स्वरोजगार बन्दै कञ्चनपुरका महिला

काठमाडौँ । कञ्चनपुरको कृष्णपुर नगरपालिका–६ का कमला डगौरा थारु समुदायका महिलाले लगाउने परम्परागत पहिन बनाउने सीप बूढापाकाबाट सिकेर नयाँ पुस्तालााई सिकाउनमा व्यस्त छिन्।

सानै अवस्थामा घरका बज्यै, आमाबाट महिलाले लगाउने लेहङ्गा, चोली बनाउन उनले सिकेकी हुन्। पुस्तौँदेखि पुस्तान्तरण हुँदै आएको सीपलाई उनले आफूमा मात्रै सीमित राखेकी छन्। उनले गाउँका युवतीलाई लेहङ्गा, चोलीलगायत बनाउन सिकाउनका लागि मद्दतसमेत पुर्याउँदै आएकी छन्। युवतीलाई सीप सिकाउने कार्यमा महाकाली सामुदायिक वनले सहयोगसमेत गरेको छ। एक महिने निःशुल्क तालिम आयोजना गरी २० युवतीलाई लेहङ्गा, चोली बनाउने तालिम दिइएको उनले बताइन्। “यस कार्यका लागि सामुदायिक वनले सहयोग गरेको छ”, उनले भनिन्, “तालिम लिएका अधिकांशले युवतीले सीपको सदुपयोग गर्दै व्यावसायिक रूपमा कार्य अगाडि बढाएका छन्।”

उनका अनुसार पहिला आजभोलिजस्तो कपडा सिउने मेसिनको प्रचलन थिएनन्। त्यसैले, सबै कपडा हातैले सियो धागोको मद्दतले सिउने गरिन्थ्यो। एकै जोडी लेहङ्गा चोली बनाउन १० देखि १५ दिन लाग्ने गर्दथ्यो। त्यो कार्य फुर्सदको समय मात्रै हुने गर्दथ्यो। आजभोलि कपडा सिउनका लागि मेसिनको प्रयोग गरिन्छ। कपडा सिउनका लागि केही घण्टा मात्रै लाग्ने गरेको छ। लेहङ्गा चोलीमा बुट्टा भर्ने, सितारा राख्ने, लेस अर्सा राख्ने कार्यसँगै ड्राफ्ट तयार गर्ने कार्य सहज रूपमा हुने गरेको छ।

“बुट्टा भर्ने र नयाँ डिजायन तयार गर्ने कार्यका लागि युट्युवको सहायतासमेत लिने गरेका छौँ”, उनले भनिन्, “आँखा सिपालु भए पछि सबै सिपालु हुन्छन्। देखेको कुरालाई दिमागमा राखेर अरूभन्दा नयाँ कार्य गरे। त्यसबाट बढी आम्दानी लिन सकिन्छ। परम्परागत पहिरनलाई जोगाउन सकिन्छ नै। आम्दानी बढने भएकाले बेरोजगार भएर बस्नुपर्दैन।” लेहङ्गा चोली तयार गरी बेचेर उनले मासिक रूपमा रु. ४० हजार बढी आम्दानी गर्छिन्। उनले तयार गरेका लेहङ्गा चोली कञ्चनपुर, कैलालीदेखि बाँके बर्दियासम्म बिक्री हुने गरेका छन्। एकजोर लेहङ्गा, चोली बनाउन दुईदेखि तीन दिनसम्म लाग्ने गरेको छ।

एक जोडी तयार गर्नका लागि रु. तीन हजार जति खर्च लाग्ने गरेको छ। जसबाट रु. दुई हजार जति नाफा हुने गरेको अनिता देवी डगौरा बताउँछिन्। “लेहङ्गा चोली बनाउन आवश्यक कपडा, सितारालगायत भारतबाट मगाउनुपर्ने हुन्छ”, उनले भनिन्, “त्यसैले एक जोर बनाउनै धेरै खर्च आउँछ।” लेहङ्गा, चोलीसँगै महिलाले लगाउने अन्य पहिरन पनि बनाउने भएकाले कमाइ पनि गतिलो नै हुने गरेको उनको भनाइ छ। “पहिला घर खर्चका लागि श्रीमानको मुख ताक्नुपर्ने बाध्यता थियो”, उनले भनिन्, “हाल श्रीमान काममा नगएको बेला कमाइको केही रकम पकेट मनिका रूपमा हामीबाटै माग्नुहुन्छ।”

बेरोजगार हुँदा श्रीमानबाट रकम माग्थ्यौँ। हाल तालिम दिएर दक्ष भई काम गर्न थालेपछि श्रीमानलाई पैसा दिन थालेका छौँ।” तीन वर्षदेखि कपडा सिउने कार्य गर्दै आएकी भावना चौधरी पनि लेहङ्गा, चोली सिउने कार्य गर्न थालेकी छन्। वर्षमा उनले ३० जोर जति लेहङ्गा, चोली बनाउँछन्। जसबाट उनले रु. ६० हजार जति आम्दानी गर्दै आएकी छन्। “तालिम लिएर परम्परागत कपडा तयार गर्न सिकेपछि आम्दानी बढेको छ”, उनले भने, “घर खर्च सहज रूपमा चलेको छ।

“लेहङ्गा, चोली बनाउने कार्य गर्न थालेपछि मासिक रूपमा रु. १० हजार आम्दानी हुन्छ”, जगमती राजवंशीले भनिन्, “अरू कपडा सिउने कार्यले त्यो आम्दानी बढेर मासिक रूपमा रु. ३० हजार जति कमाइ हुने गरेको छ।” लेहङ्गा, चोली बनाउने कार्यबाट गाउँका महिलाले गतिलो आम्दानी लिने कार्य गर्दै आएको जानकारी पाइएपछि आस्पती राजवंशीसमेत परम्परागत लेहङ्गा, चोली बनाउने सीप सिक्नमा लागेकी छन्। “लेहङ्गामा बुट्टा भर्ने, ड्राफ्ट तयार गर्ने कार्य महाकाली सामुदायिक वनले दिएको तालिमका क्रममा सिकेको छु”, उनले भनिन्, “सीपलाई निर्खानका लागि सीप सिकेका महिला कहाँ गएर सिक्न थालेको छु। यस कार्यका लागि घर परिवारको सहयोगसमेत पाइएको छ।”

वन पैदावारबाट आएको आम्दानीको केही हिस्ता खर्चेर महिलालाई परम्परागत पहिरन जोगाउनका लागि सीप सिकाउने कार्य गरिएको महाकाली सामुदायिक वनका अध्यक्ष वीरबहादुर राजवंशीले बताए “महिलाको नेतृत्व विकास, सशक्तीकरण, गरिबी निवारण गर्ने उद्देश्यसँगै रोजगारी सिर्जना गर्नका लागि परम्परागत सीपमा आधारित सीप महिलाहरूलाई सिकाइ व्यावसायिक बनाएका छौँ”, अध्यक्ष राजवंशीले भने, “जसबाट पुरानो सीप नयाँ पुस्तामा हस्तान्तरण गर्न सहज भएको छ। बजार प्रवर्द्धन गर्ने कार्य सामुदायिक वनका तर्फबाट गरिरहेका छौँ। थारु समुदायको संस्कृति जोगाउनसमेत मद्दत पुगेको छ।”

लेहङ्गा, चोली बनाउने सीपसँगै दुनाटपरी बनाउने, बेतबाँसका सामग्री बनाउने सीपसमेत सामुदायिक वनका उपभोक्तालाई दिइएको उनको भनाइ छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *