एमाले वीरेन्द्रनगरको मेयरकी उम्मेदवार मोहनमायाको राजनीतिक यात्रा यस्तो

सुर्खेत । सुर्खेतकी चर्चित युवा नेत्री मोहनमाया ढकाल परिचित नाम हो। २०३६ साल फागुन २७ गते जन्मेकी ढकाल राजनीति शास्त्रमा एम पास र कानून विषयमा एलएलवी गर्दै गरेकी निडर र शाहसी राजनीतिज्ञ महिला हुन्।

०५६ मा अनेरास्ववियु शिक्षा क्याम्पस सुर्खेतको प्रारम्भीक कमिटी सदस्य, ०५७ मा अनेरास्ववियुको जिल्ला कमिटी कोषाध्यक्ष तथा महिला विभाग प्रमुख र ०५९ मा १६ औं अखिल नेपाल राष्ट्रिय विद्यार्थी युनियनको राष्ट्रिय सम्मेलनबाट राष्ट्रिय परिषद् सदस्यमा आबद्ध थिइन् ढकाल।२०६० देखि २०६२ सम्म विद्यार्थी राजनीतिमै सक्रिय रहेकी उनी ०६२ मा पार्टी राजनीतिमा प्रवेश र दुई कार्यकाल अखिल नेपाल महिला संघको सचिव भएकी थिइन्।

०६५ मा भने नेकपा एमाले सुर्खेत जिल्ला कमिटी सदस्य दुई कार्यकाल र पार्टी सचिवालय सदस्य एक कार्यकाल उनले बिताएकी छन्। ०६९ माघबाट अखिल नेपाल महिला संघको जिल्ला सम्मेलनबाट जिल्ला अध्यक्षसमेत भएकी उनी हाल नेकपा एमालेको केन्द्रीय सदस्य तथा सुर्खेत सहइन्चार्ज हुन्।

नेकपा एमाले सुर्खेतले तिनै युवा नेत्री ढकाललाई २०७४ सालको स्थानीय तहको निर्वाचनका लागि वीरेन्द्रनगरको उपमेयरको टिकट दिएको थियो। फलतः आफ्ना निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार जानकी सिंहको भन्दा दुई हजार ४२ मत बढी ल्याएर उपप्रमुखमा उनी विजयीसमेत भएकी थिइन्। ढकालको मत नगरप्रमुख देवकुमार सुवेदीले पाएको कुल १४ हजार ४०५ मतभन्दा एक हजार ६६३ ले बढी थियो।

१६ हजार ६८ मत ल्याएर वीरेन्द्रनगरको उप–प्रमुख पदमा विजयी भएकी तिनै उपप्रमुख ढकाललाई आज पुनः एमालेले वीरेन्द्रनगरको मेयर पदको उम्मेदवार बनाएको छ। २०७४ सालको निर्वाचनमा नेपाली कांग्रेसको बाहूल्य क्षेत्रको मत पनि सहजै आफ्नो पोल्टामा पार्न सफल ढकाल पारिवारिक वातावरणका कारण स्कुल पढ्दादेखि नै आफू राजनीतिप्रति आस्थावान भएको बताउँछिन्।

स्पष्ट बोली, कार्यमा लगाव र सबै तहका महिलालाई आफ्नो बोलीले जस्तै विचार पनि सहजै बुझाउन सक्ने क्षमताकै कारण वीरेन्द्रनगरको उप-प्रमुखमा भारी मतान्तरले विजयी भई उनले पाँच वर्षअघि नै चर्चा कमाइसकेकी हुन्। ढकालले आफ्नो प्रतिस्पर्धीसँग बनाएको मत अन्तरलाई हेरेर धेरैले ‘नेता हुनु त मोहनमायाजस्तै’ भनेर समेत परिचर्चा गर्ने गरेको पाइन्छ।

एकपछि अर्को राजनीतिक सफलताका सिँढी उक्लँदै गर्दा पनि घमण्डमा भन्दा काममा कटिबद्ध हुने ढकालमाथि कतिपयले ‘मेयर पदमै एमालेले टिकट दिएको भए पनि सहजै जित्ने थिइन्’ भनेर सकारात्मक टिप्पणी उतिबेलैदेखि गरेका हुन्। उनलाई नजिकबाट चिन्ने जान्नेले मेयर पदका लागि उतिबेलै दाबेदार ठहर गरेका हुन्। उप–मेयरमा हासिल गरेको फराकिलो जितले ढकाललाई अर्कोपटक मेयरको टिकट दिन एमाले अगुवाहरूलाई दबाब नै दिएको कुरा साँचो हो।

भारी मतान्तरले विजयी हुँदा समेत ढकालको विजयीको खुसीयालीमा एमाले पार्टी सुर्खेतले तत्काल विजयी जुलुश निकाल्ने आँट भने गर्न सकेको थिएन। कारण, एमालेबाटै मेयर पदका उम्मेदवार बालाराम शर्मा पराजित भएपछि विजयी जुलुश निकाल्ने आँट त्यतिबेला एमालेले गर्न सकेन।

ढकाल भन्छिन्, ‘राजनीतिमा लागेर कहिल्यै निराश भइन्ँ, एकपटक असफल भएमा अवश्य सफल भइन्छ भन्दै निरन्तर खटिरहेँ। असफलता नै सफलता हो, मैले पार्टीमा पुर्याएको योगदानले टिकट पाएर २०७४ मा उपमेयरमा विजयी भएँ र यो पटक पार्टीले मेयर पदको उम्मेदवार बनाएको छ। नगरवासीले अवश्य विजयी गराउनेमा ढुक्क छु।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *