विराटनगरमा गठबन्धन दलको मेयरको बागी फिर्ता, उपमेयरको भएन

विराटनगर । सत्ता गठबन्धन भित्रैबाट बागी परेकोमा मेयरको उम्मेदवारी फिर्ता भएपनि उपमेयरको उम्मेदवारी भने फिर्ता भएन ।

विराटनगरमा गठबन्धन दलहरूले महिलालाई ठाउँ नदिएको भन्दै उपमेयरमा माओवादीकी नमिता न्यौपानेले मनोनयन दर्ता गरेकी थिइन् । मनोनयन दर्ता फिर्ता लिने समयसम्म विराटनगर महानगरपालिकामा २३ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । गठबन्धन गरेको जनमोर्चा सहित परिवार दलले पनि उम्मेदवारी फिर्ता लिएको छ । उम्मेदवारी फिर्ता लिनेमा राष्ट्रिय जनमोर्चाका टंग प्रसाद गौतम रहेका छन् । राष्ट्रिय जनमोर्चाले सरकार सम्बद्ध दलहरूको बिचमा गठबन्धन गरेको थियो ।

त्यस्तै, नेकपा एमालेसँग गठबन्धन गरेको परिवार दलले पनि आफ्नो उम्मेदवारी फिर्ता लिएको छ। मेयरका उम्मेदवार महेश निरौला र उपमेयर दिपा पोखरेलले मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकार हेमबहादुर बुढाथोकीले जानकारी दिए ।

त्यस्तै, गठबन्धन उल्लङ्घन गर्दै नेकपा माओवादीकी नेतृ केमुना ओडारीले मेयरमा उम्मेदवारी दिएकी थिइन् । उनले पनि आफ्नो उम्मेदवारी फिर्ता लिएकी छिन् । उपप्रमुखमा उम्मेदवारी दिएका उद्धव कोइरालाले स्वतन्त्र रूपमा दिएको उम्मेदवारी फिर्ता लिएका छन् । उनी नेपाली काँग्रेस निकटका हुन् ।

उता वडा अध्यक्षमा ८ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । गठबन्धनबाट विरोध जनाएका र असन्तुष्टहरूले बागी उम्मेदवारी दर्ता गराएका थिए । उम्मेदवारी फिर्ता लिनेहरूमा विराटनगर १ बाट रामु कामत , १२ वडाबाट मञ्जु साह सुँडी, वडा नम्बर ८ बाट मोहम्मद सद्दाम हुसेन, वडा नम्बर १० बाट परिवार दलका अमित सुवेदी, वडा नम्बर २ बाट दिलाशा पोखरेलले उम्मेदवारी फिर्ता लिएका हुन् । वडा नम्बर ५ का गणेशप्रसाद दंंगाल, शुभम् निरौला र वडा नम्बर ३ बाट माओवादीबाट वडा अध्यक्षमा उम्मेदवारी दिएका कृष्णप्रसाद निरौलाले पनि उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

त्यस्तै सदस्यहरूमा कृष्ण दाहाल, शिपालाल यादव, किरण मेहता, अमरलाल दाश तत्मा, जनमत पार्टीका नारायण कामत, नेकपा एसकी मिना कुँवर, नारायण यादव, मोहनप्रसाद साह, नेकपा एसकी निर्मला राम र नेकपा एसकै मोहम्मद सलिम मियाँले पनि उम्मेदवारी फिर्ता लिएका हुन् ।

उपमेयरमा माओवादीले उम्मेदवारी फिर्ता लिएन
केन्द्रको दबाबको बाबजुद पनि विराटनगर महानगरपालिकाको उपप्रमुखमा माओवादी केन्द्रकी महानगरपालिका सचिव नमिता न्यौपानेले उम्मेदवारी दर्ता फिर्ता लिइनन् । उनले आफ्नो उम्मेदवारी पार्टीको तर्फबाट नभई स्वतन्त्र रहेको बताइन् ।

माओवादीकै तर्फबाट ओडारीले मेयरमा दर्ता गराएको उम्मेदवारी फिर्ता लिइरहँदा उपमेयरको उम्मेदवारी भने फिर्ता भएको छैन । पार्टीले उम्मेदवार बनाउन महिला समावेशीताको कुरालाई ध्यान नदिएको भन्दै आफूले स्वतन्त्र उम्मेदवारी दिएको बताइन् ।

‘पार्टीबाट उम्मेदवारी फिर्ता गराउनको लागि चर्को विरोध आइरहेको आएको थियो, उनले भनिन्, मैले पहिला नै पार्टीलाई राजीनामा दिइसकेकोले महिलाको मुद्दा स्थापित गराउन उम्मेदवारी फिर्ता लिन सकिन ।’

प्रतिक्रिया

One thought on “विराटनगरमा गठबन्धन दलको मेयरको बागी फिर्ता, उपमेयरको भएन

Leave a Reply

Your email address will not be published. Required fields are marked *