केन्द्रले हस्तक्षेप गरेपछि गोरखा कांग्रेसको आकस्मिक बैठक, माओवादीसँग पनि नमिल्ने !


पोखरा । शनिबारसम्म गठबन्धनको बैठकले पार नपाएपछि कांग्रेस र माओवादी मात्रै मिलेर चुनावमा जाने सहमति भयो । सोहीअनुसार कांग्रेसले ७ पालिका र माओवादीले ४ पालिकाको नेतृत्व लिने गरी बाँडफाँट भयो । तर जनता समाजवादीले बखेडा झिकेर सबै पार्टीको भाग खोज्यो ।
केन्द्रीय नेताहरूको बैठक बसेर गोरखाको भागबन्डा गरियो । कांग्रेसले ५, माओवादीले ४ र जसपाले २ पालिकाको नेतृत्व पाउने गरी भागबन्डा मिलाएपछि कांग्रेस रिसाएको छ । एक्लै ९ पालिकामा चुनाव जितेको कांग्रेसले जितेकै ४ पालिका गुमाउन नचाहेपछि गठबन्धन नगर्ने निर्णयमा पुगेको छ ।
यसअघि माओवादीसँग गरेको गठबन्धनसमेत तोडेर एक्लै चुनाव लड्न लागेको कांग्रेस गोरखाका सचिव किशोरजंग थापाले बताए । ‘अब एक्लै चुनाव लड्ने हो । माओवादीसँग पनि साझेदारी हुँदैन,’ उनले भने, ‘जे कुरामा पनि केन्द्रले पेलेर हुँदैन । हामी जितेकै पालिका गुमाएर कसरी सहकार्य गर्ने ?’ कांग्रेसको आकस्मिक बैठक अहिले बसिरहेको छ । उनका अनुसार सबै दलसँगको गठबन्धन तोडेर एक्लै चुनाव लड्ने निर्णय गर्न लागिएको छ ।
