एमाले अध्यक्ष ओलीद्वारा किराँती धर्मगुरु आत्मानन्दको प्रशंसा

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमाले र किराँत धर्मगुरु आत्मानन्द लिङ्देनले रोजेको अहिंसा, शान्ति र मानव कल्याणको बाटो एउटै भएको बताएका छन्।

पश्चिम इलामको माङ्सेबुङस्थित किरात धार्मिकस्थल लारुम्बामा आज किरात धर्म साहित्य उत्थान सङ्घले आयोजना गरेको स्वागत सम्मान कार्यक्रममा सम्बोधन गर्दै उनले धर्मगुरु आत्मानन्द लिङ्देन र उनले धारणा गरेको विश्व शान्ति र मानव कल्याणको नीतिको प्रशंसा गरेका छन्। “किराँत धर्मगुरुले जुन मानव कल्याणको विकास गर्दै हुनुहुन्छ, वास्तवमा एमालेले पनि रोजेको बाटो त्यही हो”, उनले भने, “नेपाली नागरिकलाई हिंसाबाट मुक्ति दिलाएर मानव कल्याणका निम्ति एमालेले विगतदेखि नै चालेको कदम पनि त्यही हो।”

एमाले अध्यक्ष ओलीले आज बुधबार संविधानसभाका अध्यक्ष एवं एमाले नेता सुभाषचन्द्र नेम्बाङलाई साथमा लिएर किराँत धर्मगुरु आत्मानन्द लिङ्देनसँग लारुम्बास्थित गुरु आश्रममा भेट गरेका हुन्। भेटपछि स्वागत कार्यक्रममा सहभागी उनले धर्मगुरु लिङ्देनको आशीर्वाद विगतदेखि नै आफ्नो पार्टीलाई रहेको दाबी गरेका छन्। इलाम र पश्चिम झापामा धर्मगुरु लिङ्देनका धार्मिक अनुयायीको ठूलो सङ्ख्या रहेको छ।

धर्मगुरु आत्मानन्द लिङ्देन राष्ट्रिय विभूति एवम् किराँती धर्मगुरु फाल्गुनन्दको सन्तान हुन्। उनी इलामको माङ्सेबुङस्थित लारुम्बामा आश्रममा बस्छन्। उक्त आश्रम लारुम्बा धार्मिकस्थलका रूपमा प्रसिद्ध छ। लारुम्बाको कार्यक्रम सकेर उनले चुनावी प्रचारका लागि दक्षिण इलामको माई नगरपालिकास्थित शुक्रबारे बजारमा आयोजित एमालेको आमसभालाई सम्बोधन गरेका छन्।

अध्यक्ष ओलीले आजै झापाको कनकाईमा आयोजित चुनावी सभालाई समेत सम्बोधन गरेका छन्। हिजो मङ्गलबार राजधानीबाट गृहजिल्ला पुगेका उनी आज राजधानी फर्किएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *