लाइन लागेका व्यक्तिले मध्यरातीसम्म दर्ता गराए उम्मेदवारी

विराटनगर । सोमबार दिउँसो विराटनगर महानगरपालिकाको निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन गर्दा गर्न आउनेहरू दिउँसो १ बजेसम्म थोरै सङ्ख्यामा थिए ।

दिउँसो करिब २ बजेपछि त्यो सङ्ख्या ह्वात्तै बढ्यो । १ बजेसम्म सुनसान जस्तै देखिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय बाहिर पत्रकारहरू गफिँदै थिए भने उम्मेदवारी दिन आउने स्वतन्त्रहरूको सङ्ख्या थोरै देखिन्थ्यो । ठुला दल भनिएका दलहरूले आइतबार मनोनयन दर्ता गरेनन् । सोमबार पनि बिहानभरि कोही आएनन् । दिउँसोको भिडले काम गर्ने कर्मचारीहरू अस्तव्यस्त अवस्थामा देखिन्थे ।

मुख्य निर्वाचन अधिकृत भरत लम्सालले यस अघि संवाद समूहले आयोजना गरेको संवादको क्रममा कम जनशक्ति भएको कारण काम गर्न सकस हुने बताएका थिए । उनले जे भनेका थिए अवस्था त्यही आयो । उम्मेदवारी दर्ता गराउनकोलागि लाइनमा बसेकाहरूले मध्यराती १ बजेसम्म लाइन लागेर मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गरे ।

दुई दिनसम्म मनोनयन दर्ताको लागि समय तोकिएको भए पनि दलहरूले निर्वाचन अधिकृतको कार्यालयले तोकेको समय पालना नगर्दा निर्वाचनमा खटिएका कर्मचारीलाई काम गर्न निक्कै सकस देखिन्थ्यो । तोकेको समयमा दलहरू नआउँदा व्यवस्थापनमा अर्को समस्या देखिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मध्यरातीसम्म मनोनयनको फार्म लिएका कर्मचारी अढाई बजे मात्र त्यहाँबाट निस्किएका थिए ।

१९ वडा रहेको विराटनगर महानगरपालिकाको मेयरमा १६ जनाको उम्मेदवारी परेको छ । त्यस्तै उपमेयरमा १७ जनाले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए ।

वडा अध्यक्षमा १७२ जना, महिला वडा सदस्यमा १४३ जना, खुल्ला सदस्यमा २९१ जनाको उम्मेदवारी दर्ता भएको छ । दलित महिला सदस्य ११५ जनाले उम्मेदवारी दर्ता गराएका छन् । विराटनगर महानगरपालिकामा ९७ पदको लागि ७२४ जनाले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *