पोखराको गठबन्धन : टाउको एउटै, वडाभरि प्रतिस्पर्धा

पोखरा । पोखराको मेयर र उपमेयरमा गठबन्धन दलबीच साझेदारी छ । मेयरमा एकीकृत समाजवादीका नेता धनराज आचार्य उम्मेदवार छन् भने उपमेयरमा कांग्रेस नेतृ कोपिला रानाभाटले उम्मेदवारी दिएकी छिन् । गठबन्धन भन्दा अन्य दलसँग साझेदारी गर्न नमिल्ने र गठबन्धन भित्र साझेदारी हुन नसके मित्रवत् प्रतिस्पर्धा गर्ने निर्णय केन्द्रले गर्‍याे । महानगरको टाउकोमा कुरा मिलेपनि वडामा भने सोचेजति गठबन्धन हुन सकेन ।

११ वटा वडामा पूर्ण गठबन्धन छ भने बाँकीमा कुनै न कुनै दलले उम्मेदवार उठाएका छन् । महानगरका अधिकांश वडामा गठबन्धन दलहरूले आ-आफ्नै उम्मेदवार उठाएका छन् । गठबन्धन एक ठाउँमा भएर अरूसँग प्रतिस्पर्धा गर्ने केही वडा बाहेक सबैमा छुट्टाछुट्टै उम्मेदवार उठेका हुन् । वडा नम्बर १ मा गठबन्धनका अरू पार्टीले उम्मेदवारी दिएका छैनन् । कांग्रेस र माओवादीको छुट्टाछुट्टै उम्मेदवार छन् । २ नम्बरमा कांग्रेस र माओवादी सहित जनता समाजवादीको पनि वडाध्यक्षमा दाबी छ । वडा नम्बर ३ को अध्यक्षमा गठबन्धनबाट कांग्रेसको मात्रै उम्मेदवारी छ । सदस्यहरूमा आफ्नै प्रतिस्पर्धा छ ।

वडा नम्बर ४ मा कांग्रेस र माओवादीले उठाएका छन् । वडा नम्बर ५ मा गठबन्धनबाट कांग्रेस, माओवादी र एकीकृत समाजवादीले समेत उम्मेदवार उठाएका छन् । वडा नम्बर ६ कांग्रेस नेतृत्वमा गठबन्धन भएको छ । माओवादी र एकीकृत समाजवादीलाई सदस्यमा मिलाइएको छ । ७ नम्बर वडामा गठबन्धनका कांग्रेस-माओवादी नै प्रतिस्पर्धी छन् । वडा नम्बर ८ मा माओवादीलाई एउटा सदस्य दिएर अरू कांग्रेसले लिएको छ । वडा नम्बर ९ मा प्रमुख तीन पार्टीका उम्मेदवार छन् । एमाले, कांग्रेस र माओवादीको प्रतिस्पर्धा यहाँ रोचक हुनेछ । वडा नम्बर १० मा कांग्रेस र माओवादीका उम्मेदवार नै फरक छन् ।

वडा नम्बर ११ र १२ मा पनि कांग्रेस र माओवादीका उम्मेदवार कायम छन् । १३ मा कांग्रेस र माओवादी छुट्टै भिडेका छन् । वडा नम्बर १४ मा कांग्रेसको नेतृत्वमा गठबन्धन भएको छ । वडा नम्बर १५ मा जनमोर्चाले उम्मेदवार उठाएपनि गठबन्धनका अरू पार्टी एक ठाउँमा छन् । वडा नम्बर १६ मा गठबन्धन गरेरै सहमतिमा उम्मेदवारी दिइएको छ । वडा नम्बर १७ मा एकीकृत समाजवादी बाहेक सबै दलको उम्मेदवार छन् । १८ मा कांग्रेस र माओवादी प्रतिस्पर्धामै उत्रिएका छन् । १९ मा कांग्रेस नेतृत्वमा गठबन्धन भएको छ भने वडा नम्बर २० मा कांग्रेस र एकीकृत समाजवादीले उम्मेदवार उठाएका छन् । माओवादी र जसपाले कसलाई सहयोग गर्छ भन्ने खुलेको छैन । वडा नम्बर २१ मा एकीकृत समाजवादीको नेतृत्वमा गठबन्धन एक ठाउँमा छन् । कांग्रेस र माओवादीले सदस्य उठाएका छन् ।

२२ नम्बरमा कांग्रेस र माओवादीको आधिकारिक उम्मेदवार छैनन् । उनीहरूले स्वतन्त्र रूपमा उम्मेदवारी दिएकालाई सघाउने निर्णय गरेका छन् भने जनता समाजवादीले छुट्टै उम्मेदवार उठाएको छ । २३ नम्बर वडामा कांग्रेस नेतृत्वमा सबै पार्टीबीच गठबन्धन छ । २४ मा कांग्रेस र माओवादीका छुट्टाछुट्टै उम्मेदवार छन् । २५ नम्बरमा जनमोर्चाले उम्मेदवार उठाएको छ । यहाँ कांग्रेसको पनि उम्मेदवार छन् । जनमोर्चा बाहेक अरूबीच गठबन्धन भएको बुझिएको छ ।

२६ नम्बरमा पनि गठबन्धन छैन । कांग्रेस र माओवादीका फरक उम्मेदवार छन् । २७ मा कांग्रेसलाई अरू पार्टीले सघाएपनि जसपाको आफ्नै उम्मेदवार छन् । २८ मा कांग्रेस र माओवादी पनि प्रतिस्पर्धी छन् । २९ मा गठबन्धन कायम छ । ३० र ३१ मा पनि गठबन्धन छ । ३२ मा माओवादी र कांग्रेसका उम्मेदवार छुट्टै छन् भने ३३ मा कांग्रेस, माओवादी र जसपाका उम्मेदवार फरक छन् । वडाको उम्मेदवारीमा गठबन्धन नभएका कारण नतिजा फरक आउन सक्ने सम्भावना छ । छुट्टाछुट्टै उम्मेदवार उठाएका सबै पार्टीले चुनाव प्रचार पनि छुट्टाछुट्टै गरेका छन् । यसले मेयर र उपमेयरको मतमा समेत असर पर्न सक्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *