‘एमालेको नीति नै आफ्नो जितको सबैभन्दा महत्त्वपूर्ण आधार हो’ -कृष्णबहादुर थापा

पोखरा । गण्डकी प्रदेश सांसदबाट राजीनामा दिएर पूर्व सांसद कृष्णबहादुर थापा पोखराको मेयरका लागि उठेका छन्।

थापाले आज सोमबार सभामुख नेत्रनाथ अधिकारीलाई आफूले सांसद पदबाट राजीनामा दिएको पत्र दिएका हुन्। र आजै सोमबार पोखरा महानगरको मेयर पदका लागि उनको मनोनयनसमेत भइसकेको छ।

गत शनिबार दीपक पौडेललाई मेयरको टिकट दिइएको भए पनि उनको आलोचना बढी भएपछि पार्टीले सो टिकट पौडेलबाट खोसेर थापालाई दिएको थियो। सांसदजस्तो पदबाट प्रदेशसभालाई चुनौती दिई टिकट खोसेरै मेयर पदमा झरेर उम्मेदवारी दिनुको कारण एक पत्रकारले सोध्दा थापाले आफूले प्रदेशसभालाई चुनौती दिएको वा पदबाट तल झरेको नभएर पार्टीको निर्णयलाई कार्यान्वयन मात्र गरेको स्पष्टीकरण दिएका छन्।

साथै, थापाले प्रदेशसभामै रहँदा पनि आफूले नीतिगत स्तरमा जनताको सेवा गरेको र महानगरपालिकामा पुगेर पनि दैनिक रूपमा जनताको सेवा गर्ने बताएका छन्। ०५४ सालमा पनि पोखरा उपमहानगरपालिकाको उपमेयरमा उम्मेदवारी दिएका थापाले यतिबेला पोखरा महानगरपालिका भइसकेपछि पुनः मेयरमा पार्टीका शीर्ष नेताहरूको विश्वास जितेर उम्मेदवारी दिन पाउनु र महानगरपालिकाका लागि काम गर्न पाउनु आफ्नो सौभाग्य भएको बताएका छन्।

आफ्नो पार्टी अघिल्लो सरकारमा सत्तारुढ हुँदा गरेका राम्रा कामहरूका कारण आफ्नो मेयर पदमा जित सुनिश्चित भएको थापाको विश्वास छ। पोखरा महानगरको विकासमा आफ्ना पार्टीका मेयर उपमेयरले गरेका योगदान पनि मेयरमा आफू विजयी हुने आधार भएको उनको भनाइ छ। थापाले आफ्नो पार्टीको नीति नै आफ्नो जितको सबैभन्दा महत्त्वपूर्ण आधार भएको दाबी गरेका छन्।

त्यस्तै, पोखराको उपमेयरमा भने मन्जुदेवी गुरुङ नै दोहोरिने पक्का भएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *