बुढीगंगामा एमालेको ३३ बुँदे प्रतिबद्धता, रोजगारी निर्माणलाई प्राथमिकता

विराटनगर । नेकपा एमाले बुढीगंगाले आगामी वैशाख ३० गतेको स्थानीय निर्वाचनलाई लक्षित गरी ३३ बुँदे प्रतिबद्धता सार्वजनिक गरेको छ । ‘सबैको साथ बुढीगंगाको विकास’ भन्ने नाराका साथ गाउँपालिकाले विद्यालय स्तरीय शिक्षा, प्राविधिक शिक्षा, स्वास्थ्य, सडक, रोजगार, कृषि, पर्यटन, खेलकुद, महिला, बालबालिका, जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति लगायत सबै क्षेत्रलाई समेटेर प्रतिबद्धता तयार गरेको हो ।

गाउँपालिकाका अध्यक्षका उम्मेदवार बलभद्र सरदार (थारु)ले गाउँपालिकालाई ५ वर्ष भित्रमा नमुना बनाइने प्रतिबद्धता जनाए ।  उनले बुढीगंगा क्षेत्रमा रहेका रोजगारीमूलक उद्योगहरूलाई विशेष सहुलियत र करमा समेत छुट दिइने बताए।  पर्यटन प्रवर्द्धनका लागि थारु संस्कृति झल्कने खालको  ‘होम स्टे’ निर्माण गरी आन्तरिक आयबृद्धी गरिने, महिलालाई उच्च शिक्षामा छात्रवृत्ति प्रदान गर्ने, स्वास्थ्यमा जनताको पहुँच, रोजगारी सिर्जना गर्ने तथा घरनक्सा पासमा आवश्यक अनुगमन गरी व्यवस्थित बसोबासको चाँजोपाँजो मिलाउने र बुढीखोलाका कारण जोखिममा परेका वस्तिलाई जोगाउन नदीमा तटबन्ध निर्माण कार्यक्रम ल्याउने उम्मेदवारी सरदारले बताए ।

सार्वजनिक प्रतिबद्धतामा मनमोहन प्राविधिक विश्वविद्यालयमा हरेक वर्ष १० लाखका दरले अक्षयकोषका लागि बजेट विनियोजन गरी १ सय जनालाई सीप परीक्षण सहितको तालिम उपलब्ध गराइने, सडकको स्तरोन्नति गरिने, ५ वर्षभित्रमा बेरोजगारी घटाई स्वरोजगारमूलक कार्यमा संलग्न गराइने, कृषकलागि बिउ विजनमा अनुदान, कृषिलाई प्रोत्साहन, व्यावसायिक पशुपालनका लागि अनुदान, व्यवस्थित कृषि बजारको स्थापना गरिने सार्वजनिक गरिएको प्रतिबद्धतापत्रमा उल्लेख छ ।

दलित, पछाडि पारिएको समुदायलाई सीपमूलक तालिम दिई रोजगार बनाइने, जेष्ठ नागरिकलाई सहज रूपमा भत्ता वितरण गरिने लगायतका प्रतिबद्धता अध्यक्षका उम्मेदवार सरदारले सार्वजनिक गरे । उपाध्यक्षका उम्मेदवार तुलसी कुँवर विष्टले शिक्षकलाई मासिक रूपमा तलब भुक्तानीको व्यवस्था गर्ने, जनप्रतिनिधिले जनताको गुनासो सुन्ने व्यवस्था गर्ने र पालिकाका सार्वजनिक वडापत्र जारी गर्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा सात वटै वडाका अध्यक्षका उम्मेदवारहरूको उपस्थिति रहेको थियो ।  नेकपा एमाले प्रदेश कमिटी सदस्य सत्यनारायण चौधरीले स्थानीयको माग र आवश्यकताका आधारमा प्रतिबद्धता पत्र ल्याइएको बताए । ‘हामीले ल्याएको प्रतिबद्धता पत्र सबै कार्यान्वयन गर्नेगरी ल्याएका छौँ, उनले भने, हामी हाम्रा एजेण्डामा हामी स्पष्ट छौँ, भोलि नागरिकको लागि सबै कार्यान्वयन गर्न सकिन्छ ।’

वडा नम्बर १ का राजन घिमिरे,२ का प्रमोद माझी,वडा नम्बर ३ का अमिरलाल भगत, वडा नम्बर ४ का सागर बराल, वडा नम्बर ५ को शिवनारायण माझी, वडा नम्बर ६ का गोठलु गच्छदार र वडा नम्बर ७ का पंगज चौधरीले वडा स्तरमा भएका गतिविधिको बारेमा  जानकारी गराएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *