को–को हुन् पोखरामा गठबन्धनका बागी उम्मेदवार ?

पोखरा । विद्रोही उम्मेदवारलाई समयभित्रै उम्मेदवारी फिर्ता नलिए प्रस्तावक र समर्थक समेतलाई स्वतः निष्कासन गर्ने कांग्रेसको केन्द्रीय उर्दी छ ।

पोखरा महानगरमा ३ जनाले गठबन्धन विरुद्ध मेयरमा उम्मेदवारी दिएका छन् । नेताहरू नन्द तिवारी, ऋषि सापकोटा र विमल कार्कीले मेयरमा उम्मेदवारी दिएका हुन् । उनीहरूले कांग्रेसलाई अरु चिन्हमा मत हाल्न बाध्य पारेको पार्टीको निर्णय विरुद्ध उम्मेदवारी दिएको बताएका छन् ।

पार्टीको उर्दीपछि पनि उनीहरूले अहिलेसम्म उम्मेदवारी फिर्ता लिएका छैनन् । उनीहरू कसैले पनि अहिले फोन उठाएका छैनन् । सापकोटाको प्रस्तावकमा विष्णु बहादुर कार्की र समर्थकमा ठाकुरप्रसाद बराल छन् । तिवारीको प्रस्तावकमा ठाकुरप्रसाद कँडेल र समर्थकमा राधिका तिवारी छन् । कार्कीले प्रस्तावकमा फडिन्द्र कार्की र समर्थकमा खीमबहादुर घर्तीलाई राखेका छन् ।

तर उनीहरूको प्रस्तावक र समर्थक पार्टीको संगठित सदस्य हो वा होईन, कांग्रेससँगै विवरण छैन् । ‘बागी उम्मेदवारी दिएकाहरूको प्रस्तावक र समर्थक हामीलाई अहिलेसम्म जानकारी छैन,’ कास्की कांग्रेस सचिव भानुभक्त ढकालले भने, ‘पार्टीको केन्द्रीय निर्देशन आएको छ । हामी सल्लाह गर्दैछौँ ।’

पोखरामा गठबन्धनबाट एकीकृत समाजवादीका नेता धनराज आचार्यलाई मेयर उठाईएको छ । उपमेयरमा भने कांग्रेस नेतृ कोपीला रानाभाट उठेकी छन् । मेयरमा बागी दिएका तीनैजना कांग्रेसका क्रियाशील सदस्य तथा विभिन्न पदमा जिम्मेवारी लिएर बसेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *