कास्की कांग्रेस कार्यालयमा लगाइएको ताला खुल्याे, सबै आकांक्षीको नाम सिफारिस
पोखरा । केन्द्रले पोखराको मेयर एकीकृत समाजवादीलाई दिने निर्णय गरेपनि कास्की कांग्रेसले उक्त निर्णय स्वीकारेको छैन ।
त्यसकाे विराेधमा पोखरा नगर समितिले जिल्ला पार्टी कार्यालयमा तालाबन्दी गरेको थियो । बुधवार लगाइएको ताला बिहिबार खोलिएको छ ।
आकांक्षी सबैको नाम जिल्लाबाट प्रदेश हुँदै केन्द्रमा पठाउने सहमतिपछि ताला खोलिएको हो । बिहिबार तालाबन्दी लगत्तै बुधबार बेलुका कांग्रेसले पोखराका वडा सभापति र अन्य नेताहरूसँग छलफल गरेको थियो । छलफलपछि ताला खोल्ने सहमति जुटेको नगर सचिव गणेशबहादुर थापाले बताए ।
बिहीबार कांग्रेस पोखरा महानगरपालिका समिति सभापति सुरेन्द्रमान बिजुक्छे र कास्की कांग्रेस सभापति किशोरदत्त बरालले ताला खोलेका हुन् । ताला खोल्दै कास्की सभापति बरालले महानगर समितिको गतिविधिले पार्टीलाई दवाव सिर्जना भएको बताए । उनले अझै नेतृत्व लिन पहल गर्ने बताएका छन् ।
यसैबीच आकांक्षी सबैको नाम सिफारिस गरिएको नगर सभापति बिजुक्छेले बताए । पोखरामा मेयरका लागि कांग्रेसबाट १८ जना र उपमेयरका लागि १० जनाको नाम सिफारिस भएको छ ।









