चारेकोशे जंगलका दुई पम्पिङ वेल हाउसमा समस्या; धरानमा पानीको हाहाकार

धरान । धरानको चारकोशे जंगलमा रहेको खानेपानी उत्पादन गर्ने दुईवटा पम्पिङ वेल बिग्रिएका छन्। पम्पिङ वेल बिग्रिएपछि धरानमा पानी उत्पादनमा समस्या देखिएको छ।

धरान खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक राजु पोखरेलका अनुसार चारकोशे जंगलमा रहेको वेल नं ४ र ७ बिग्रिएका हुन्। उक्त क्षेत्रमा तत्कालीन खानेपानी संस्थानसँग चारवटा वेल हाउस छन्। वेल हाउसको संरचनाहरू जिर्ण रहेका कारण बेलाबेला खानेपानीको समस्या हुँदै आएको छ। चारवटामध्ये दुईवटा वेल हाउस बिग्रिएको हो।

वेल नं ४ को मर्मत कार्य सम्पन्न भइसकेको र वेल नं ७ को मर्मत कार्य निरन्तर रूपमा भइरहेको पोखरेलले बताए। बुस्टिङ गर्ने बुस्टर पम्प बिग्रिएको कारणले पनि खानेपानी उत्पादनमा समस्या भएको उनको भनाइ छ। वेल नं ७ को मर्मत कार्य सम्पन्न भएपछि बुस्टर पम्पको पनि मर्मत गरिने उनले बताए।

विगत एक साता अघिदेखि पुरानो संरचनाको पम्पिङ वेल नं ४ र ७ को पम्प बिग्रिएको र नयाँ संरचनाको एउटा बुस्टर पम्प बिग्रिएको कारण उत्पादनमा कमी भई वितरणमा समस्या हुँदै आएको छ। मर्मत कार्य निरन्तर रूपमा भइरहेको र चाँडै मर्मत गरेर उपभोक्ताहरूमा सहज ढंगबाट खानेपानी वितरण गरिने उनले जानकारी दिए। खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष समेत रहेका मेयर तिलक राईले मङ्गलबार बिग्रिएको वेल हाउस र बुस्टरको निरिक्षण गरेका छन्। अनुगमनका क्रममा मेयर राईले मर्मत कार्य चाँडै सम्पन्न गर्नसमेत निर्देशन दिएका छन्।

चारकोशे जंगलबाट पम्पिङ गरेर निकालिएको पानी धरानमा प्रयोग हुँदै आएको छ। सामान्य पानीको समस्या आउँदा धरान काकाकुल हुने अवस्था रहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *