इलोन मस्कले ४४ अर्ब डलरमा किन्ने भए ट्विटर

काठमाडाैँ । सामाजिक ट्विटरको सञ्चालक समिति (बोर्ड) ४४ अर्ब डलरमा उक्त कम्पनी अधिग्रहण गर्ने अर्बपति इलोन मस्कको प्रस्तावमा सहमत भएको छ । मस्कले दुई साताभन्द कम समयअघि सबैलाई चकित पार्दै ट्विटरको बोली लगाएका थिए ।

उनले त्यसबेला ट्विटरमा व्यापक सम्भावना रहेको र ती सम्भावनाका ढोकालाई आफूले खोल्ने बताएका थिए । उनले नक्कली खाताहरूलाई हटाउने तथा उसका सामग्रीमाथिका प्रतिबन्धहरूलाई खुकुलो पार्नेसम्मका धेरै परिवर्तनहरूका लागि पनि आह्वान गरेका थिए । कम्पनीले सुरुमा मस्कले लगाएको बोलीलाई अस्वीकार गरेको थियो ।

तर अब उसले शेअरधनीहरूलाई सम्झौता अनुमोदनका लागि मतदान गर्न आग्रह गर्नेछ । फोर्ब्स पत्रिकाका अनुसार मस्क विश्वका सबैभन्दा धनी व्यक्ति हुन् । उनको अनुमानित सम्पत्ति २७३.६ अर्ब डलर रहेको छ ।

उनी विद्युतीय सवारीसाधन निर्माता टेस्ला कम्पनीको मुख्य शेअरधनी हुन् भने अन्तरिक्षसम्बन्धी कम्पनी स्पेसएक्सको पनि उनले नै नेतृत्व गर्छन् । उक्त सम्झौताको घोषणा गर्दै मस्कले भनेका छन्, ‘अभिव्यक्ति स्वतन्त्रता कार्यात्मक लोकतन्त्रको आधार हो र ट्विटर एउटा डिजिटल सहरको चोक हो, जहाँ मानवताको भविष्यका लागि महत्त्वपूर्ण कुराहरूको बहस गरिन्छ ।’

‘ट्विटरमा व्यापक सम्भावना छ- त्यो सम्भावनालाई उजागर गर्न म कम्पनी र प्रयोगकर्ताको समुदायसँग काम गर्न म तत्पर छु,’ उनले भनेका छन् । ट्विटरमा देखापर्ने सामग्रीलाई लिएर राजनीतिज्ञ र नियमनकर्ताहरूको दबाव परिरहेका बेला यस्तो निर्णय सार्वजनिक भएको हो । -बीबीसी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *