कनकाईलाई समृद्ध र सुशासनयुक्त बनाउने उम्मेदवारका साझा एजेन्डा

झापा ।  कनकाई नगरपालिकालाई समृद्ध र सुशासनयुक्त बनाउने मेयर–उपमेयरका उम्मेदवारका साझा एजेन्डा सहित अघि बढ्ने बताएका छन् ।

स्थानीय तह निर्वाचनका लागि झापाको कनकाई नगरपालिकाका मेयर तथा उपमेयर पदका उम्मेदवारले नगरको बेरोजगार समस्या समाधान, नगरभित्रै रोजगारीको व्यवस्था तथा नगरवासीलाई गुणस्तरीय तथा सुलभ रूपमा शिक्षा र स्वास्थ्य सेवा प्रदान गर्न आफू प्रतिबद्ध रहेको बताए ।

आफू निर्वाचित भएको खण्डमा कनकाई नगरपालिकालाई सुशासनयुक्त नगर बनाउने दाबी प्रस्तुत गरे । नगरमा ठूलो संख्यामा शिक्षित युवा बेरोजगार रहेको तथा वैदेशिक रोजगारमा जानुपर्ने बाध्यता रहेकाले उक्त समस्यालाई नगरभित्रै रोजगार सिर्जना गरेर समाधान गर्ने उनीहरूको भनाइ छ ।

संवाद समूह झापा र कनकाई सुरुङ्गा प्रेस क्लबको संयुक्त आयोजनामा शुक्रवार  सुरुङ्गामा भएको छलफलमा सबै दल तथा स्वतन्त्र रूपमा उम्मेदवार बनेकाहरू एकै थलोमा उपस्थित भएर आफ्ना एजेन्डा प्रस्तुत गरे ।

उनीहरूले निर्वाचनलाई शान्तिपूर्ण, मर्यादित बनाउन सहयोग गर्दै निर्वाचन आचारसंहिता पूर्णरूपमा पालना गर्ने पनि प्रतिबद्धता जनाएका छन् ।

नेकपा एमालेबाट मेयर पदका उम्मेदवार राजेन्द्रकुमार पोखरेलले बितेको पाँच वर्षमा पूरा गर्न नसकेको कामहरू आगामी कार्यकालमा पूरा गर्न पुनः उम्मेदवार बनेको बताए । उनले नगरभित्रका सुकुम्वासीलाई तीन महिना भित्र जग्गाधनी पुर्जा वितरण गर्ने धारणा राखे ।

पोखरेलले कनकाईलाई शिक्षा र स्वास्थ्यको हबका रूपमा विकास गर्न विगतमा धेरै काम गरिसकेको र बाँकी काम पनि तत्कालै गर्ने गरी अघि बढेको बताए ।

नेपाली कांग्रेसबाट मेयर पदका उम्मेदवार रुद्रप्रसाद चिमरियाले आफूले नगरभित्रको सुकुम्वासी समस्या राम्ररी बुझेको बताए । उनले आफू मेयर निर्वाचित भए पहिलो प्राथमिकतामै सुकुम्वासीलाई धनीपूर्जा वितरणको काम गर्ने भनाइ राखे ।

चिमरियाले नगरभित्रको बेरोजगार समस्यालाई वडास्तरमै साना साना लघु उद्योग खोलेर रोजगार सिर्जना गर्ने जानकारी दिए । उनले शिक्षा, स्वास्थ्य र कृषि तथा कनकाई रिङरोडलाई नगरकै विशेष योजनाअन्तर्गत अघि बढाउने बताए ।

राप्रपाबाट मेयर पदका उम्मेदवार श्यामसुन्दर ओलीले शिक्षा र स्वास्थ्य आफ्नो पहिलो प्राथमिकताको जिम्मेवारी भएको बताए । उनले वृद्धवृद्धालाई निःशुल्क औषधोपचारको व्यवस्था गर्ने बताए ।

गर्भवती महिलाका लागि सुनौला एक हजार दिन कार्यक्रम लागू गर्ने उनको भनाइ छ । उनले आफू निर्वाचित भए करको दर घटाउने र कर प्रणालीलाई वैज्ञानिक ढंगबाट अघि बढाउने बताए ।

विवेकशील साझा पार्टीबाट मेयर पदका उम्मेदवार भीमप्रसाद अधिकारीले ३० वर्षदेखि समाधान हुन नसकेको नगरको सुकुम्वासी समस्या समाधान गर्ने बताए । उनले कमिसन र बाढी, डुबान मुक्त नगर बनाउने धारणा राखे । उनले नगरको आयस्रोत वृद्धि गरी नगरवासीमा रहेको करको भार घटाउने दाबी गरे ।

उनले महिला सशक्तीकरणमा जोड दिँदै नगरभित्र रोजगारको अवसर सिर्जना गर्नेमा आफू लागिपर्ने बताए ।

मौलिक जरोकिलो पार्टीबाट मेयर पदकी उम्मेदवार टंक उप्रेतीले कनकाईमा मौलिकतासँग मिल्ने शासन व्यवस्था लागू गर्ने बताइन् । उनले कनकाईलाई कृषिमा आत्मनिर्भर हुने योजना ल्याउने बताइन् ।

नदी तटबन्ध गर्ने तथा साना उद्यम चलाएर भए पनि युवालाई नगरभित्रै रोजगारको व्यवस्था गर्ने योजना आफूहरूसँग भएको बताइन् ।

स्वतन्त्ररूपमा मेयर पदका उम्मेदवार शेरबहादुर थापाले कनकाईलाई पूर्वकै प्रमुख पर्यटकीय नगरीको रूपमा विकास गर्ने बताए । उनले आफू निर्वाचित भए नगरबाट गरिबी उन्मूलन गर्ने कार्यक्रम लागू गर्ने बताए ।

थापाले युवाका लागि रोजगारी सिर्जना गर्नुकासाथै शिक्षा र स्वास्थ्य तथा पूर्वाधार विकासमा जनतामुखी कार्यक्रमहरू सञ्चालन गर्ने बताए ।

मेयर पदका अर्का स्वतन्त्र उम्मेदवार देवीप्रसाद उप्रेतीले आफू भ्रष्टाचारमुक्त नगर बनाउने अभियान बोकेर उम्मेदवार बनेको बताए । उनले कनकाईका युवाहरूको अवस्थालाई बुझेर उनीहरूलाई विदेश पलायन हुनबाट रोक्ने योजनासाथ मेयर पदमा चुनाव लड्न लागेको बताए ।

उनले विकासको नाममा भौतिक पूर्वाधार निर्माण मात्र नभई मानव विकासको कामलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताए ।

उपमेयर पदका उम्मेदवारहरू एमालेबाट मञ्जु प्रसाईँ, कांग्रेसकी आशा सिवाकोटी, नेकपा एकीकृत समाजवादीकी अम्बिकादेवी महत, विवेकशील साझा पार्टीबाट अम्बिका चापागाईँ, राप्रपाबाट सचित्रा खनाल र मौलिक जरोकिलो पार्टीबाट शान्ता दाहालले महिला, ज्येष्ठ नागरिक, बालबालिका, अपाङ्गता भएकाहरू, विपन्न तथा पछाडि पारिएका समुदाय र क्षेत्रका समस्यालाई प्राथमिकतामा राखेर आफ्नो एजेन्डा प्रस्तुत गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *