गोरखाको पालुङटारमा कांग्रेसका सबै उम्मेदवारले दिए राजीनामा

पोखरा । गोरखाको पालुङटारमा आफ्नो पार्टीका मेयर उम्मेद्वार दीपक कँडेललाई जवरजस्ती उम्मेद्वारी फिर्ता लिन लगाएको भन्दै केन्द्रीय समिति विरुद्ध त्यहाँका सबै उम्मेद्वारले राजीनामा दिएका छन् । ५१ जना उम्मेद्वारले नगर समितिमा राजीनामा पत्र बुझाएका हुन् ।

नगर समितिका सचिव कृष्ण गिरीले उनीहरुको पत्र पाएको र सोही अनुसार जिल्ला र केन्द्रमा पठाईसकेको जानकारी दिए । ‘राजीनामाको पत्र हस्ताक्षर सहित आएको छ । उहाँहरुले मेयर विना चुनाव लड्दिनँ भन्नुभएको छ,’ उनले भने, ‘त्यो पत्र सम्बन्धित ठाउँमा पठाएका छौं । रेस्पोन्स पाएको छैन ।’

केन्द्रीय गठबन्धन अनुसार पालुङटारको मेयरमा जसपालाई सघाउने निर्णय थियो । तर कांग्रेसले आफ्ना उम्मेद्वार उठायो । केन्द्रीय सभापति शेरबहादुर देउवाले उम्मेद्वारी फिर्ताका लागि निर्वाचन कार्यालयमै पत्र पठाए । पत्र ढिलो भएका कारण कँडेलको नाम उम्मेद्वारको सूचीमा छ ।

अहिले उनलाई आधिकारिक उम्मेद्वार जसपा हुने भएकोले सघाउन भन्दै विज्ञप्ती निकाल्न लगाईयो । तर कँडेलले आफ्नो उम्मेद्वारी फिर्ता नभएको बताएका छन् । ‘मैले उम्मेद्वारी छोडेको छैन । त्यहाँको उम्मेद्वार मै हुँ,’ उनले भने, ‘बाबूरामले गलत प्रचार गरे । त्यसको हिसाब चुनावमा हुन्छ ।’

उनले उम्मेद्वारी फिर्ता लिएको भन्दै जसपा संघीय परिषद् अध्यक्ष बाबूराम भट्टराईले फेसबुक पेजमा पत्र शेयर गरेका थिए । त्यसपछि पालिकामा उम्मेद्वार बनेका सबैले राजीनामा दिएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *