बौद्धिक भ्रष्टाचार

स्रोत, साधन र अधिकारको प्रयोग गर्ने अख्तियारी प्राप्त पदाधिकारीले उक्त स्रोत साधनको आफू वा आफू इतरको हितका लागि प्रयोग गर्ने कार्यको रूपमा रहेको भ्रष्टाचार सार्वजनिक जीवनमा स्वीकृत मूल्यहरू विरुद्धको आचरण हो । यो सार्वजनिक पदाधिकारीबाट गरिने आर्थिक तथा सामाजिक अपराधको समग्रता हो ।

नेपालमा भ्रष्टाचारको सन्दर्भमा यसका नीतिगत, प्रक्रियागत, संस्थागत र व्यक्तिगत स्वरूपहरूको बारेमा चर्चा गर्ने गरिएता पनि बौद्धिकताको प्रयोग गरी गरिने राज्य विरुद्धको आर्थिक अपराधको चर्चा सार्वजनिक तथा निजी दुवै क्षेत्रमा नगण्य मात्रामा हुने गरेको देखिन्छ ।

सामान्य अर्थमा बौद्धिक व्यक्तित्व भन्नाले विशेष ज्ञान सीप, क्षमता, दखल, अनुभव र योग्यता भएको व्यक्तिलाई बुझिन्छ । तर मानिसमा यी गुण हुँदैमा मात्र उसलाई बौद्धिक व्यक्ति भनेर भन्न मिल्दैन । व्यक्ति बौद्धिक हुन उसले आफूमा निहित ज्ञान सीप, क्षमता, अनुभव र योग्यताको सही र विवेकपूर्ण प्रयोग गर्न पनि जान्नुपर्ने हुन्छ ।

व्यक्तिमा रहेको यस किसिमको बौद्धिक क्षमता, ज्ञान, सीप, अनुभव र दक्षतालाई उसले अनैतिक तवरले प्रयोग गरी सम्पत्ति आर्जन गर्न वा पदीय आचरण विरुद्धका कार्य गर्न उपयोग गरेमा त्यस किसिमको कार्यलाई बौद्धिक तहबाट हुने भ्रष्टाचार भन्न सकिन्छ । अर्को अर्थमा समाजमा बौद्धिक कहलिएका व्यक्तिले अधिकार प्राप्त व्यक्तिलाई आफू अनुकूल परिचालन गरेर गर्ने भ्रष्टाचारजन्य कसुरलाई पनि यसको दायराभित्र राख्न सकिन्छ ।

बौद्धिक भ्रष्टाचारलाई साधारण नागरिकले सजिलै बुझ्न सक्दैन भने यसको तह राष्ट्रिय स्तर देखि अन्तर्राष्ट्रिय तहसम्मै फैलिएको हुन्छ, नदेखिने गरी झांगिएको हुन्छ। यस किसिमको कार्य कुनै एक देशमा बसेर अर्को देशका लागि समेत गर्न सकिन्छ ।

व्यक्तिमा रहेको यस किसिमको बौद्धिक क्षमता, ज्ञान, सीप, अनुभव र दक्षतालाई उसले अनैतिक तवरले प्रयोग गरी सम्पत्ति आर्जन गर्न वा पदीय आचरण विरुद्धका कार्य गर्न उपयोग गरेमा त्यस किसिमको कार्यलाई बौद्धिक तहबाट हुने भ्रष्टाचार भन्न सकिन्छ । अर्को अर्थमा समाजमा बौद्धिक कहलिएका व्यक्तिले अधिकार प्राप्त व्यक्तिलाई आफू अनुकूल परिचालन गरेर गर्ने भ्रष्टाचारजन्य कसुरलाई पनि यसको दायराभित्र राख्न सकिन्छ ।

बौद्धिक भ्रष्टाचारको केही उदाहरणको रूपमा डाक्टरले बिरामीलाई पर्याप्त परामर्श नदिने, आवश्यकता र औचित्य बेगर चेकजाँचको लागि सिफारिस गर्ने, गलत औषधिको सिफारिस गर्ने तथा इन्जिनियर वा प्राविधिकले व्यवस्थापन वा सरोकारवाला समक्ष गलत प्रतिवेदन दिने जस्ता कार्यलाई लिन सकिन्छ । यसका साथै सार्वजनिक नीति निर्माणको क्रममा व्यक्तिगत स्वार्थबाट प्रेरित रहेर नीति तर्जुमामा सहभागी हुने, ग्रहण अध्ययन अनुसन्धान र विश्लेषण नगरी नीतिको सिफारिस गर्ने कार्यलाई पनि बौद्धिक भ्रष्टाचारको रूपमा लिन सकिन्छ ।

सार्वजनिक प्रशासनमा बौद्धिक व्यक्तित्वको प्रवेशले सार्वजनिक निकायबाट सम्पादित कार्यलाई सरल, सहज, छिटो र छरितो बनाउन मद्दत गरेको हुन्छ भने यसले सार्वजनिक स्रोतको प्रयोगलाई मितव्ययी, पारदर्शी र विवेकसम्मत तुल्याउन तथा सीमित स्रोत साधनलाई प्राथमिकता प्राप्त क्षेत्रमा प्रवाह गर्न समेत दिशा निर्देश गर्दछ भन्ने अपेक्षा र विश्वास गरिन्छ ।

बौद्धिक वर्गले नै नागरिकका माग, आवश्यकता र इच्छा तथा उपलब्ध स्रोत बिचमा कुशल संयोजन गर्न सक्दछन् र उनीहरूले गरेको कार्यप्रति आम नागरिकहरू विश्वस्त भई भरोसा समेत राख्दछन् । उनीहरूले आफूमा भएको बुद्धि र विवेकलाई सही रूपमा उपयोग गरेमा सार्वजनिक कोषको प्रयोगमा नियमितता, मितव्ययिता, कार्यदक्षता, प्रभावकारिता र औचित्यतता झल्कने गर्दछ । तर व्यक्तिमा रहेको बुद्धि र ज्ञानको स्वार्थ प्रेरित प्रयोगले सार्वजनिक कोषमाथि दुरुपयोग बढाउँछ र राज्यको समग्र आर्थिक क्रियाकलापलाई नै समाज र राज्यको अपेक्षा विपरीतको दिशामा डोर्‍याउने गर्दछ ।

भ्रष्टाचारको जग नै बौद्धिक भ्रष्टाचार हो तर बौद्धिक तहबाट हुने सबै भ्रष्टाचारमा आर्थिक अपचलन हुनैपर्छ भन्ने चाहिँ हुँदैन । बौद्धिकताको प्रयोग गरी आफ्नो वा आफ्नो समूहको स्वार्थका लागि पैसाको लेनदेन बिना नै काम गर्नु तथा सार्वजनिक पद प्राप्तिको लागि हुने चलखेल पनि बौद्धिक भ्रष्टाचारकै रूप हुन् ।

नेपालमा बौद्धिक भ्रष्टाचारले प्रशय पाउने प्रमुख क्षेत्रमा कानुन निर्माण गर्ने विधायिका, न्यायिक तथा अर्धन्यायिक क्षेत्र, चिकित्सा क्षेत्र, इन्जिनियरिङ लगायतका प्राविधिक क्षेत्र, शिक्षा क्षेत्र आदि पर्दछन् ।

मूलतः बौद्धिक तहबाट हुने भ्रष्टाचारका स्रोतहरूमा अदालतबाट हुने न्यायिक निरूपण, मन्त्रिपरिषबाट हुने नीतिगत निर्णय, संवैधानिक निकायहरूबाट विवेकको आधारमा हुने निर्णय, उच्च प्रशासनिक तहबाट बौद्धिकताको गलत प्रयोग गरी गरिने स्वार्थ प्रेरित निर्णय, बौद्धिक तहबाट प्रदान गरिने गलत परामर्श, प्रविधिको दुरुपयोग गरी गरिने पाइरेसी तथा जालसाजीलगायत विषयहरू पर्दछन् ।

यसका साथै निश्चित लाभ प्राप्तिका लागि राज्यका प्रमुख पदमा नियुक्ति हुन राजनीतिक नेतृत्वको चाकडी र चाप्लुसी गर्ने, नियुक्ति पश्चात् सार्वजनिक हित प्रतिकुलका कार्य गर्न तथा स्रोत साधनको दुरुपयोग गर्न आफ्नो बुद्धि र विवेकको प्रयोग गर्न उद्धत रहने प्रवृत्तिले पनि बौद्धिक भ्रष्टाचारलाई थप बल पुर्‍याउने गरेको पाइन्छ ।

न्यायिक निरूपणको अन्तिम बिन्दुको रूपमा रहेको अदालत र न्यायिक मनको प्रयोग गर्ने न्यायमूर्ति नै यसबाट अछुतो रहन नसेकेको आवाज यत्रतत्र सर्वत्र छरिनुले समेत यसलाई थप प्रस्ट पार्न सहयोग गरेको देखिन्छ ।

संविधान र कानुनको व्याख्या गर्ने तथा कानुनी रिक्ततामा समेत नजीर प्रतिपादन गरी न्याय सम्पादन गर्ने न्यायाधीशलाई नेपालमा बौद्धिक वर्गको रूपमा लिने गरिन्छ । यसका अतिरिक्त सार्वजनिक निकायका माथिल्लो ओहोदाका पदाधिकारीहरू, कानुनी विषयमा बहस गर्ने सरकारी तथा पेसागत निजी वकिलहरू, विश्व विद्यालयका प्राध्यापक, अनुसन्धान तथा खोजकर्ता, नागरिक समाजका अगुवा, सामाजिक अभियन्ता लगायतलाई पनि यस अन्तर्गत समेट्ने गरिन्छ । तर हाम्रो विडम्बना हाल नेपालमा समाजका यिनै बौद्धिक कहलिएका व्यक्तिहरूको गैर विवेकी र अनुत्तरदायी क्रियाकलापले भ्रष्टाचारलाई प्रशय दिएको छ ।

न्यायिक निरूपणको अन्तिम बिन्दुको रूपमा रहेको अदालत र न्यायिक मनको प्रयोग गर्ने न्यायमूर्ति नै यसबाट अछुतो रहन नसेकेको आवाज यत्रतत्र सर्वत्र छरिनुले समेत यसलाई थप प्रस्ट पार्न सहयोग गरेको देखिन्छ ।

बौद्धिक तहबाट हुने भ्रष्टाचारले गर्दा न्याय माग्नको लागि अदालतको ढोका ढकढक्याउने वास्तविक रूपमा पीडितले न्याय नपाउने, वर्षौंसम्म तारेख बोकिरहनुपर्ने र अन्तमा पीडितले भन्दा पनि पिडकले नै संरक्षण पाउने अवस्था आउँछ भने विकासको सन्दर्भमा प्राविधिक तहबाट हुने गलत सिफारिसले विकास आयोजनाको दिगो उपयोग र संरक्षण माथि नै चुनौती थप्ने गर्दछ । यसैगरी यसबाट गलत नीतिको तर्जुमा हुन पुगी सार्वजनिक स्रोतको सीमित व्यक्ति वा स्वार्थ समूह अनुकूल प्रयोग हुन जान्छ र शासन व्यवस्था प्रति आम नागरिकको विश्वास र भरोसा गुम्न पुगी राष्ट्र असफलताको दिशा तर्फ उन्मुख हुन पुग्दछ ।

यसका साथै बौद्धिक तहबाट हुने भ्रष्टाचारजन्य कार्यले समाज तथा राष्ट्रमा उदाहरणीय कार्य गरी रहेका तथा असल कार्य गर्न चाहने व्यक्तिलाई निरुत्साहन गरी उनीहरूलाई विदेश पलायन हुन बाध्य समेत पार्दछ । यसबाट बौद्धिक भ्रष्टाचार गर्ने जमातलाई खबरदारी गर्ने समूहको समेत खडेरी पर्न जान्छ र बौद्धिक भ्रष्टाचार अझ मौलाउँछ ।

वास्तवमा भन्ने हो भने नेपालमा विकास र समृद्धिको बाधक नै बौद्धिक वर्ग हुन् । सामान्य नागरिकलाई त जीवन धान्न नै हम्मेहम्मे हुन्छ । उनीहरूलाई न त भ्रष्टाचार गर्नु छ न त आफू इतरको कार्य गराउनु नै छ । तर बौद्धिक तहबाट हुने भ्रष्टाचारबाट सबैभन्दा बढी प्रभावित र पीडित हुने तह भनेको समाजका तल्लो वर्ग नै हो ।

एकातिरको स्रोत साधनको अपर्याप्तता र अर्का तर्फको बौद्धिक वर्गले गर्ने स्रोतको आफू अनुकूलको प्रयोग र वितरणले गर्दा उनीहरूको जनजीवनलाई थप असहज र कष्टपूर्ण बनाई रहेको हुन्छ भने समग्र समाजलाई नै अन्धकारको युगबाट माथि उठ्न अवरोध सिर्जना गरिरहेको हुन्छ ।

वास्तवमा भन्ने हो भने नेपालमा विकास र समृद्धिको बाधक नै बौद्धिक वर्ग हुन् । सामान्य नागरिकलाई त जीवन धान्न नै हम्मेहम्मे हुन्छ । उनीहरूलाई न त भ्रष्टाचार गर्नु छ न त आफू इतरको कार्य गराउनु नै छ । तर बौद्धिक तहबाट हुने भ्रष्टाचारबाट सबैभन्दा बढी प्रभावित र पीडित हुने तह भनेको समाजका तल्लो वर्ग नै हो ।

बौद्धिक भ्रष्टाचार गर्नेले बौद्धिकताको प्रयोग गरी अनुचित कार्यको योजना बनाउने, सोही अनुरूप नीति बनाउने र कूटनैतिक तवरबाट अनैतिक कार्यमा सहभागी हुने हुँदा यसलाई अन्य भ्रष्टाचार जसरी पहिचान गरी अनुसन्धान र अभियोजन गरी कानुनी दायरामा ल्याउन जटिल हुने गर्दछ तर नेतृत्व वर्गले अर्जुनदृष्टी लिएमा नसकिने चाहिँ होइन । यसका साथै नेपालमा हुन सक्ने सम्भावित बौद्धिक भ्रष्टाचारका क्षेत्र पहिचान, अनुसन्धानको लागि कानुनी व्यवस्था गर्न तथा सोको लागि आवश्यक संस्था र संरचनाको निर्माण गर्ने कार्यतर्फ त्यति ध्यान दिइएको पाइँदैन ।

बौद्धिक तहबाट हुने भ्रष्टाचारको नियन्त्रणको सबैभन्दा उपयुक्त उपाय भनेको बौद्धिक व्यक्तिमा सदाचारिता र नैतिकताको प्रवर्द्धन गर्नु हो जसको लागि बौद्धिक व्यक्तित्व उत्पादन गर्ने विद्यालय तथा विश्वविद्यालयका पाठ्यक्रममा नैतिक शिक्षा सम्बन्धी विषयको अध्ययन अध्यापन हुनु टड्कारो आवश्यकता छ भने सार्वजनिक पदाधिकारीबाट सम्पादित कार्यको नैतिक परीक्षण गर्ने पद्धतिको विकास समेत हुनु उत्तिकै जरुरी छ । यसका साथै विद्यमान ऐन कानुनको अक्षरशः पालना, समय सापेक्ष रूपमा कानुनको निर्माण र संशोधन, क्षेत्र विशेष अनुसार आचारसंहिताको निर्माण र सो को वस्तुनिष्ठ अवलम्बन, भ्रष्टाचार नियन्त्रण गर्ने जिम्मेवारी पाएका अख्तियार दुरुपयोग अनुसन्धान आयोग जस्ता संस्थाको सबलीकरण, नागरिक समाज तथा खोज मिडिया जस्ता निगरानी निकायको प्रवर्द्धन समेत गरिनुपर्ने हुन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.