आचारसंहिता विपरीत मुख्यमन्त्री र मन्त्री पार्टीको प्रचारमा

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठ निर्वाचन आचारसंहिता विपरीत सरकारी गाडी चढेर पार्टीको प्रचार कार्यक्रममा सहभागी भएका छन् । शुक्रबार कांग्रेस गण्डकीले आयोजना गरेको ५ वर्षीय संकल्पपत्र सार्वजनिक कार्यक्रममा मुख्यमन्त्री पोखरेल र मन्त्री श्रेष्ठ सहभागी भएका हुन् । उनीहरूले सधैँ चढ्ने गाडी प्रयोग गरेका थिए ।

यद्यपि यसबारे प्रश्न उठेपछि पोखरेलले आफू केन्द्रीय सदस्यको हैसियतमा उपस्थित भएको बताए । केन्द्रीय सदस्यको हैसियतमा जाँदा सरकारी सुविधा प्रयोग गर्न नपाइने नियम छ । ‘हामी आफै पार्टीको नेता भयौँ । आफ्नो पार्टीको इन्डोर कार्यक्रममा सहभागी हुँदा आचारसंहिता मिचिएको हुँदैन,’ उनले पत्रकारलाई जवाफ फर्काए, ‘सरकारी गाडी चढेर आमसभामा गएँ भने र चुनाव प्रचारमा हिँडे भने बल्ल आचारसंहिता लाग्ने हो ।’

आयोगले २५ चैतदेखि आचारसंहिता लगाइसकेको छ । पोखरेल केन्द्रीय सदस्य हुन् भने श्रेष्ठ प्रदेश उपसभापति हुन् । श्रेष्ठले पनि निर्वाचन आयोगले नै सहज बनाइदिएका कारण आचारसंहिता भित्रै रहेर आफू सहभागी भएको दाबी गरे । ‘पार्टीको पदाधिकारी नगई कसरी चुनाव हुन्छ ? तर हामीले आयोगको निर्देशन मान्नुपर्छ, मानिरहेका छौँ,’ उनले भने, ‘यो कार्यक्रम चुनाव भन्दा बढी पार्टीको कार्यक्रम नै हो । त्यसैले सहभागी भएको हुँ ।’ उनीहरू दुवै जना सरकारी नम्बर प्लेटको गाडी चढेर गएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *