भ्रष्टाचार नगर्ने किरिया खान मन्दिर पुगे धनगढी मेयरका स्वतन्त्र उम्मेदवार

धनगढी । धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उठेका उम्मेदवार गोपाल हमाल भ्रष्टाचार नगर्ने किरिया खान मन्दिर पुगेका छन्।

यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा धनगढी उपमहानगरपालिकाको मेयरका लागि स्वतन्त्र उम्मेदवारी दिएका गोपाल हमालले चुनाव जितेपछि एक रुपैयाँ पनि भ्रष्टाचार नगर्ने भन्दै मन्दिर पुगी किरिया (कसम) खाएका छन्। आज बिहीबार धनगढी उपमहानगरपालिका वडा नम्बर १६ मा रहेको प्रसिद्ध धार्मिकस्थल बेहडाबाबा मन्दिरमा गएर उनले भ्रष्टाचार नगर्ने भन्दै किरिया खाएका हुन्।

आफ्नो बारे विपक्षले बजारमा हमालले जिते लाख होइन सिधै करोडौँ भ्रष्टाचार गर्छ भनेर अफवाह फैलाएपछि आफूले आस्था राख्ने मन्दिरमा आई सार्वजनिकरूपमा एक रुपैयाँँ पनि भ्रष्टाचार नगर्ने किरिया खाएको उनको भनाइ छ। आफूलाई धनगढीले सबथोक दिएको त्यसको बदलामा आफूले धनगढीलाई केही योगदान दिने उद्देश्यका साथ मेयरमा उम्मेदवारी दिएको हमालले बताएका छन्।

हमालले यसअघि मेयरमा जिते नगरपालिकाबाट कुनै पनि सेवासुबिधा नलिने घोषणा गरिसकेका छन्। यसअघि उनी २०७४ को स्थानीय चुनावमा पनि स्वतन्त्रबाट धनगढीको मेयरमा झिनो मतान्तरले पराजित भएका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *