गुल्मीको धुरकोटमा माओवादीले गर्यो प्रतिपक्षीसँग तालमेल

काठमाडौँ । गुल्मीको धुर्कोट गाउँपालिकामा नेकपा (माओवादी केन्द्र)ले प्रतिपक्षी नेकपा (एमाले)सँग तालमेल गरेको छ।

धुर्कोटमा माओवादीले नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीविरूद्ध नेकपा एमालेसँग तालमेल गरेको हो। यसअघि सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका महेन्द्र भण्डारी गाउँपालिका अध्यक्षमा उठ्ने निर्णय गरिए पनि वर्तमान गाउँपालिका अध्यक्षसमेत रहेका नेकपा माओवादीका भुपाल पोखरेलले नै उम्मेदवारी दिएका छन्। उम्मेदवारीका विषयमा गठबन्धनभित्रै सहमति नजुटेपछि गाउँपालिकामा नेकपा एमाले र माओवादी केन्द्रका बीचमा तालमेल बनेको हो।

एमालेबाट गाउँपालिका अध्यक्षका लागि उम्मेदवारी दिएका गोपाल कुँवरले उम्मेदवारी फिर्ता लिएर माओवादीका पोखरेललाई सहमति गर्ने निर्णय भएपछि दुई दलबीच तालमेल बनेको एमाले धुर्कोटका सचिव सूर्य घिमिरेले जानकारी दिए। गाउँपालिका अध्यक्षमा माओवादीका पोखरेललाई समर्थन गरेपछि उपाध्यक्षमा भने माओवादीले एमाले उम्मेदवार सीता गिरीलाई समर्थन गर्ने सहमति गरेको छ।

त्यस्तै, गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका महेन्द्र भण्डारीलाई समर्थन गरेको एकीकृत समाजवादीले नेपाली कांग्रेसको समर्थनमा उपाध्यक्षमा कमला सुनारलाई उम्मेदवार बनाएको छ। माओवादीका उम्मेदवार पोखरेल २०७४ सालको निर्वाचनमा भने नेपाली कांग्रेसको सहयोगमा गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका हुन्।

निर्वाचित भएपछि विकासनिर्माणका कामसँगै किसान, महिला, युवा लगायतका क्षेत्रमा उल्लेखनीय काम गरी लोकप्रियतासमेत हासिल गरेका कारण माओवादी केन्द्रले पोखरेललाई पुनः सोही पदमा दोहोर्याउन लागेको हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *