मुन्धुम, मान्यता र उपयाेगिता !

काठमाडाैँ । किराँत मुन्धुम किराँती समुदायको सबैभन्दा ठूलो धार्मिक ग्रन्थ हो । मुन्धुम एउटा धर्म, संस्कार-संस्कृति, पद्धति, दर्शन, विश्वास, अनि नियम तथा मूल्यमान्यता हाे । यसर्थमा किराँतीहरूको जन्मदेखि मृत्युसम्म हुने सम्पूर्ण क्रियाकलापहरूलाई नियमपूर्वक तथा अनुशासनपूर्वक सञ्चालन र संरक्षण गर्ने एउटा पद्धति नै मुन्धुम हो । मुन्धुमले सम्पूर्ण किराँतीहरूलाई ओगटेको/समेटेकाे हुन्छ । मुन्धुम एउटा नियम हो । जसले किराँत समुदायहरूलाई जीवनयापनको क्रममा अनुशासनपूर्वक आफ्नो तीन चुल्हा र कुलपितृलाई पूजा गर्दै खुसी पार्दै बाँच्न प्रेरित गर्दछ । किराँत मुन्धुम किराँतीहरूको एउटा पहिचान हो । जसका कारण आजसम्म पनि किराँतीहरूको अस्तित्व कायम रहेको छ ।

वास्तवमा किराँत मुन्धुम के हो भन्ने सन्दर्भमा धेरै गहन कुराहरू छन् । जसमा यस संसारको सृष्टि कसरी भयो ? मानवको सृष्टि कसरी भयो ? पाप तथा धर्म के हो ? अथवा यीबीचमा के फरक छ ? रिस, डाहा तथा माया-प्रेम के हो ? जन्म, मृत्यु तथा विवाहको संस्कार कस्तो हुनुपर्दछ ? किराँतीहरूकाे तीन चुल्हाको अर्थ के हाे ? यसकाे काम के हो ? यी यावत; किराँत मुन्धुमभित्र यस्तै यस्तै असीमित विज्ञानहरू छन्, तिनै सम्पूर्ण कुराहरूलाई मैले यो लेखमार्फत सङ्क्षिप्त रूपमा समेट्न खाेजेकी छु ।

०००

शुरूमा यो संसार एउटा समुन्द्रको रूपमा थियो । यहाँ कुनै जमिन थिएन, त्यस समयमा सृष्टिकर्ता मिनीले मानव सृष्टिको कल्पना गरे । मानव बाँच्नका लागि जमिनको आवश्यकता पर्ने कुरा उनकाे महसुस थियाे । त्यसपछि उनले तीनपात पिपल उत्पादन गरे, एउटा पातले पानी भएको धर्तीलाई छाेपिदिए, अर्काे पातलाई माेच्यू (श्रीमती) बनाएर आकाश माने, अर्काे पातलाई धर्तीमाथि घोप्टाइदिए । त्यही घोप्टो पातमाथि कुमालकोटी (धमिरा) ले माटो थुपार्न थाल्यो र जमिनको निमार्ण भयो । त्यसपछि यो धर्तीमा पानी र जमिन दुवै भयो । र, त्यहाँ जीव-जीवाणु र मानव जातिको बसोबास गर्नयोग्य भयो । तत्‌पश्चात मिनीले नेवाहाङ-निनाम्मा र हितुहाङ-निनाम्मा (मानिसहरू) को उत्पति गराए । उनीहरूको कोखबाट सुम्निमा-पारुहाङको जन्म भयो । सृष्टि हुनका लागि महिला र पुरुषबीचमा सहवास हुन जरुरी थियो । यसर्थ सुम्निमाले पारुहाङसँग सहवास गर्ने सोच बनाए । तर, यो कुरा पारुहाङलाई मन परेन । आफ्नो चेलीसँग विवाह गर्नु पाप हो भन्ने सम्झेर उनी साल्पा पोखरीमा लुक्न गए । यता सुम्निमाले पारुहाङलाई नदेखेपछि पत्ता लगाउने उपाय रच्न थालिन् । त्यसपछि उनले टाङतुभ्नीको उत्पति गराइन् र पारुहाङलाई खाेज्न पठाइन् । टाङतुक्नीले पारुहाङ साल्पा पोखरीमा रहेको कुरा पत्ता लगाए र जोखाना हेर्दै, वैदाङ गर्दै पोखरी वरिपरि घुमे । तर, पारुहाङलाई निकाल्न सकेनन् । यो खबर उनले सुम्निमालाई पुर्‍याए ।

त्यसपछि सुम्निमाले क्रमशः झेतुवा, तुइरा, माउवा, चेन्चेवा र ग्य्रावा (गङ्गटो) लाई पारुहाङ ल्याउन भनि पठाए तर, कसैले उनलाई ल्याउन सफल भएनन् । त्यसपछि ग्य्रावाले पोखरीभित्र पसी पारुहाङलाई कुत्कुती (काउकुती) लगाएर ब्यूँझाए र सुम्निमाले विवाह गर्न चाहेको कुरा बताए । पारुहाङले जान मानेनन् तर, उनले कर्कलोको पातमा आफ्नो वीर्य भने पठाए । त्याे वीर्य ग्य्रावाले सुम्निमाकहाँ पुर्‍याए र त्याे खान भनि पारुहाङले भनेकाे कुरा सम्झाए । पारुहाङले भनेजसरी नै सुम्निमाले वीर्यपान गरिन् र गर्भवती भइन् । यसपछि उनकाे काेखबाट तीनजना छोराहरू; हाङ्छा, चाप्चा र तमुनकाे जन्म भयाे । त्यसपछि पनि हाङ्छाको कोखबाट धेरै सन्तानहरू भए, एकदिन हाङ्छाको सन्तानहरू जंगलमा शिकार खेल्न गए । तर, एउटा पनि शिकार गर्न सफल नभएपछि दिक्दार मानेर घर फर्के र एउटा बाख्रा काटे, बाख्राको आन्द्रा पखाल्न पुमालाई धारामा पठाए । आन्द्रा पखाली घर आउँदा एउटा पनि मासुको चोक्टाे बाँकी रहेन, किनकी पुमाको भाग राख्न उनीहरूले बिर्सेछन् र उनीहरूले पुमालाई त्यो आन्द्रानै आफ्नो भाग सम्झी खानु भन्दै सम्झाएछन् । तर पुमा रिसले चुर हुँदै आन्द्रा सबै फालिदियाे । र,आजदेखि बाख्राको मासु खान्न भन्यो उसले । त्यसयताका देखिनै किराँतीहरू बाख्राकाे मासु खानुहुन्न भन्ने मान्यता राख्छन् । अहिलेसम्म पनि यही भनाइ, मान्यता र प्रचलन रहेकाे छ । मुन्धुमअनुसारनै ध्यावा, खोलोमे र मोस्थुमे (धामी, सहयाेगी र विशेष पूर्खा) हरू बाख्राकाे छटछठ हुनुहुन्न यदि त्यसाे भएमा उनीहरू बिरामी पर्छन् । अहिले पनि याे जीवित संस्कार हाे ।

किराँत धर्मले मुन्धुम एक विधाको रूपमा लिन्छ । मुन्धुमको दृष्टिकोणमा धर्म भनेको कसैको सेवा गर्नु, झुटो नबोल्नु, हत्या नगर्नु, पाप नगर्नु, कसैकाे हत्या-हिंसा नगर्नु, घृणा नगर्नु हाे । किराँत मुन्धुमअनुसार झुटो बोल्नु एकदमै ठूलो पाप हो, सत्य बोल्नु, असल बनी बनाउनु र राम्रो काम गर्नु मुन्धुमको मुख्यमन्त्र हो । कसैले झैँझगडा गर्ने, चोर्ने, कुटपिट गर्ने गरेमा त्यसलाई ठूलो पाप लाग्ने बताइन्छ । र, त्यो मान्छेलाई समाजबाट बहिस्कार गरिन्छ । गाउँतिर यसलाई एक्का गर्ने भनेर भनिन्छ । अर्थात् उसलाई समाजका हरेक किसिकमा एकता र सामाजिक सेवाबाट वञ्जित गराइन्छ । यसपछि यदि त्यो व्यक्तिलाई समाजमै बस्न मन भए उसको घरको तीन चुल्हामा भाले काटी पितृसँग माफ माग्नुपर्छ, याे मुन्धुमी मान्यता हाे । अन्यथा सामाजिक कार्यबाट तथा कसैको घरभित्र पस्नबाट बन्देज गरिएको हुन्छ ।

किराँत मुन्धुमअनुसार रिस, डाहा तथा माया, प्रेमलाई प्राकृतिक तथा अप्राकृतिकगरी २ तरिकाबाट हेर्ने गरिन्छ । कसैप्रति आफ्नो शिर झुकाउन हुन्न भन्ने भनाइ हुन्छ । यो ब्रह्माण्ड, माया-प्रेम र विश्वासमा अडिएको हुन्छ भन्ने भनाइ हुन्छ, यदि सबैतिर रिस-डाहा मात्र हुने हो भने यो ब्रम्हाण्डकाे चाँडै अन्त्य हुन्छ भन्ने मान्यता मुन्धुममा रहेकाे छ । रिस भनेको मानिसकाे एकदमै ठूलाे शत्रु हाे भन्ने मूलभाव मुन्धुममा रहेकाे छ । किराँत मुन्धुमअनुसार कसैको डाहा लागेमा पशुपंक्षीहरू, मानिस स्वयं बिरामी हुने गर्दछन्, जसलाई आँखा लागेको भनिन्छ । र, धामीलाई जोखाना देखाइ त्यसको अन्साइपन्साइ गर्ने गरिन्छ । रिस-डाहालाई कुनै दैविक शक्तिजस्तै मानेर धेरै तडकभडक गर्नहुन्न भन्ने भनाइ रहेको छ । मरेको मान्छेले माया गरेको वा सपनामा देखेको कुरा नराम्रो भन्ने चलन गरेको छ । कसैले रिसको आवेगमा आएर कुनै पनि सामानहरू फुटाएमा साम्सी हुन्छ (पितृ रिसाउने) र त्यसले परिवारको सदस्यमा नोक्सान पुर्‍याउने मान्यता मुन्धुममा पाइन्छ ।

०००

किराँत मुन्धुमअनुसार जन्म एउटा पवित्र कुरा हो, प्राय:जसो थुलुङ राईहरूको समुदायमा बच्चा जन्मेको तीन दिनमा न्वारन गरिन्छ । सबै राईहरूमा आ-आफ्नै चलन पनि रहेकाे हुन्छ । याेचाहिँ राईहरूमा पनि थुलुङकाे कुरा हाे । सुत्केरी हुने समयमा चुल्हा वरिपरि लटछट गर्न मिल्दैन, तीन चुल्हामा जुठो पर्‍यो भने घरको जेठो-पाको वा सुत्केरी आफैँलाई हानी पुर्‍याउने, बिरामी हुने मान्यता रहेकाे छ र याे हुन्छ पनि । बच्चाको न्वारनको दिनमा बच्चालाई सुताउनको लागि बाँसद्वारा निर्माण गरिएको कोक्रो तयार पारिएकाे हुन्छ । छोरा जन्मेको भए बाबुको कुनै कपडाको वा छोरी जन्मेको भए आमाको कुनै कपडाको माक्ते (जिउ ढाक्न बनाइएकाे एकखालकाे कमिज) सियोद्वारा सिलाइन्छ । र, छोराको न्वारनमा कुखुराको भाले र छोरीको न्वारनमा पोथी काटेर चुल्हामा चढाइ प्रसादको रूपमा सबै निम्तालुहरू मिलेर ग्रहण गरिन्छ ।

न्वारनको दिनमा वरपरको सबै दाजुभाइहरू जम्मापारी प्रसाद खाने, बच्चाको नाम जराउने चलन छ । किराँत मुन्धुमअनुसार मृत्युको समयमा पनि आफ्नै विधि-विधानबाट संस्कार गरिन्छ । यदि कसैकाे घरकाे परिवार बितेकाे खण्डमा अन्य कुनै छिमेकीहरूले ठूलाे स्वरमा ‘फलाना बित्नुभयाे’ भनेर उर्दी जगाउने चलन छ । त्याे वाक्यचाहिँ अतिचतुर व्यक्तिहरूले सुन्ने गर्दछन् । त्यसपछि ध्यावाको (पितृकाे धामी) आदेशअनुसार एकपटक मृतकलाई फलाकिन्छ, भनिन्छ— आफ्नो बाटो लागेस्, परिवार तथा छिमेकीहरूलाई भूतकाे रूपमा दु:ख नदिनू ।

त्यसपछि मृतकको शरीरमा भएको कपडाहरू हटाइन्छ र सफा कपडा लगाइदिइन्छ, जुन परिवारको इच्छाअनुसार हुन्छ । मृतकको शरीरमा रहेको सबै गरगहना निकालिन्छ र मान्यता तथा चलनअनुसार मृतकलाई चिहानमा हालिन्छ । त्यसबेला चिहानमा उनीको कपडा, प्लाष्टिकजन्य वस्तुहरू, फलामजस्ता नकुहिने सामाग्रीहरू पार्नहुन्न भनेर भनिन्छ । यदि पर्‍यो भने मृतक जाग्न सक्दछ भन्ने मान्यता रहेकाे छ । त्यसभन्दा अगाडि कपडा फेरिसकेपछि मृतककाे शरीरलाई गुर्मा (मान्दो) मा घरभित्रको तल्लोपट्टि तेर्साे पारेर सुताइन्छ र नजिकै घुम राखी सेतो कपडाले छोपिन्छ, जसलाई कात्राे भनिन्छ । अब ध्यावा, खोलोमे र माेस्युम बूढा (धामी, धामीका सहयाेग र विशेष पूर्खा) द्वारा मृतकलाई स्वर्गमा जान भन्दै आफ्नै भाषा र मुन्धुमी लयमा फलाकिन्छ, त्यसपछि छोराको हातबाट पानी खुवाइन्छ । यतिबेलासम्ममा सात भालाम (सात स्टेप सक्ने) भन्ने चलन सकाइन्छ । सबैजनाले स्योम्दी (फलाक्ने काम) को माध्यमबाट मृतकलाई आफ्नो बाटोमा राम्ररी जान, खुसी हुन, केही गुनासो नगर्न आग्रह गरिन्छ । किराँत मुन्धुमअनुसार मृतक शरीरलाई हरियो बाँसको माध्यमबाट सेतो कपडामा पोको पारी चिहानसम्म लगिन्छ ।

चिहानसम्म जाँदा बाटोमा मलामीहरूले ‘हट्हट्’ भन्ने शब्दको उच्चारण गर्दछन् । यसअघि नै चिहान खन्न अरु मलामीहरू खटिएका हुन्छन् । मृतककाे शरीरलाई चिहानमा टाउको तल पारेर सुताइन्छ र सम्पूर्ण मलामीहरूले स्वर्गमा पानी खान भनी पैसा दिन्छन् र देव्रे हातले मट्टी (माटाे) दिइन्छ र त्यसैमाथि थप माटोले पुर्दै मृतककाे शरीर पुर्छन् । त्यसपछि वरिपरि बाँसले सिमाना बनाइ चित्राकाे छानो बनाउने चलन छ । त्यसैदिनको सल्लाहअनुसार चोखिने दिन (किरिया गर्ने दिन) को निर्धारण पनि गरिन्छ । सोही दिनमा मलामी, आफन्त तथा गाउँलेहरूलाई निम्ताे दिइन्छ ।

चोखिने दिनमा मृतकको नाममा सबैजनाले एकमाना चामल र एक कठुवा (काठबाट बनेकाे एक विशेष हार्पे) रक्सी ल्याउँदछन् । त्यही चामलको भात पकाइ मृतककाे भाग छुटाइन्छ र स्योम्दी गर्दै ध्यावा, मोस्युम बुढा, खोलोमेहरूले त्याे भाग दिन्छन् । त्यस दिनेदेखि मृतकको प्राय: काम समाप्त हुन्छ र लाम सीन्पा (बाटो देखनउने) काम बाँकी रहन्छ । यसका लागि धामीलाई चिन्ता गर्न लगाइन्छ । याे चिन्तामा मृतकको केही सामानहरू घरमा छुटेको भए मृतकले माग्छन् भनिन्छ । त्यसबेला उनले पहिले मुन्धुमअनुसार सिकाइएकाे बाटाेमा हिँड्न कति गाह्राे वा सजिलाे छ भनेर धामीसँग बताउँछन् भनेर भनिन्छ । त्याे कुरा धामीले मृतकका परिवारसामु बताउँछन् । त्यसपछि मृतककाे सम्पूर्ण काज-क्रिया समाप्त हुन्छ ।

किराँती मुन्धुमले विवाहबारे पनि निश्चित सीमा राखिदिएकाे छ । तर, पछिल्लाे समय विवाह आ- आफ्नै पाराले गर्ने चलन बढेकाे छ । याे पङ्तिकारकाे समाजमा भने विवाह यसरी गरिन्छ; समाजमा एक कठुवा रक्सीसँग असीमित शक्ति रहेकाे मान्यता छ । केटी (बेहुली) माग्न जाँदा केटा पक्षबाट लगेको सोधनी एक कठुवा रक्सी केटी पक्षमा स्वीकार्य भयो भने विवाहको पक्का भएको मानिन्छ । कतिपय परिस्थितिमा केटीलाई नसोधी त्यो रक्सी खाने चलन रहेको ज्वलन्त उदाहरणहरू रहेको छ । तर त्यसाे गर्न नहुने मुन्धुमी परम्परा छ । विवाहको काम एकपटकमा सकिँदैन, शुरूमा सोधनी त्यसपछि साइत लिएर जाने र साइत भा’को दिन केटी लिएर केटाको घरमा आउने चलन छ । र, केटी उठाउनीको दिनमा विवाहको मिति तोकिएमा तोकेको मितिमा विवाह हुने गर्दछ । किराँत मुन्धुमअनुसार छोरीको विहेमा दाइजो दिने चलन छैन । मुन्धुमले दाइजाेलाई अपराधकाे रूपमा अर्थ्याएकाे छ । विवाहको समयमा केटा पक्षबाट बेहुला-बेहुलीसहित जन्ती केटीकाे घरमा गइन्छ र एकरात केटीकाे घरमा बसेर भाेलिपल्ट जन्ती फर्किन्छन् ।

विवाहको समयमा हाम्रो चलनअनुसार सबैलाई ढोगवेद गर्ने विशेषगरी दुलहा र दुलहीले साइनोअनुसारको सबै जनालाई ढोग्ने गर्नुपर्दछ । अब एउटा काम बाँकी रहन्छ, जुन काम दशैँको टीकाकाे सुँगुरकाे फिला बोकेर माइत-ससुरालीमा जानुपर्दछ र दाजुभाइ सबैजनालाई बोलाई सुँगुरको फिला प्रसादको रूपमा खुवाउनुपर्दछ । अब विवाहको सम्पूर्ण काम समाप्त हुन्छ ।

०००

किराँतीहरू विशेषत: प्रकृतिप्रेमी प्रकृतिपूजक हुन् । वायु, जल, पृथ्वीको पूजा गर्ने, भूमिकाे पूजा गर्ने, विभिन्न देवीदेवताहरूकाे पूजा गर्ने गर्दछन् । त्यसैले पनि किराँतीहरूलाई भूमिपुत्र पनि भन्ने गरिन्छ । जस्तै: कुनै महामारी फैलिएमा त्यसको नाममा कुखुराको चल्ला गरेर पाल्ने गरिन्छ । पँधेरामा नागको पूजा गरिन्छ । किराँत मुन्धुमअनुसार सबैको घरभित्र तीन ढुङ्गाबाट निर्माण गरिएको चुल्हा हुन्छ । ती ढुङ्गामध्ये एउटा ढुङ्गाले मोस्युम (घरभित्रकाे चुल्हाभन्दा पूर्वतिरकाे विशेष ठाउँ) हेर्ने एउटा ढुङ्गाले पाहुना हेर्ने र एउटा ढुङ्गाले भान्सेलाई हेर्ने विश्वास गरिन्छ । तीन चुल्हामा अन्य जात र धर्म मान्ने मानिसहरूले छुन मिल्दैन भन्ने गरिन्छ । चुल्हा भएकाे घरमा अन्य जात वा धर्मका मानिसहरू केही परै बस्नुपर्ने मान्यता विकसित भएर आएकाे छ । प्रत्येक वर्ष नागी (पितृ सम्झिने र पूज्ने) गरिन्छ । नागीको जाँड पकाएदेखि पितृ  सकिन्जेलसम्म अन्य जातका मानिसहरू घरभित्र पस्न मिल्दैन भन्ने मान्यता रहेकाे छ । चुल्हामाथि बाँसको चाेयाबाट निर्मित छकर (भार) राखिएको हुन्छ । बाख्राको मासु खाएको सात दिनसम्म चुल्हामा छुन मिल्दैन, मोस्युम लिप (जाँडको घैटो) छुन मिल्दैन र घरमूली खोलोमेलाई छुन मिल्दैन ।

मुन्धुमी मान्यताअनुसार शिक्षा भनेको एक निरन्तर चलिरहने प्रक्रिया हो, जुन अनुकरणात्मक रहेको हुन्छ । इतिहासमै सबैभन्दा लामो २५०० वर्ष राज्य गरेका किराँतहरू वास्तवमा अशिक्षित भने छैनन् तर समयको फेरबदलले गर्दा अहिले किराँतीहरू हरेक कुरामा ओझेल परिरहेको कुरा अस्वीकार्य हैन । तर पनि शिक्षालाई एक निरन्तर प्रक्रियाको रूपमा लिनुपर्ने मुन्धुमकाे शिक्षा छ । शिक्षा भनेको एउटा किताबी ज्ञान मात्र नभएर लगनशीलता, इमानदारिता, परिश्रमी बन्ने प्रकिया हो । किराँत मुन्धुमअनुसार शिक्षा भनेको एउटा घोडाको लगामजस्तै हो, जसरी घोडालाई लगाम लगाइन्छ । मानिसहरूले पनि अनुशासनलाई त्यसैगरी सर्वाेपरी गरिनुपर्ने शिक्षा मुन्धुमकाे छ । किराँत समुदायमा शिक्षा ध्यावा, मुलिमी, मोस्युम बुढाहरूबाट खोलोमेहरूले लिइरहेका हुन्छन् । विभिन्न संस्कारहरू कसरी गर्ने कुन संस्कारमा कुन स्योम्दी गर्ने, कुन संस्कारमा कुन सामानहरू चलाउने, जन्मको प्रक्रिया, मृत्युको प्रक्रिया, विवाहको प्रक्रिया, नागी (ठूलाे पितृ), हुट्पा (सानो पित्र), तोसी, इत्यादिमा कस्ता प्रकृया अपनाउने; यी पनि मुन्धुमले नै निर्धारण गरेकाे हुन्छ । यी यावतत् पकृयाबारे ठूलाबाट सानाहरूले सिकिरहेका हुन्छन् ।

विभिन्न स्योम्दीहरूलाई कुन छन्दमा भन्ने इत्यादि; अग्रजहरूबाट युवाहरूले सिकिरहेका हुन्छन् । विभिन्न कार्यहरूमा अग्रजहरूले गरेका कार्यकलापहरूलाई केटाकेटी देखिनै सबैले अवलोकन गरिरहेका हुन्छन् । विस्तारै आफ्नो व्यवहारमा पनि प्रयोग गर्दै आइरहेका हुन्छन् । बच्चानै विस्तारै खोलोमे बन्ने र इच्छा आवश्यकता परेको खण्डमा ध्यावा बन्न पनि सक्दछन् । शिक्षा एउटा निरन्तर प्रक्रिया हो जुन जन्मदेखि मृत्युपर्यन्त चलिरहेको हुन्छ । किराँत मुन्धुमभित्र पनि कतिपय कुराहरू कु-संस्कारको रूपमा रहेका छन् । जस्तै मृतक शरीरलाई छोराले पानी खुवाउन मिल्ने तर छोरीले नमिल्ने भन्ने कुराहरू छन् । छोरीले बाबाआमाको किरीया गर्न नमिल्ने कुराहरू छन् । किराँतहरूको सबै कामकार्यमा जाँडरक्सीको अत्याधिक प्रयोग हुने इत्यादि कुराहरूलाई परिमार्जित गर्न आवश्यक रहेको छ । किनकी छोरा र छोरीबीचमा भेदभाव गर्न भनेका त मानव जीवनलाई ढुङ्गे युगतिर धकेल्नु होइन र ? अनि अत्याधिक जाँडरक्सीका प्रयोगले जीवनलाई कतातिर धकेल्दछ ? आजकाे टड्काराे प्रश्न हाे ।

वास्तवमा म एउटी किराँतीको चेली भएको नाताले म किराँत मुन्धुमलाई अतिनै सम्मान गर्दछु । किराँत मुन्धुमलाई संरक्षण गर्नु सम्पूर्ण किराँतीहरूको कर्तव्य हो । यदि मुन्धुम भएन भने यस धर्तीमा एकदिन किराँतीहरूको अस्तित्व विलिन भएर जानेछ । किराँत मुन्धुमको संरक्षण एकजनाले मात्र नभएर सम्पूर्ण किराँती दाजुभाइहरूले  सतर्क भई अगाडि बढ्न जरुरी रहेको कुरा हामी हर-काेहीले महसुस गर्नुपर्छ । किनकी किराँतहरूको इतिहासलाई हराइएको कुरा हामीले बिर्सन हुन्न । मेरो विचारमा मुन्धुमको बारेमा सम्पूर्ण किराँतीहरू एकजुट भइ शिलालेखहरूको निर्माण गर्नुपर्दछ । यसले हाम्रो भावी पुस्ताहरूमा किराँत मुन्धुमप्रतिको सम्मान कायम रहन्छ । किराँत मुन्धुमलाई बचाउनका लागि सम्पूर्ण किराँतीहरूले मुन्धुमको बारेमा जानौ र मुन्धुमको संरक्षण गरौँ । जय किराँत ।

नविना राई
नेचा, सोलुखुम्बु
हाल सानोठिमी क्याम्पस, प्रथम सेमेस्टार अध्ययनरत ।

प्रतिक्रिया

11 thoughts on “मुन्धुम, मान्यता र उपयाेगिता !

  1. We all neplease people are blessed with such an amazing cultures, religions,, traditions full of beauty and diversity. It’s our responsibility to keep them all ever green. Proud of y’all for such a great work.

  2. किराँती समुदायको मुन्धुमलाइ चेतना र जानकारी मुलक तरिकाले लेखेर पस्कनु भएको छ। लेखकलाइ मुरीमुरी धन्यवाद!

Leave a Reply

Your email address will not be published. Required fields are marked *