धरानमा एमालेको बागी उम्मेदवार

विराटनगर । धरान उपमहानगरपालिकामा नेकपा एमालेकी मञ्जु भण्डारीले मनोनयन दर्ता गरेकी छिन्।

यसअघि उपमेयर रहेकी उनले एक वर्ष कार्यवाहक मेयरको रूपमा कार्य गरेकी थिइन्। धरान १२ मा पब्लिक माविमा रहेका निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मेयरमा भण्डारी, उपमेयरका पदम प्रसाद लिम्बूले उम्मेदवारी दर्ता गरेका हुन्। मेयर उपमेयरसहित २० वटै वडाका वडाध्यक्षले उम्मेदवारी दर्ता गरेका हुन्।

मेयर उपमेयरसहित मनोनयन दर्ता कार्यक्रममा नेकपा एमाले स्थायी कमिटी सदस्य भीम आचार्य, प्रदेश कमिटी सदस्य तथा प्रतिनीिधिसभा सदस्य जयकुमार राई, प्रदेश सदस्यहरु तथा मेयरका आकाक्षीहरु मनोजकुमार मेन्याङवो, विजय राई, मोतीराज सुनुवारलगायत नेता कार्यकर्ताहरूको उपस्थिति थियो। मनोनयन दर्ताका लागि नेता कार्यकर्ताहरूको उत्साहाले चुनावी माहोल बनेको मेयरकी उम्मेदवार मञ्जु भण्डारीले बताइन्। धरानको व्यवस्थित विकासको लागि आफ्नो उम्मेदवारी भएको उनले बताइन्।

२०४८, २०५४, २०७४ सालमा धरानबाट एमालेले चुनाव जितेको थियो। धरानमा नेकपा एमालेकै एक वडा अध्यक्षले एमालेका विरुद्धमा बागी उम्मेदवारी दर्ता गराएका छन्। धरान–९ का वडाध्यक्ष रत्नबहादुर कटुवालले धरान उपमहानगरपालिकाको मेयर पदमा उम्मेदवारी दर्ता गरेका हुन्। कटुवाल २०७४ सालको स्थानीय निर्वाचनमा नेकपा एमालेबाट धरान–९ को वडाध्यक्षमा निर्वाचित भएका थिए। नेकपा एमालेसँगै अन्य दल राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टीले पनि उम्मेदवारी दर्ता गरेका छन्।

गठबन्धन दलबाट नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा समाजवादी पार्टीबाट पनि मनोनयन दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। अहिले पनि मनोनयन दर्ताको लागि लाइन लागिरहेकोले दर्ता गर्नका लागि अझै २ घण्टा लाग्ने निर्वाचन अधिकृतको कार्यालय धरानले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *