आकाश छोएका साहसी आमाहरूकाे कथा (भिडिओ)

स्नेह र करुणाकी खानी हुन् आमा । याे सारा सृष्टि चक्रलाई निरन्तरता दिनसक्ने, वात्सल्य र कोमलताको प्रतीक पनि हुन् आमा । कोमलताकै कारण शुर, वीर र पराक्रमी कार्य यिनै आमा अर्थात् नारीले गर्न सक्दैनन् भन्ने गलत मान्यता आज पनि पुरुषप्रधान समाजमा व्याप्त छ । तर, समाजमा यस्ता पराक्रमी र जोखिमपूर्ण काम समेत कुशलताका साथ पूरा गरिरहेका नारीहरू छन् । जसलाई पितृसत्तात्मक समाजले मूलधारमा ल्याउन चाहँदैन वा ल्याएकाे छैन ।

एक छोरी, पत्नी, बुहारी र आमाजस्ता अनेक पारिवारिक भूमिका निर्वाह गरेर पनि आफ्नाे पेशागत करिअर अघि बढाउँदै छन् आजका नारीहरू । अनेक दायित्वबीच आकाशमा जहाज उडाइरहेका र उडाउन सहयोग गरिरहेका पराक्रमी यस्तै ३ आमाहरूकाे बहुभूमिकालाई हामीले मातातीर्थ औंशीको यो पावन असरमा मकालु खबरमार्फत् उजागर गर्ने कोसिस गरेका छौँ । कर्मले अनि सम्मानले आकाश छोएका उनै आमाहरूको कथा उहाँहरूकै शब्दमा –

भिडिओ

‘ककपिट’मा बसिसकेपछि परिवार र सन्तान बिर्सेर मेरो ध्यान प्लेन र यात्रुमै केन्द्रित हुन्छ
यशोधरा थापा
क्याप्टेन, बुद्ध एअर प्रालि
म पोखरामा जन्मेर हुर्केको । पोखराकै सेन्ट मेरिज विद्यालयमा पढेकी हुँ । सानैदेखि ममा एउटा नेतृत्वकर्तामा हुनुपर्ने जस्तो व्यवहार (कमान्डिङ बिहेभियर) थियो । पढाइमा राम्रो थिएँ । प्रत्येक कक्षामा कक्षाको ‘क्याप्टेन’को भूमिकामा रहेँ । पछि ‘हेड गर्ल’ पनि भएँ । खेलकुदमा पनि उत्तिकै रुचि र दख्खल थियो । म ‘टम ब्याय टाइप’ को बालिका थिएँ ।

पढाइ, खेलकुद र अन्य क्रियाकलापलाई सँगै अघि बढाएको थिएँ । पछि गएर प्लेन उडाउने क्याप्टेन (पाइलट) नै बन्छु भन्ने थिएन । पढ्दै गएँ ।

म बाबा आमाको एक्लो सन्तान हुँ । त्यतिबेला समाजमा सन्तानको रूपमा छोरा हुनुलाई अनिवार्य जस्तो मानिन्थ्यो । तर, मेरा बाबा आमाले पनि म लाइँ ‘तँ छोरी होस्, यो गर्नु हुन्न, त्यो गर्नुहुन्छ भनेर कहिल्यै भन्नु भएन । ‘तिमीलाई जुन काम वा पेशामा रुचि छ त्यही नै गर, त्यही नै बन’ भन्ने उहाँहरूको भनाइ थियो ।

करिअर छनोटको बेलामा मेरा धेरैजसो साथीहरू डाक्टर पढ्ने भनेर लागे । तर, म छोराले भन्दा राम्ररी मेरा बाबा आमाको शीर उँचो बनाउँछु भन्ने नै सोच्थेँ । त्यसै अनुसार म पाइलट नै बन्छु र केटीले पनि केटाले जस्तै साहसिक काम गर्न सक्छ भनेर देखाउँछु भनेर लागेँ । बाबा आमाको शिर उँचो बनाउँछु भनेर यो पेशामा आउने अठोट गरेर यही विषयको पढाइमा लागेँ ।

बाबाआमाले पनि ‘तँ एक्लो छोरी हो, फ्लाइङमा नजाऊ, यो डरलाग्दो क्षेत्र हो’ भनेर कहिल्यै भन्नु भएन । ‘तिमीलाई रुचि छ भने जाउ पढ’ भनेर नै भन्नु भयो । मैले यो विषय पढेँ । पाइलट भएँ । म अहिले यो क्षेत्रमा रमाएर काम गरिरहेको छु । बुद्ध एअरले २० वर्षदेखि मलाई जागिर दिएको छ । बुद्ध एअरप्रति म धेरै नै आभारी छु ।

एउटा क्याप्टेन आमाले आफ्ना छोराछोरीलाई दिनुपर्ने समय भने अलि कम भएको छ । मेरो श्रीमान टिचिङ अस्पतालको डाक्टर हुनुहुन्छ । हामी दुबैको समय कम हुने भएकोले अलि गाह्रो भयो । आमाले गर्नुपर्ने काम कता कता छुटेको हो कि भन्ने लाग्छ । तर, प्लेन उडाउन ‘ककपिट’मा बसिसकेपछि मलाई परिवार र छोराछोरीको याद आउँदैन । मेरो ध्यान पूर्ण रूपमा प्लेन र त्यसभित्र रहेका यात्रुको सुरक्षित यात्रामै केन्द्रित हुन्छ ।

हाम्राे काममा मौसमले निकै ठूलो अर्थ राख्छ । त्यसो हुँदा मौसमका कारण उडान तालिकाहरू ढिलो हुने हुन्छ । ढिलो हुँदा निश्चित सयममा उडान अवतरण गरेर घर आउन भ्याइँदैन । बिहान उडान हुँदा साढे ५ बजे नै घरबाट निस्किनु पर्छ । बेलुका घर पुग्दा ढिलो हुनसक्छ । त्यसो हुँदा कामकाजी आमाहरूका लागि पेशा र काम सँगै अघि बढाउन गाह्रो नै हुन्छ । तर, परिस्थितिहरूलाई आफू अनुकुल बनाउँदै लैजानुपर्छ । सक्दो बढी सयम छोराछोरी र परिवारलाई दिने काेसिस गरिरहेको छु । मेरो बाबा आमाले पनि मेरा छोराछोरीलाई हेर्ने धेरै सहयोग गर्नुभएको छ ।

युनिफर्म लगाएर प्लनेभित्र छिरेपछि यात्रुलाई नै सन्तान सम्झिन्छु
अञ्जना कश्पाल
विमान परिचारिका, बुद्ध एअर प्रालि
विद्यालयको कक्षा १ मा पढ्दै गर्दा मलाई असाध्यै माया गर्नुहुने एकजना शिक्षक हुनुहुन्थ्यो । उहाँ चाहिँ पछि ‘क्याबिन क्रु’का रूपमा कतार एअरवेजमा जानुभयो । उहाँले मलाई पढाउन छोडेपछि मलाई अरू शिक्षकसँग पढ्न र घुलमिल हुन निकै गाह्रो भएको भनेर बाबा आमाले भन्नुहुन्थ्यो । ५/६ कक्षा पढ्दासम्म पनि म उहाँ जस्तै ‘क्याविन क्रु’ हुन्छु भन्थेँ । यो विषय यस्तै भयो । पछि ठूलो हुँदै गएपछि बिर्सिएँ । प्लस टुको परीक्षा सकेपछि एकजना साथीले मलाई ‘लिफ्लेट’ दिइन् । त्यसमा एअर होस्टेसको तालिम, होटल म्यानजेमेन्टको तालिम जस्ता विषय थियो ।

त्यो हेरेपछि मलाई पहिला बच्चामा ‘क्याविन क्रु’ बन्छु भन्ने गरेको स्मरण भयो । त्यसपछि मैले इन्टिच्युटमा तालिम लिएँ । राष्ट्रिय र अन्तर्राष्ट्रिय हवाई कम्पनीहरूमा एअर होस्टेसका लागि आवेदन दिएँ । त्यपपछि बुद्ध एअरमा म छनोटमा परेँ ।

आमा बाबाले यो पेशामा आउन सँधै सहयोग गर्नुभयो । तर, मेरा हजुरबुबा र हजुरआमाले भने यो पेशामा नजाउ भन्ने गर्नुभएको थियो । साउनमा मैले ट्रेनिङ सकेपछि असोजतिर लुक्लामा एउटा एक्सिडेन्ट भएको थियो । त्यसपछि हजुरबुबाहरूले अहिले असहज मान्नु भएको थियो । पछि उहाँहरूलाई मनाएपछि सहज मान्नु भयो ।

एक आमा भएको हिसाबले काम गर्दा बच्चाको याद आउनु स्वाभाविक हो । तर, युनिफर्म लगाएर प्लेनभित्र बसिसकेपछि एउटा गन्तव्यबाट अर्को गन्तव्यसम्म यात्रुलाई सहयोग गर्ने हाम्रो दायित्वमा हामीले घरपरिवार, सन्तान सबैलाई बिर्सिएर काम गरिरहेका हुन्छौँ । ससाना नानीबाबु यात्री देख्दा वात्सल्य प्रेम झन् बढेर आउँछ ।

कहिलेकाहीँ प्लेनभित्र अस्वाभाविक अवस्था सिर्जना भए यात्रुलाई सुरक्षाको विषयमा आश्वस्त पार्ने दायित्व पनि हाम्रो हो । हामीले तालिममा यी सबै सीप सिकेका हुन्छौँ । त्यसो हुँदा यात्रुलाई सहज रूपमा सुरक्षित गन्तव्यमा पुर्‍याउन सघाइरहेका हुन्छौँ । त्यो नै हाम्रो कर्तव्य बन्छ ।

अफिसलाई नै घर परिवार सम्झेर काम गर्छु
पद्मा बस्नेत
ग्राउन्ड ह्यान्डलिङ अफिसर, बुद्ध एअर प्रालि
स्कुलमा म राम्रो विद्यार्थी थिएँ । मलाई एअर होस्टेस बन्ने रुचि थियो । तर, मलाई बाबाले डाक्टर बनाउन चाहनुहुन्थ्यो ।

प्लसटू पास गरेपछि बाबाको चाहना अनुसार मैले साइन्स पढेँ । मेरो विवाह भयो । विराटनगरमा बस्थ्यौँ । बुद्ध एअरमा काम सुरु गरेँ । मेरो छोरोछोरीले स्कुलले शिक्षा पूरा गरेपछि हामी विराटनगरबाट काठमाडौँ सरुवा भयौँ । मैले बुद्ध एअरमा काम गर्न थालेको २० वर्ष भइसकेको छ । मैले यहाँ ग्राउन्ड ह्यान्डलिङको काम गरिरहेको छु । कामको क्रमाम धेरै यात्रुसँग धेरै नै हाम्रो अन्तरक्रिया हुन्छ ।

धेरै किसिमका धेरै ठाउँका यात्रुसँग मेरो भेट हुन्छ । भूगोल र मौसमका कारण उडान ढिलो हुँदा हाम्रो काम पनि ढिलोसम्म हुन्छ । यस्तो अवस्थामा राति अबेर घर पुग्दा साना नाबीबाबुलाई राम्रैरी हेरचाह गर्न र उनीहरूसँग समय बिताउन भ्याइँदैन । त्यसो हुँदा अफिसको काम र घरपरिवार तथा सन्तानको दायित्वलाई सँगै लिएर अघि बढ्न त्यती सजिलाे भने हुँदैन ।

तर, अफिस आइसकेर काममा लागेपछि मैले अफिसलाई नै घर सम्झिन गरेको छु । यात्रुको सेवालाई नै आफ्ना सन्तानको सेवा जस्तै ठान्ने गरेको छु ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *