जसपाबाट महिलामाथि अपमान गर्ने काम भयो : उपमेयरकी प्रत्याशी कार्की

विराटनगर । नेकपा एमालेबाट विराटनगर महानगरपालिकाकी उम्मेदवार शिल्पा निराला कार्कीले जसपाको उम्मेदवारबाट महिलामाथि अपमानित हुने खालको प्रचार गरेको आरोप लगाएकी छन् ।

निर्वाचन आयोगमा गलत उजुरी दिएर झुठो प्रचार गरेको भन्दै उनले यसलाई जनता समाजवादी पार्टीका उम्मेदवारले महिलामाथिको अपमान गरेको बताएकी हुन् । विराटनगरमा नेकपा एमालेले उम्मेदवारसँग परिचयात्मक कार्यक्रमलाई सम्बोधन गर्दै कार्कीले उम्मेदवारी दर्तासँगै महिलामाथिको आक्रमण शुरु भएको बताइन् । ‘गठबन्धनको नाममा महिलालाई उम्मेदवार हुन नदिने अनी एमालेले महिलाको संरक्षण गरेर उम्मेदवार बनाउँदा गलत प्रचार गर्ने काम भएको छ, कार्कीले भनिन्, यो महिलाहरू माथिको गम्भीर अपमान हो ।’

उम्मेदवारी दिनुभन्दा पहिला नै राजीनामा दिनुपर्छ भन्ने मलाई राम्रोसँग थाहा छ, कसैले गलत प्रचार गरेर निर्वाचन आयोगमा उजुरी दिँदैमा डराउनु पर्ने अवस्था नरहेको उनले बताइन् ।
‘मनोनयन दर्ता गराउनु भन्दा अघि नै राजीनामा दिनु पर्छ भन्ने मलाई थाहा छैन र ?’, उनले प्रश्न गर्दै भनिन्, ‘९ गते राजीनामा दिएको हो, ११ गतेको मितिमा राजीनामा दर्ता भइरहेको छ ।’ कार्की माथि कोशी अस्पताल विकास समितिमा बसेर सरकारी सेवा सुविधा लिएको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा जसपाका उपमेयरका उम्मेदवार अमरेन्द्र यादवले उजुरी दिएका थिए ।

गलत उजुरी दिएको भन्दै कार्कीले अस्पताल विकास समितिको सदस्यमा नियुक्त भएको अवधिदेखि छाडेको दिनसम्म पनि कुनै पनि शीर्षकमा एकरुपैयाँ पनि कोशी अस्पतालबाट नलिएको ठोकुवा गरिन् । उनले उपमेयरमा विजयी भएपछि पनि महानगपपालिकाको उपमेयरको हैसियतमा पाउने सुविधा नलिने पनि घोषणा गरिन् ।

उनले महानगरपालिकामा सेवा मात्र गरेर देखाउने दाबी गरिन् । ‘कोशी अस्पतालबाट मैले एक रुपैयाँ पनि लिएको छैन, उनले भनिन्, आजै गएर बुझ्नुस् कुनैपनि मिटिङको भत्ता बुझेको छैन, नेकपा एमालेले मलाई त्यहाँ जागिर खान पठाएको हैन ।’ एमालेले महिलालाई उम्मेदवार उठाएपछि महिलामाथिको आक्रमण र अपमान शुरु भएको उनले बताइन् ।

महिलामाथिको आक्रमण उजुरीबाट शुरु भएकालेले यो आक्रमण भोलिमा दिनमा पनि भइरहने भएकोले महिलाहरू एक भएर लाग्न उनले सबैलाई आग्रह गरिन् । गठबन्धनको नाममा महिलालाई उम्मेदवार नबनाएको भन्दै कांग्रेस निकट महिलाहरू मनोनयन दर्तामा गएका थिएनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *