धनगढीमा मेयरका उम्मेदवारसहित २५ जनाले लिए उम्मेदवारी फिर्ता

धनगढी । आसन्न स्थानीय तहको निर्वाचनका लागि धनगढी उपमहानगरपालिकामा विभिन्न पदमा उम्मेदवारी दिएकामध्ये २५ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।

उपमहानगर प्रमुख, वडा अध्यक्ष र सदस्यमा उम्मेदवारी दिएकामध्ये २५ जनाले उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिर्कतको कार्यालयले जनाएको छ ।

उम्मेदवारी दिएकामध्ये नगरप्रमुखमा उम्मेदवारी दिएकी राष्ट्रिय जनमोर्चाकी अन्जना श्रेष्ठ मास्केले उम्मेदवारी फिर्ता लिएकी छन् । उनले उम्मेदारी फिर्ता लिएसंगै मेयरमा अब ९ जनाबीच प्रतिस्पर्धा हुने भएको छ ।

धनगढी उपमहानगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका नृपबहादुर वड, नेकपा (एमाले) का रणबहादुर चन्द, जनता समाजवादी पार्टीका कवीन्द्र ऐर, नागरिक उन्मुक्ति पार्टीका नीमकुमार चौधरी, लोकतान्त्रिक समाजवादीका बसन्तबहादुर विश्वकर्मा र सचेत पार्टी नेपालका भारती थापा उम्मेदवार छन् । यस्तै स्वतन्त्रबाट गोपाल हमाल, उद्धवराज पन्त र मदनकृष्ण भट्ट मेयर पदका उम्मेदवार छन् ।

वडा नम्बर १४ मा माओवादी केन्द्रबाट अध्यक्ष पदका उम्मेदवार कृष्णराज गिरी, वडा सदस्यका उम्मेदवार प्रेम पुलामी र मानकुमारी बस्नेत तथा एकीकृत समाजवादीका भरत घर्ती र रिता विश्वकर्माले पनि उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन कार्यालयले जनाएको छ ।

स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दिएकाहरूका लागि शुक्रबार ५ बजेसम्म उम्मेदवारी फिर्ता लिन पाउने समय निर्धारण गरिएको थियो । स्थानीय निर्वाचनका लागि ११ र १२ गते मनोनयन दर्ता भएको थियो । निर्वाचन आयोगले शनिबार उम्मेदवारलाई चुनाव चिह्न प्रदान गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *