साढे ४ सय मतदाता भएकाे पालिकाकाे निर्वाचन सम्पन्न गर्न डेढ सय कर्मचारी खटाइयो

पोखरा । हिमाली जिल्ला यसै पनि उम्मेदवार धेरै नहुने ठाउँ । राजनीतिमा स्थानीयको चासो खासै हुँदैन ।

स्थानीय तहको निर्वाचन नजिक छ । उम्मेदवारले उम्मेदवारी दर्ता गरेर जनतासँग मत मागिरहेका छन् । गण्डकी प्रदेशमा एउटा यस्तो पालिका छ, जहाँ पहिलो पटक मतदान हुँदैछ । २०७४ को स्थानीय चुनावमा वडा अध्यक्षदेखि सदस्यसम्म सर्वसम्मत जनप्रतिनिधि छानिएको मनाङको नार्पाभूमि गाउँपालिकामा यसपालि उम्मेदवार धेरै भएपछि मतदान हुने भएको हो ।

एउटा पालिकामा सामान्यतः कति मतदाता होलान् रु थोरैमा पनि ८–१० हजार त हुनैप¥यो नि । तर यहाँ साढे ४ सय पनि मतदाता छैनन् । पालिकाभरि ४ सय ४८ जना मतदाता छन् । तीमध्ये अधिकांश जिल्ला बाहिर भएकोले मतदाता जति सबैले मत हाल्ने अवस्था छैन ।

सबैभन्दा धेरै वडा नम्बर ३ मा १ सय १५ जना मतदाता छन् । अहिले गाउँमा ६८ जना मात्रै रहेको र अरू अमेरिका देखि विभिन्न देशमा रहेका उम्मेद्वारहरु बताउँछन् । वडा नम्बर १ मा ९२ जना मतदाता छन् भने वडा नम्बर २ मा ९८ जना छन् । वडा नम्बर ५ मा सबैभन्दा कम ७० जना मात्रै मतदाता छन् भने ४ मा ७३ जनाले मतदान गर्दैछन् ।

नार्पाभूमिका अधिकांश जनप्रतिनिधि सर्वसम्मत निर्वाचित भैसकेका छन् । जम्मा ३ वटा पदमा मात्रै निर्वाचन हुँदैछ । गाउँपालिका अध्यक्ष र दुई वटा वडाध्यक्षका लागि मात्रै ३० गते मतदान हुने निर्वाचन अधिकृत दिनेश रेग्मीले जानकारी दिए । गाउँपालिका अध्यक्षमा एक जना कांग्रेसका उम्मेदवार छन् भने अर्का एक जना कांग्रेसकै नेता भएपनि स्वतन्त्र उम्मेदवारी दिएका छन् । ‘अरू पदमा सर्वसम्मत भइसक्यो । तीनवटा पदमात्रै बाँकी छ,’ उनले भने, ‘मतदाता पनि धेरै हुनुहुन्न । उम्मेदवार पनि धेरै हुनुहुन्न ।’ अध्यक्षमा दुईजना उम्मेदवार छन् भने वडाध्यक्षमा पनि दुई/दुई जनाबिच प्रतिस्पर्धा छ ।

पालिकाको निर्वाचन गराउन ९ जना निर्वाचन कार्यालयका कर्मचारी छन् भने प्रत्येक बुथमा ७ जनाका दरले कर्मचारी खटाइएको छ । वडागत रूपमा एक/एक वटा मात्रै बुथ छ । यसबाहेक नेपाल आर्मीका २० जना, सशस्त्र प्रहरीका ३० जना, नेपाल पुलिसका १५ जना र म्यादी प्रहरी २५ जना पालिकामा खटाइएको छ । अनुसन्धानका दुई जना कर्मचारी पनि पालिका पुगेका छन् । सबै गरेर डेढ सय हाराहारी कर्मचारी खटाइने रेग्मीले बताए । नार्पाभूमिमा राजनीतिक प्रतिस्पर्धा भन्दा गाउँको प्रतिस्पर्धा बढी हुन्छ ।

दुईवटा मात्रै गाउँ रहेको यहाँ नार गाउँ फू भन्दा ठूलो छ । अघिल्लो पटक नारबाट अध्यक्ष र फूबाट उपाध्यक्ष निर्विरोध निर्वाचित भएका थिए । अहिले कांग्रेसबाट उम्मेदवार भएका कोन्जो तेन्जिङ लामा फू गाउँका हुन् । उनी उपाध्यक्षबाट राजीनामा दिएर अध्यक्षमा उठेका हुन् । सोही पदमा नार गाउँका कृष्णबहादुर लामा उम्मेदवार बनेका छन् ।

उपाध्यक्षमा भने एमालेबाट फुन्चो तेन्जिङ लामा निर्विरोध निर्वाचित भैसकेका छन् । उनी साबिक नार गाउँ र हाल मेताका बासिन्दा हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *