गठबन्धनको बागी बनेको माओवादीले इटहरीमा उम्मेदवारी फिर्ता लियो

इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिकामा १३३ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । मेयर, उपमेयर, वडाध्यक्ष र सदस्य पदका लागि उम्मेदवारी दिएका मध्ये १ सय ३३ जनाले फिर्ता लिएका हुन् ।

उम्मेदवारी दर्ता गरेकाहरूमध्ये नाम फिर्ता लिन शुक्रबार सम्मको समय तोकेको थियो । इटहरीमा एक सय ३३ जनाले उम्मेदवारी फिर्ता लिएका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मेयर पदमा उम्मेदवारी दिएका दुई जना, उप-मेयर पदमा उम्मेदवारी दिएका दुई जना, वडाध्यक्ष पदमा उम्मेदवारी दिएका ३४ जना, खुल्ला वडा सदस्यमा उम्मेदवारी दिएका ४७ जना, महिला वडा सदस्यमा उम्मेदवारी दिएका २६ जना र दलित महिला सदस्य पदमा उम्मेदवारी दिएका २२ जनाले उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

नाम फिर्ता लिनेमा नेकपा (माओवादी केन्द्र)का स्वतन्त्र रूपमा मेयर र उपमेयरसहित वडाध्यक्ष र वडा सदस्य पदमा उम्मेदवारी दिने धेरै छन् । इटहरी, विराटनगरमा माओवादी बाधक बन्दै आएको आरोप लागेको छ । इटहरीमा गठबन्धनसँग चित्तनबुझेको भन्दै माओवादीले स्वतन्त्र रूपमा मेयर, उपमेयरसहित वडा सदस्य पदमा स्वतन्त्र रूपमा उम्मेदवारी दर्ता गराएको थियो । त्यस्तै जनमोर्चाले पनि उम्मेदवारी दर्ता गराएको थियो ।

नाम फिर्ता लिनेमा राष्ट्रिय जनमोर्चाका लक्ष्मीकान्त ओझा र स्वतन्त्र उम्मेदवार भानुभक्त मैनाली छन् । स्वतन्त्र रूपमा उम्मेदवारी दर्ता गराउने मैनाली माओवादीका नेता हुन् । उप-मेयर पदमा उम्मेदवारी दिने मध्येका सुशीला उप्रेती र सोमनाथ निरौलाले पनि उम्मेदवारी फिर्ता लिएका हुन् ।

स्वतन्त्र उम्मेदवार उप्रेती माओवादीकी नेत्री हुन् । इटहरीमा मेयर पदका लागि १८ जना, उपमेयर पदमा ९ जनाको उम्मेदवारी परेको थियो । उम्मेदवारी फिर्ता लिएसँगै अब मेयरमा १६ जना र उप-मेयरमा ७ जनाबीच चुनावी प्रतिस्पर्धा हुने भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *