प्रदेश १ : १३ पालिका प्रमुखमा महिला उम्मेदवार, एमालेबाट मात्र १० जना

विराटनगर । गठबन्धन दलभित्र समावेशिताको मुद्दालाई लिएर महिलाहरू आन्दोलित छन् । प्रमुख वा उपप्रमुखमा महिला अनिवार्य माग उनीहरूको छ । विराटनगर महानगरपालिकामा गठबन्धनको तर्फबाट महिला उम्मेदवार नदिँदा महिला संघमा आबद्ध भएका महिलाहरूले मनोनयन दर्ता नै बहिस्कार गरे ।

पार्टीले महिलालाई उपेक्षा गरेको आरोप उनीहरूको छ । विराटनगर महानगरपालिकामा गठबन्धन गर्दा प्रमुख र उपप्रमुख पदमा पुरुष मात्र भएको उनीहरूको भनाई छ । यो अवस्था वडा अध्यक्षहरूमा पनि देखिएको छ । विराटनगर महानगरपालिकाको कुरा मात्र हैन पालिकाहरूमा पनि न्यूनमात्र महिला प्रमुखमा उम्मेदवार गठबन्धन दलबाट उठाइएको छ ।

नेपाली कांग्रेसले प्रदेश १ का ३ पालिकामा प्रमुख महिलालाई उम्मेदवार बनाएको छ। गठबन्धन भित्रको असन्तुष्टिका कारण धेरै पालिकामा कांग्रेस एक्लैले उम्मेदवारी दिएको छ भने कतिपय पालिकामा माओवादी र कांग्रेसका बिचमा गठबन्धन भएको देखिएको छ । गठबन्धन भएको ठाउँमा महिला प्राथमिकतामा परेका छैनन् ।

नेपाली कांग्रेस प्रदेश १ संसदीय बाेर्डका सदस्य उत्तम चौलागाईँले प्रदेश १ का ३ वटा पालिकामा कांग्रेसले प्रमुख पदमा महिलालाई उम्मेदवार बनाएको बताए । उनका अनुसार हलेसी तुवाचुङ नगरपालिकामा विमला राई, अर्जुनधारा नगरपालिकामा रञ्जीता कार्की र गौरीगञ्ज गाउँपालिकामा फुलमती राजवंशीलाई पालिकाको प्रमुख पदमा उम्मेदवार बनाइएको छ ।

नेपाली कांग्रेसमा नगरपालिकाको उम्मेदवार प्रदेश समितिले टुङ्गो लगाएको हो भने गाउँपालिकाका उम्मेदवारको टुङ्गो जिल्ला समितिले लगाएको हो । नेपाली कांग्रेस प्रदेश समितिका सहमहामन्त्री प्रमीला गच्छदारले दुई नगरपालिकामा महिलालाई प्रमुख बनाइएको भएपनि अरू गाउँपालिकाको विवरण लिन बाँकी रहेको बताइन् ।

एमालेको १० पालिकामा महिला प्रमुख
गठबन्धन भित्र महिलाको विषयमा असन्तुष्टि बढिरहेको बेला महिला बढी देखाएर त्यसको फाइदा एमालेले लिन खोजेको छ । यस वर्षको स्थानीय तहको निर्वाचनमा एमालेले भने प्रमुखमा केही महिलाको सङ्ख्यालाई बढाए छ ।

प्रदेश १ मा एमालेले १० वटा पालिकाको प्रमुखमा महिला उम्मेदवार बनाएको जनाएको छ । एउटा पालिकामा महिला प्रमुख र उपप्रमुख नै उम्मेदवार बनाइएको छ । मोरङको जहदा गाउँपालिकामा प्रमुख र उपप्रमुख नै महिला उम्मेदवार बनेका छन् । मोरङको दुई पालिकामा महिलालाई प्रमुख दिइएको छ ।

झापाको ४ पालिकामा महिला प्रमुखमा उम्मेदवार छन् । त्यस्त खोटाङको २ पालिकामा महिला प्रमुखको लागि उम्मेदवार छन् । सिद्धिचरण नगरपालिका र धरान उपमहानगरपालिकामा पनि महिला प्रमुख पदका उम्मेदवार छन् । नेकपा एमाले प्रदेश १ अध्यक्ष तुलसी न्यौपानेका अनुसार मोरङको १० पालिकामा महिला प्रमुख उम्मेदवार बनेका छन् ।

मोरङको कानेपोखरीमा राजमती इङ्नाम, जहदा गाउँपालिकामा यशोदा गिरी, झापाको दमक नगरपालिकामा गीता अधिकारी, बिर्तामोड नगरपालिकामा पवित्रा महतारा, बुद्धशान्ति गाउँपालिकामा मीरा भुुर्तेल, कचनकवल गाउँपालिकामा दुर्गादेवी नेपालले प्रमुखमा उम्मेदवारी दिएको न्यौपानेले बताए ।

धरान उपमहानगरपालिकामा मञ्जु भण्डारी, खोटाङको खोटेहाङ गाउँपालिकामा कविता राई, वराहपोखरी गाउँपालिकामा गोमा मगरलाई प्रमुखमा उम्मेदवार बनाइएको छ । ओखलढुङ्गाःको शिद्घिचरण नगरपालिकामा इच्छाकुमारी गुरुङलाई प्रमुखमा उम्मेदवार बनाइएको एमाले प्रदेश अध्यक्ष न्यौपानेले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *