रतुवामाईका मेयर आचारसंहिता विपरीत चुनावी प्रचारमा

विराटनगर । निर्वाचन नजिकिँदै जाँदा निर्वाचन आचारसंहिता विपरीतका गतिविधि बढ्न थालेको छ। मोरङको रतुवामाई नगरपालिकाका मेयर शक्तिको दुरुपयोग गर्दै चुनाव प्रचारमा निस्किएका छन् ।

निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहितामा स्थानीय कार्यपालिका र सोका सदस्यलाई कुनै पनि राजनीतिक दल वा उम्मेदवारको पक्ष तथा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचार गर्न रोक लगाएको छ ।

त्यस्तै, आचारसंहिताले राजनीतिक दल वा उम्मेदवारले आयोजना गरेको बैठक, सभा, कार्यशाला गोष्ठी, सम्मेलन, अन्तर्क्रिया जस्ता कार्यक्रममा भाग लिन नहुने भनेको छ । तर, मोरङको रतुवामाई नगरपालिकाका मेयर रविन राई भने सरकारी स्रोत, सधान र सम्पत्तिको दुरुपयोग गरी निर्वाचन आचारसंहिताको धज्जी उडाएका छन् ।

उनले नगरपालिका स्रोत, साधन र गाडीसमेत दुरुपयोग गर्दै नेपाली कांग्रेसका उम्मेदवारको पक्षमा मत माग्दै चुनावी प्रचारमा हिँडेको नगरवासीका भनाई छ ।

उनी यतिबेला नेपाली कांग्रेस र सत्ता गठबन्धनका उम्मेदवारको पक्षमा मत माग्दै चुनावी प्रचारमा हिँड्ने मात्र नभई विभिन्न स्थानमा आयोजना गरिएको चुनावी सभामा भाषणसमेत गर्दै हिँडिरहेका हुन् ।

मेयर राईले हालसम्म पदबाट राजीनामा दिएका छैनन् । निर्वाचन आचारसंहिता बमोजिम वहालवाला मेयरले कुनै पनि दल तथा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचार गर्न पाउँदैनन् । तर, उनले निर्वाचन आयोगलाई नै चुनौती दिँदै कांग्रेसका लागि पदको दुरुपयोग गरिरहेको स्थानीयले बताएका छन् ।

विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले पार्टीको चुनावी प्रचारमा हिँड्नुपर्ने भएकाले नैतिकता देखाउँदै राजीनामा दिएका थिए । तर, रतुवामाईका मेयर राई भने आचारसंहिता विपरीतका गतिविधिमा सक्रिय रहेको स्थानीयको भनाइ छ । २०७४ सालमा कांग्रेसका तर्फबाट मेयरमा निर्वाचित भएका उनी मेयरका आकांक्षी थिए ।

मेयर राईले भने आफूले सरकारी गाडीको प्रयोग नगरी आफ्नै व्यक्तिगत सवारीको प्रयोग गर्दै चुनाव प्रचारमा हिँड्ने गरेको स्वीकार गरे । ‘मैले आफ्नो व्यक्तिगत गाडीको प्रयोग गरेर हिँड्ने गरेको छु, उनले भने, मेरो प्राइभेट गाडीमा मैले झण्डा समेत नहाली हिँड्ने गरेको छु ।’

रतुवामाईका निर्वाचन अधिकृत राजु अधिकारीले मेयरले कुनै पनि दल विशेषको चुनावी प्रचारमा सहभागी हुन नपाउने भएकाले त्यसो गरेको पाइएमा कारबाही हुने बताए । उनले कार्यपालिका प्रमुख र सदस्यलाई पनि आचारसंहिता लागू हुने भएकोले उम्मेदवार र दलको प्रचारमा हिँड्न नपाइने बताए ।

प्रदेश निर्वाचन कार्यालयका प्रमुख लेवन कश्यप अधिकारीले मेयर राईले आचारसंहिता विपरीतको कार्य गरेको खण्डमा कारबाहीको भागिदार बन्ने बताए । ‘हामी तत्काल सचेत गराउँछौँ’, उनले भने, ‘त्यहाँको मुख्य निर्वाचन अधिकृतको कार्यालय मार्फत प्रक्रिया अघि बढ्छ ।’

केही दिन अघि मेयर राईकै निर्देशनमा आचारसंहिता विपरीत कांग्रेस उम्मेदवारको पक्षमा मत माग्दै उपभोक्ता समिति गठन गरेर रतुवामाई–५ स्थित लेटीमा गिटी झारिएको थियो । विवाद भएपछि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लम्सालले उक्त काम रोक्न लगाएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + 3 =