जब चारवर्षे बालकले आमाको कार सुटुक्क लिएर हिँडे

काठमाडाैँ । द नेदरल्यान्ड्समा एक चारवर्षे बालकले आफ्नी आमाको कार सुटुक्क चलाएर सडकमा पुर्‍याएपछि उक्त घटनाको चर्चा भएको छ । युट्रेक्ट सहरमा शनिवार बिहानै ती बालकले चलाएको कार पार्क गरेर राखिएका अन्य दुई सवारीसाधनमा ठोकिएको थियो ।

त्यसपछि पाइजामा लगाएका ती बालक कारको ढोका खोकेर खाली खुट्टा बाहिर निस्किएका थिए । चिसोमा एउटा बालक एक्लै हिँडिरहेको देखेपछि प्रत्यक्षदर्शीहरूले प्रहरीलाई खबर गरेका थिए । उक्त दुर्घटनामा कोही पनि घाइते भएन। प्रहरीले आफ्नो इन्स्टाग्राममा घटनाबारे जानकारी दिँदै ठट्यौलो पारामा ‘नयाँ माक्स भेर्स्टापेन’ फेला परेको लेखेको छ। भेर्स्टापेन फर्म्युला वनका विश्वविजेता हुन् ।

प्रहरीका अनुसार ती बालक शनिवार बिहान आफ्ना बुवा काममा जान लाग्दा उठेका थिए अनि आमाको कारको साँचो बोकेर बाहिर निस्किएका थिए । एक्लै हिँडिरहेका बालकलाई लिन प्रहरीहरू गएकै बेला नजिकै पार्क गरिएका दुईवटा गाडीमा आएर जोतिएको एउटा कारबारे प्रहरीले जानकारी पायो । कारधनीको नाम पत्ता लागेपछि प्रहरीले उनलाई खबर गर्‍यो । कारधनी ती बालककी आमा थिइन् ।

त्यसपछि आमा र छोरालाई लिएर प्रहरी दुर्घटनास्थलमा गयो। त्यहाँ ती बालकलाई गाडी कसरी चल्यो भनेर सोधिएको थियो । प्रहरीका अनुसार ती बालकले फेरि साँचोले कारको ढोका खोले, चलाउने ठाउँमा साँचो हाले अनि क्लच र पेडल खुट्टाले थिचे । बालककी आमाले आफ्नो बच्चा ‘निकै टाठो’ भएको बताएकी छन् । उक्त घटनापछि प्रहरीले बच्चाले नभेट्ने ठाउँमा गाडीको साँचो राख्न उनका आमाबाबुलाई भनेको छ । -बीबीसी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *