन्तरता र नराम्रो कामलाई निरुत्साहित गर्ने बताए । सामाजिक सुरक्षा भत्ता वितरणमा समस्या रहेको कारण जेष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता वितरणमा सहज बनाउने योजना रहेको सुनाए ।

उनले कटहरीमा २ हजार बढी घर सुकुम्वासीको रहेकोले उनीहरूलाई व्यवस्थित बसोबासको माध्यमबाट समाधान गरिने प्रतिबद्धता जनाए  ।  ‘आर्थिक अवस्था कमजोर भएका, विपन्नलाई स्वास्थ्य बिमा कार्यक्रममा समेटेर जाने योजना छ,’ उनले भने, ‘उद्यामशीलताको विकास गरी रोजगारीको अवसर सिर्जना गरिनेछ ।’

कटहरीमा व्यवसायी कृषिमा लागेका किसानहरूको सङ्ख्या उल्लेख्य रहेको कारण उनीहरूलाई लक्षित गरी मल, बिउ तथा कृषिको लागि ऋण र अनुदान दिइने, कृषि औजार बैङ्क सञ्चालन गर्ने योजनाले कृषि क्षेत्रमा क्रान्ति गर्न सकिने झा भनाई छ ।

नेपाली कांग्रेसबाट उपाध्यक्षकी उम्मेदवार मञ्जीताकुमारी सरदारले सबैको समन्वयमा काम गर्ने बताइन् । ‘यस अघि पनि मैले सबैको सरसल्लाहमा काम गर्दै आएको थिएँ, उनले भनिन्, निर्वाचित भएर गएपछि यस अघि गर्न बाँकी रहेका कामहरूलाई पुरा गर्ने योजना छ।’ सबै दलको साझा सहमतिमा ल्याइएका योजना र कार्यक्रमहरू सफल हुने गरेको उनको अनुभव छ ।

साझा प्रतिबद्धता
संवाद पछि दलका अध्यक्षका  उम्मेदवारहरूले कटहरीलाई व्यवस्थित सहरको रूपमा विकास गर्ने जनाएका छन्  । त्यसकालागि विभिन्न विषयमा उम्मेदवारहरूले प्रतिबद्धता जनाएका छन् ।

कटहरी गाउँपालिकालाई राम्रा बनाउन सबै एक भएर अघि बढ्ने, यस अघिका राम्रा कामलाई आत्मसात् गर्ने , नराम्रा खालका कामलाई निरुत्साहित गर्ने र नयाँ योजना अघि सार्न सबै एक भएर अघि बढ्ने उनीहरूले बताएका छन् । जुनसुकै दलका उम्मेदवार निर्वाचित भएर गएपनि सबैको सहभागिता र समन्वयमा काम गर्ने, नागरिकसँग जोडिएका प्रतिबद्धता कार्यान्वयन गर्ने र एक अर्काको एजेण्डामा सहमत हुने उनीहरूको प्रतिबद्धता छ ।

महिला, बालबालिका, अपाङ्गता भएका, जेष्ठ नागरिक, अल्पसङ्ख्यक तथा सीमान्तकृत समुदायको विषयमालाई प्राथमिकतामा राख्ने उनीहरूको भनाई छ।  निर्वाचित भएर गएपछि प्रतिस्पर्धी दल र उम्मेदवारहरूसँग बसेर छलफलगरि साझा कार्यक्रम बनाउने  उनीहरूको प्रतिबद्धता छ । निर्वाचन आचारसंहितालाई कार्यान्वयन गरिएको र निर्वाचन अवधिभर  कार्यान्वयनमा प्रतिबद्ध रहने उनीहरूको भनाई छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *