सुर्खेतमा दुई हजार बढीको मनोनयन दर्ता

सुर्खेत । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सुर्खेतमा दुई हजार बढीको मनोनयन दर्ता भएको छ।

निर्वाचन कार्यतालिका अनुसार आयोगले वैशाख ११ र १२ गते तोकेको उम्मेदवार मनोनयन दर्ताको अन्तिम मितिसम्म सुर्खेतका नौवटै स्थानीय तहमा दुई हजार दुई सय २९ जनाको उम्मेदवारी दर्ता भएको हो।

सुर्खेतका पाँच नगरपालिकाको प्रमुख पदमा ४८, उपप्रमुखमा ४१, चार गाउँपालिकाको अध्यक्षमा २३ र उपाध्यक्षमा २२ जनाले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका मुख्य निर्वाचन अधिकृत डा. राजेन्द्रकुमार आचार्यले जानकारी दिए। उनका अनुसार उम्मेदवारी दर्ता गराउनेमा जिल्ला निर्वाचन कार्यालय सुर्खेतमा दर्ता भएका दल र स्वतन्त्र उम्मेदवारहरूले मनोनयन दर्ता गराएका हुन्। प्रदेशको राजधानीसमेत रहेको वीरेन्द्रनगरमा प्रमुखका आकांक्षीहरू बढी देखिएका छन्। वीरेन्द्रनगरमा प्रमुख-उपप्रमुखसहित १६ वटै वडामा अध्यक्ष तथा सदस्यहरू गरी जम्मा चार सय ७७ जनाको उम्मेदवारी दर्ता भएको छ।

कहाँ कहाँ कति?

वीरेन्द्रनगर नगरपालिका
यीमध्य वीरेन्द्रनगरको प्रमुख पदमा विभिन्न राजनीतिक दल र स्वतन्त्रगरी १७ जनाको उम्मेदवारी परेको छ। उप–प्रमुखमा १५ जनाको उम्मेदवारी दर्ता भएको मुख्य निर्वाचन अधिकृत आचार्यले बताए। १६ वडा रहेको वीरेन्द्रनगरमा एकसय सात जनाले वडाध्यक्ष पदमा मनोनयन दर्ता गराएका छन्। साथै, महिला वडा सदस्यमा ८५, दलित महिला सदस्यमा ७३ र खुला सदस्यमा एक सय ८० जनाले मनोनयन दर्ता गरेका छन्।

पञ्चपुरी नगरपालिका
११ वडा रहेको पञ्चपुरी नगरपालिकामा दुई सय ९३ जनाले विभिन्न पदमा उम्मेदवारी दर्ता गराएका छन्। पञ्चपुरीको प्रमुखमा आठ र उपप्रमुखमा आठ जनाको उम्मेदवारी दर्ता भएको छ भने ११ वडाध्यक्षका लागि ६३ जनाले उम्मेदवारी मनोनयन गरेको निर्वाचन अधिकृत नविनकुमार भट्टले जानकारी दिए। खुला सदस्य एकसय १२, दलित महिला सदस्य ३४ र महिला सदस्यमा ४१ जनाले उम्मेदवारी दर्ता गराएका छन्।

गुर्भाकोट नगरपालिका
यस्तै, १४ वटा वडा रहेको गुर्भाकोट नगरपालिकामा विभिन्न पदका लागि दुई सय ६२ जनाले उम्मेदवारी दर्ता गराएका छन्। गुर्भाकोटमा प्रमुख पदका लागि सात र उपप्रमुख पदमा चार जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन अधिकृत तुलसा भण्डारीले बताइन्। उनका अनुसार खुला सदस्यमा ९७, दलित महिला सदस्यमा ४६, महिला सदस्यमा ५० जनाको उम्मेदवारी दर्ता भएको छ। १४ जना वडाध्यक्षका लागि गुर्भाकोटमा ५८ जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृत भण्डारीले जानकारी दिइन्।

भेरीगंगा नगरपालिका
१३ वटा वडा रहेको भेरीगंगा नगरपालिकामा दुई सय ९७ जनाको उम्मेदवारी दर्ता हुँदा प्रमुख र उपप्रमुखमा क्रमश आठ-आठ जनाले मनोनयन दर्ता गरेको निर्वाचन अधिकारी नगेन्द्र लम्सालले जानकारी दिए। उनका अनुसार १३ जना वडाध्यक्षका लागि ६६, खुला सदस्यमा एकसय ११, दलित महिला सदस्यमा ४९ र महिला सदस्यमा ५० जनाको उम्मेदवारी परेको छ।

लेकवेशी नगरपालिका
लेकवेशी नगरपालिकामा प्रमुखमा आठजना र उपप्रमुखमा सातजनाको उम्मेदवारी दर्ता भएको निर्वाचन अधिकृत दिपेन्द्रनाथ योगीले जानकारी दिए। १० वडा रहेको लेकवेशीमा वडाध्यक्षको लागि ४९ जनाको उम्मेदवारी दर्ता हुँदा खुला सदस्य ९७, दलित महिला सदस्य ४६ र महिला सदस्यका लागि ५० जनाले उम्मेदवारी दर्ता गराएको योगीले जानकारी दिए।

सिम्ता गाउँपालिका
८ वडा रहेको सिम्ता गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षका लागि चार-चारजनाको उम्मेदवारी परेको छ। ८ जना वडाध्यक्षका लागि ३३ जना भिड्ने भएका छन्। खुला सदस्य ५५, दलित महिला सदस्य २३ र महिला सदस्यका लागि २७ जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन अधिकृत नारायण सापकोटाले जानकारी दिए।

चिङ्गाड गाउँपालिका
६ वटा वडा रहेको चिङ्गाड गाउँपालिकामा अध्यक्ष पाँच र उपाध्यक्षमा ६ जनाको उम्मेदवारी परेको छ भने ६ जना वडाध्यक्षका लागि २५ जनाले उम्मेदवारी दर्ता गरेको उपेन्द्रकेशर खनालले बताए। चिङ्गाडमा खुला सदस्य ५५, दलित महिला सदस्य २३ र महिला सदस्यमा २७ जनाको उम्मेदवारी दर्ता भएको हो।

बराहताल गाउँपालिका
१० वडा वडा रहेको बराहताल गाउँपालिका विभिन्न पदका लागि एकसय ९५ जनाले मनोनयन दर्ता गराएका छन्। अध्यक्ष पदका लागि सात जना र उपाध्यक्ष पदका लागि ६ जनाको उम्मेदवारी परेको छ। १० जना वडाध्यक्षका लागि ४५ जनाले दावी पेश गरेका छन्। यस्तै, खुला सदस्यमा ६८, दलित महिला सदस्य ३२ र महिला सदस्यमा ३७ जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन अधिकृत ठाकुरप्रसाद पौडेलले जानकारी दिए।

चौकुने गाउँपालिका
७ वटा वडा रहेको पश्चिम सुर्खेतको चौकुने गाउँपालिकामा अध्यक्ष, उपाध्यक्ष र सदस्य पदका लागि दुई सया २४ जनाले उम्मेदवारी दर्ता गराएका छन्। चौकुने अध्यक्ष र उपाध्यक्षमा साता-सात जनाको उम्मेदवारी परेको छ। सातजना वडाध्यक्षका लागि ५४ जनाको दाबी परेको निर्वाचन अधिकृत सरोजनिधी वाग्लेले जानकारी दिए। खुला सदस्यमा ८१, दलित महिला सदस्य ३६ र महिला सदस्यमा ३९ जनाको उम्मेदवारी दर्ता भएको वाग्लेले जानकारी दिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *