उम्मेदवार बन्न २२ वर्ष पछि पेस्की फर्छ्यौट

धरान । झण्डै २२ वर्षअघि पेस्की लिएर फरफारक नगरेका नेपाली कांग्रेसबाट मेयरका उम्मेदवार किशोर राईले उम्मेदवारी दर्ताका दिन पेस्की बापतको रकम बुझाएका छन्।

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा मेयरको उम्मेदवार हुने भएपछि उनले पहिलो पेस्की लिएको २२ वर्षपछि रकम बुझाएका हुन्।
राईको नाममा २०५६ साल असोज १२ गते देखि २०६७ वैशाख २७ गतेसम्म विभिन्न समयमा लिएको पेस्की बाँकी रहेको धरान उपमहानगरपालिकाको जनाएको छ। उनीसँग ११ वर्षको अवधिमा पटकपटक लिएको कुल १ लाख ३ हजार ४ सय रुपैयाँ पेस्की लिएको देखिन्छ।

लामो समयदेखि पेस्की फर्छ्यौट नगरेको विषयमा पटकपटक समाचार आउँदै गरेपनि फर्छ्यौट गर्न बेवास्ता गर्दै आएका थिए। निर्वाचनमा उम्मेदवार बन्न पेस्की बक्यौता भएकोले नपाउने भनेपछि उनले पेस्की रकम बुझाएका हुन्। २०५४ सालको निर्वाचनमा १२ नं वडाबाट वडा सदस्य जितेका राईको जनप्रतिनिधि भएदेखि विभिन्न खेलकुदको कार्यक्रममा पेस्की देखिएको थियो। उपमहानगरपालिकाले पटकपटक पेस्की फर्छ्यौट गर्न ताकेता गरेको थियो। उनले विभिन्न समयमा रकम फर्छ्यौट गरेको भएपनि पूरा रकम फर्छ्यौट गरेका थिएनन्।

उनलाई धरान उपमहानगरपालिकाको पेस्की फर्छ्यौट गर्न गरेको पत्राचार अनुसार उनले २०५६ असोज १२ गते पहिलोपटक साफ खेल अध्ययन तथा अवलोकन गर्न २ हजार ५ सय रुपैयाँ पेस्की लिएका थिए। त्यसपछि २०५७ साल असार १८ गते काठमाडौँ जान लिएको भ्रमण पेस्कीमध्ये फर्छ्यौट कट्टा गरी बाँकी रहेको ४ सय, सोही सालको भदौ ८ गते खेलकुद कार्यक्रमको लागि ६ हजार ५ सय, असोज ४ गते वडा नम्बर १२ को ड्रेन सफाइ गर्न ३ हजार, असोज २७ गते बुढासुब्बा गोल्डकपको लागि काठमाडौँ जानकोलागि भ्रमणमा १० हजार, पुष १७ गते काठमाडौँ भ्रमणमा ३ हजार ५ सय लिएका थिए।

त्यसैगरी, २०५८ साल भदौ २४ गते पुनः काठमाडौँ जान भ्रमण ६ हजार, फागुन १० गते काठमाडौँ जान ५ हजार, २०५९ असार ३१ गते खेलकुद मन्त्रालय जान भ्रमण ६ हजार ५ सय, २०६५ भदौ ३० गते गोल प्रोजेक्ट उद्घाटन कार्यक्रमका लागि पेस्की १० हजार र अन्तिम पेस्की २०६७ वैशाख २७ गते जनजाति कल्याण आश्रम भवन निर्माण गर्न ५० हजार रुपैयाँ गरी कुल १ लाख ३ हजार ४ सय रुपैयाँ पेस्की रहेको थियो।

उपमहानगरले दिएको तथ्यांकअनुसार उनले मनोनयन दर्ता गर्ने पहिलो दिन गत आइतबार भौचर नम्बर १२६३ बाट वडा सदस्य किशोर राईको नाममा रहेको पेस्की रकम प्राप्त बैंक भौचर नं १०१५६ तथा १०२१५ अनुसार ७९ हजार ४ सय रुपैयाँ फर्छ्यौट गरेका हुन्। वैशाख १२ गते सोमबार विभिन्न चेकमार्फत् बाँकी २४ हजार भुक्तानी गरेको नगरपालिकाले जनाएको छ।

कार्यालयका अनुसार गत सोमबार भौचर नम्बर १२६८ बाट तत्कालीन १२ नम्बर वडाअध्यक्ष किशोर राईको मिति २०५७।०६।०४ को ढल सफाइ कार्यको पेस्की संलग्न भरपाई तथा अर्थ तथा सार्वजनिक लेखा समितिको सिफारिसका आधारमा फर्छ्यौट भएको ३ हजार, भौचर नम्बर १२६९ बाट किशोर राईको नाममा रहेको पेस्की रकम फर्छ्यौट गरिएको १० हजार र १२७४ भौचर नम्बरबाट किशोर राईको नाममा रहेको पेस्की प्राप्त आम्दानी भौचर नं १०२६३ को आधारमा फर्छ्यौट गरिएको ११ हजार रहेको उपमहानगरले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *