गोरखाको मेयरमा कांग्रेसलाई सघाउन जसपाको केन्द्रीय निर्देशन

पोखरा । गोरखा नगरपालिकाको मेयरमा कांग्रेसलाई सहयोग गर्न जनता समाजवादी पार्टीलाई केन्द्रीय समितिले निर्देशन दिएको छ । सो पार्टीका वरिष्ठ नेता तथा स्थानीय निर्वाचन परिचालन मूल समितिका संयोजक अशोक राईले निर्देशन पत्र पठाएका हुन् ।
उनका अनुसार गोरखामा गठबन्धनले कांग्रेसलाई सहयोग गर्ने निर्णय भएको बताएका छन् । उनले पालुङटारमा भने कांग्रेसले जसपालाई सहयोग र समर्थन गर्ने निर्णय भएको पनि जनाएका छन् ।
‘नेपाली कांग्रेसले पालुङटार नगरपालिकाको प्रमुख पदमा जनता समाजवादी पार्टीका उम्मेदवारलाई सहयोग र समर्थन गर्ने तथा पालुङटार नगरपालिकाको उप प्रमुख र गोरखा नगरपालिकाको प्रमुख पदमा नेपाली कांग्रेसका उम्मेदवारलाई जनता समाजवादी पार्टीले सहयोग, समर्थन गर्ने सहमति र निर्णय भएको छ,’ पत्रमा भनिएको छ ।
अहिलेको गठबन्धन संविधान रक्षाका लागि भएकोले इमानदार भएर निर्णय कार्यान्वयन गर्न उनले आग्रह गरे । तर पालुङटारमा भने कांग्रेसले जसपालाई स्विकारेको छैन । बाबुराम भट्टराईले जसपालाई कांग्रेसले सघाउने निर्णय भएको भन्दै पत्र फेसबुकमा शेयर गरेपछि स्थिति झन् नियन्त्रण बाहिर गएको छ ।









