इटहरी उपमहानगरको चुनाव; शालीन सुब्बा र आक्रामक पौडेल

विराटनगर । प्रदेश १ को दोश्रो ठूलो सहर इटहरी।

पूर्वपश्चिम राजमार्गबाट धरान र विराटनगरतर्फ मोडिने मुख्य नाकामा रहेको इटहरी उपमहानगरपालिका पहिलेको इटहरी नगरपालिका, हाँसपोसा, खनार, पकली र एकम्वा गाविस मिलेर उपमहानगर बनेको हो। इटहरी उपमहानगरपालिका स्थानीय तहको निर्वाचनमा चर्चामा छ। केन्द्रीय गठबन्धनबाट नेपाली कांग्रेसका हेकमर्ण पौडेल र नेकपा एकिकृत समाजवादीबाट उपमेयरमा केशवकुमार विष्ट चुनावी मैदानमा छन्। नेकपा एमालेबाट यामकुमार सुब्बा मेयरमा र उपमेयरमा संगिता चौधरी छिन्।

इटहरीको राजनीति
अघिल्लो स्थानीय तहको निर्वाचनको परिणाम नै हेर्ने हो भने पनि कांग्रेसका उम्मेदवार रोहित प्रसाईं जम्मा २ हजार ७०४ मतले मात्रै पराजित भएका थिए। त्यो बेला एमालेका उम्मेदवार द्वारिकलाल चौधरी इटहरीको मेयर भए। एमालेको गढ मानिने इटहरीमा कांग्रेस अहिले शक्तिशाली रूपमा उदाएको छ। वामपन्थी राजनीतिबाट कांग्रेसको राजनीतिमा आएका हेमकर्ण पौडेल अहिले कांग्रेसका इटहरीका उम्मेदवार हुन्।

अहिले मेयरको दाबेदार बनेका कांग्रेस नेता पौडेल अघिल्लो प्रदेश सभाको निर्वाचनमा एमालेका सर्वध्वज साँवासँग पराजित भएका थिए। साँवा अहिले प्रदेशसभा सदस्य छन्। जनता क्याम्पसमा २०५४ सालमा नेपाल विद्यार्थी संघको तर्फबाट सभापति जितेपछि इटहरीको राजनीतिमा पौडेल लगातार अग्रपंक्तिमा छन्। उनी इटहरीको तीन कार्यकाल सभापति बनिसकेका व्यक्ति हुन्।

एमालेका तर्फबाट विगतमा इटहरीको नेतृत्व सम्हालेका सर्वध्वज साँवा र द्वारिकलाल चौधरीको विरासत जोगाउने दायित्व याम सुब्बाको काँधमा आएको छ। वि.सं. २०३४ सालबाट अनेरास्ववियु इकाइ कमिटी सदस्य भएसँगै लगातार वामपन्थी आन्दोलनमा लागेका सुब्बा २०६२ सालमा इटहरी नगर कमिटी सचिव भएका थिए। २०६९ सालमा नगर अध्यक्षमा निर्वाचित भएका सुब्बाकै नेतृत्वमा अहिले इटहरीमा एमाले पार्टी अघि बढेको छ। कानुनमा स्नातक गरेका सुब्बा राजनीतिमा शालिन स्वाभावको मानिन्छन्। उनको त्यही शालीनता अहिले सबैका लागि चर्चाको विषय भएको छ।

इटहरी उपमहानगरमा हाँसपोसा, पकली, एकम्बा र खनार मिलेरपछि थारुहरूको संख्या ह्वात्तै बढ्यो। यो पालिका अहिले थारुहरूको बाहुल्यता रहेको पालिकामा पर्छ। करिब ४० प्रतिशतको हाराहारीमा थारुहरू रहेको बताइन्छ। यसरी हेर्दा इटहरीमा थारु समुदायको मत बलियो देखिन्छ। अहिले पनि इटहरीको भोट द्वारिकलाल चौधरीको इशारामा चल्ने चर्चा परिचर्चा हुने गरेको पाइन्छ। यसपटक एमालेले उपप्रमुखमा थारु समुदायबाट संगीता चौधरीलाई अगाडि सारेको छ। गठबन्धनबाट प्रमुख पदमा थारु समुदायबाट कसैले पनि मौका दिएको देखिँदैन। यसले एमालेलाई फाइदा पुग्न सक्ने देखिएको छ।

इटहरीमा एमाले, जसपा र राप्रपाबाट प्रमुख पदमा जनजाति उम्मेदवार छन्। एमालेबाट याम सुब्बा बाहेक राप्रपाबाट आकाश सुब्बा र जसपाबाट डिल्ली सुब्बाले प्रमुखमा मनोनयन दर्ता गरेका छन्। यस्तो अवस्थामा जनजातिको मत कता धेरै खस्छ यकिनसाथ भन्न सक्ने अवस्था भने छैन। थारुपछि जनजातिको प्रभाव पनि इटहरीमा बलियो देखिने भएकोले ती भोटले कसको पल्ला भारी बनाउने हो यसै भन्न सकिने अवस्था देखिँदैन।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *