थवाङमा माओवादीविरुद्ध कांग्रेस, एमाले र विप्लवको गठबन्धन

काठमाडौँ । सत्तारुढ नेपाली कांग्रेस र माओवादी केन्द्रले थुप्रै पालिकाहरूमा नेकपा एमालेविरुद्ध गठबन्धन गरेका छन् । तर रोल्पाको थवाङमा ठिक उल्टो भएको छ । माओवादी केन्द्रविरुद्ध कांग्रेस, एमाले मात्र होइन, नेपाल कम्युनिस्ट पार्टी विप्लव समूहलेसमेत गठबन्धन गरेको हो ।
कांग्रेस, एमाले, विप्लव नेतृत्वको स्वतन्त्रसहित पाँच जनाले उम्मेदवारी फिर्ता लिएपछि सो गठबन्धन बनेको छ । कांग्रेसका कोषाध्यक्ष बमबहादुर रोकाले भने, ‘हामीले थबाङमा स्वतन्त्र उम्मेदवारलाई सघाउने गरेर अध्यक्षको मनोनयन फिर्ता लिने निर्णय गर्यौँ ।’
कांग्रेसबाट थबाङमा रमेश रोकाले उम्मेदवारी दिए। नेकपा एमालेबाट उम्मेदवारी दिएका नकस घर्तीले पनि मनोनयन फिर्ता लिएका छन् । नेकपाले अमित घर्तीलाई अगाडि सार्न खोजेको थियो । नेकपाबाट मात्रै अमित घर्ती, अजय घर्ती, दर्जित रोकामगर र महेश बुढामगरको उम्मेदवारी परेको थियो । अन्तिममा तीनै दलमा दर्जितको नाममा सहमति भएको थियो ।
नेकपाका केन्द्रीय सचिवालय सदस्य सन्तोष बुढाले भने, ‘दर्जितलाई हाम्रो समर्थन हो, उनको नाममा सबैको सहमति बनेको छ ।’ विसं २०७४ को स्थानीय तहको चुनावमा थबाङ गाउँपालिकामा नेकपा माओवादी केन्द्रले जितेको थियो ।
यसपटक माओवादी केन्द्रका विरुद्ध कांग्रेस, एमाले र विप्लव नेतृत्वको नेकपा एक ठाउँमा उभिएका छन् । रोल्पामा १० स्थानीय तहबाट उम्मेदवारी दिएकामध्ये ११४ जनाले फिर्ता लिएका छन् ।









