दाङका दुई उपमहानगरपालिकामा १५ महिला उम्मेदवार

काठमाडौँ । आसन्न स्थानीय तह निर्वाचनका लागि जिल्लाका दुई उपमहानगरपालिकाका प्रमुख पदमा ६ र उपप्रमुखमा नौ महिला चुनावी मैदानमा उत्रिएका छन्।

मुख्य निर्वाचन अधिकृतको कार्यालय दाङका अनुसार तुलसीपुर उपमहानगरपालिकामा नगरप्रमुखमा तीन र घोराही उपमहानगरपालिकाको प्रमुखमा तीन महिलाले उम्मेदवारी दिएका छन्। तुलसीपुरको उपप्रमखुमा चार र घोराहीको उपप्रमुखमा पाँच महिला उपप्रमुखमा प्रतिस्पर्धा गर्दैछन्। तुलसीपुरमा नगर प्रमुखमा जगधनी चौधरी राष्ट्रिय प्रजातन्त्र पार्टीबाट, जया घर्तीमगर मङ्गोल नेशनल अर्गनाइजेसन पार्टी र प्रभा चौधरी नागरिक उन्मुक्ति पार्टीबाट उम्मेदवार रहेको निर्वाचन अधिकृत राजेश्वर अर्यालले जानकारी दिए।

त्यस्तै, तुलसीपुर उपमहानगरको उपप्रमुखमा नेकपा (एमाले)बाट स्यानी चौधरी, नेकपा (माओवादी केन्द्र)बाट मनकुमारी महत, जनता समाजवादीबाट धनसरा विक र नेकपा (माक्सवादी लेनिनवादी)बाट फग्री चौधरी चुनावी प्रतिस्पर्धामा छन्। तुलसीपुर नगरको प्रमुखमा १२ जनाको उम्मेदवारी परेको छ भने उपप्रमुखमा ९ जना छन्।

यस्तै, घोराही उपमहानगरपालिकाको नगरप्रमुखमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट सरिता देवकोटा, मङ्गोल नेशनल अर्गनाइजेसनबाट कल्पना चौधरी र नागरिक उन्मुक्ति पार्टीबाट शान्ता चौधरी चुनावी मैदानमा रहेको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिए। उपप्रमुखमा एमालेबाट हुमा डिसी, एकीकृत समाजवादीबाट शोभाकुमारी शाह, विवेकशील साझा पार्टीबाट लक्ष्मी जिएम, नेकपा (माक्सवादी)बाट राधिका क्षेत्री र स्वतन्त्रबाट वसन्ताकुमारी भट्टराई चुनावी मैदानमा छन्। सो पालिकामा नगरप्रमुखमा १५ र उपप्रमुखमा आठजनाको मनोनयन दर्ता भएको छ।

दुवै उपमहानगरपालिकाको प्रमुख र उपप्रमुखमा पाँच दलीय गठबन्धनले महिलालाई उम्मेदवार बनाएका छैनन् भने नेकपा एमालेले दुवै उपमहानगरपालिकामा उपप्रमुखमा महिलालाई उम्मेदवार बनाएको छ। उन्नाइस वडा रहेको तुलसीपुर उपमहानगरमा पाँच दलीय गठबन्धन र नेकपा एमालेले महिलालाई वडाध्यक्षमा उठाएको छैन। समाजवादी पार्टीले वडा नं ६ बाट गीता देवकोटालाई, राष्ट्रिय जनमुक्ति पार्टीले वडा नं ४ बाट लीला पहाडीलाई र राष्ट्रिय प्रजातन्त्र पार्टीले वडा नं १४ बाट जानुका पोख्रेललाई वडाध्यक्षमा उठाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *