मनोनयनपछि दलका उम्मेदवारले फेसबुकमा फोटो फेरे, स्वतन्त्रले एजेण्डा पोष्ट्याए

पोखरा । सोमबार पोखराको मेयरमा उम्मेदवारी दर्ता गरेपछि एमाले उम्मेदवार कृष्ण थापाले मंगलबार बिहानै आफ्नो फेसबुक वालको फोटो फेरेका छन् ।

प्रोफाइल र कभर दुईवटै फोटो उनले नयाँ हालेका हुन् । चुनावको लागि मनोनयन दर्ता गर्न जाँदै गरेको फोटो फेसबुकमा हालेका छन् । उपमेयर उम्मेदवार मन्जु गुरुङले भने सामाजिक सन्जालमा केही पनि लेखेकी छैनन् । त्यसो त उनी सामाजिक सन्जालमा त्यति भुल्दिनन् ।

धनराज आचार्यले पनि आफू मनोनयनमा जानु अघिको तस्वीरलाई फेसबुकमा सोमबार नै अपडेट गरिसकेका छन् । कोपिला तिवारीले फेसबुक अकाउण्ट त खोलेकी छन् तर उनको फेसबुक खासै एक्टिभ छैन । दलका अन्य उम्मेदवारहरूले पनि आफ्ना फोटो फेरेर भोट मागेका छन् ।

तर बागी र अन्य स्वतन्त्र उम्मेदवारहरूले भने आफ्नो फोटो फेर्नुभन्दा पोखराको समृद्धीको एजेण्डा पोष्ट्याएका छन् । कांग्रेस नेता तथा मेयरका बागी उम्मेदवार नन्द तिवारीले बिहानै पोखराको विकास र समृद्धिबारे एजेण्डाहरू पोष्ट गरेका छन् ।

उनले पोखरालाई पर्यटकीय केन्द्रको रुपमा निर्माण गरी भावी पुस्ताका लागि तयार गर्नुपर्ने प्रस्ताव फेसबुकमा लेखेका हुन् ।

‘पर्यटन, स्वास्थ्य, सामाजिक कल्याण, शिक्षा, आर्थिक विकास, प्राविधिक विकास, हामीलाई हामी जहाँ हुन चाहान्छौँ, त्यहाँ लैजाने प्रेरक शक्ति हुन्,’ उनले भने, ‘दलीय राजनीति भन्दा माथि उभिऔँ र पोखरालाई राम्रो र समृद्ध ठाउँ बनाउने हाम्रो महाअभियानमा सहभागी बनौँ ।’ सँधै राजनीतिमा सक्रिय उनी मेयरमा उठेपछि भने राजनीतिभन्दा बाहिर निस्किन आग्रह गरेका छन् ।

अटेरी अभियानबाट स्वतन्त्र उम्मेदवारी दिएका गनेस पौडेलले पनि हरेक दिन पोखरा विकासको खाका प्रस्तुत गरिरहेका छन् । उनले जनस्तरसँग जोडिने काम गर्ने बाचा व्यक्त गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *