पोखराको मेयरमा प्रदेश सांसदको च्याप्टर क्लोज, थापा र पहारी बाहिरिए

पोखरा । नेकपा एमालेले पोखराको मेयरमा प्रदेश सांसदलाई टिकट नदिने भएको छ।

पोखराबाट दुईजना सांसद, कृष्णबहादुर थापा र राजीव पहारीले टिकटको आकांक्षा देखाएका छन्। दुवै सांसदको नाम महानगरबाट जिल्ला हुँदै प्रदेशबाट केन्द्रमा समेत पुगेको खबर बाहिरिरहँदा बिहीबार सम्पन्न सचिवालय बैठकका क्रममा उपमहासचिव पृथ्वीसुब्बा गुरुङले भने प्रदेश सांसदलाई मेयरको रेसबाट हटाइएको जानकारी दिएका छन्।

गण्डकीमा जुनसुकै बेला एमालेको सरकार बन्न सक्ने भन्दै अहिले सांसदलाई मेयर बनाउन नहुने उनको तर्क छ। ‘गण्डकीमा एमालेले सरकारको नेतृत्व गर्नुपर्ने हुनसक्छ। त्यतिबेला हामी आफै कमजोर बन्न त भएन,’ उनले मकालुखबरसँग भने, ‘सांसदलाई मेयरमा पठाउनु हुँदैन। अरू योग्य उम्मेदवारहरू हुनुहुन्छ।’

तर प्रदेशमा धारा १६८ को उपधारा (५) अनुसार सरकार बनेको हो। संविधानतः यसपछि नयाँ सरकार बन्ने बाटो देखिएको छैन। यदी यो सरकार ढल्यो भने संसद विघटन गरेर ६ महिनाभित्र चुनाव गर्नुपर्ने अवस्था सिर्जना हुने देखिएको बताउँदै सांसद थापाले  यस्तो निर्णय नभएको बताएका हुन्।

नेताहरूले आफूलाई रोक्न षड्यन्त्र बुनेको उनले आरोप लगाएका छन्। उनले भने, ‘पार्टीले आधिकारिक निर्णय गरेको छैन। तर, मलाई रोक्न धेरै षड्यन्त्र भइरहेको छ। कि सबैतिर सांसदलाई रोक्नुपर्यो। नत्र गण्डकीमा मात्रै त्यसो गर्नुहुँदैन।’ अर्का सांसद पहारीले भने पार्टीको निर्णय आफूले स्वीकार गर्ने बताएका छन्।

पोखराको मेयरमा १२ जनाको र उपमेयरमा ९ जनाको नाम केन्द्रमा सिफारिस भएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *