रञ्जु दर्शनाको आत्मसमीक्षा; ‘चुनावमा उठ्न योग्य काम गर्न सकिनँ’

काठमाडौँ । विवेकशील साझा पार्टीकी पूर्व युवा नेता रञ्जु दर्शनाले आगामी चुनावमा आफूले प्रतिस्पर्धा नगर्ने जानकारी गराएकी छन्।

युवा नेता दर्शनाले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत आफूले आफ्नो समीक्षा गरेको र त्यसका आधारमा आफू चुनावमा भाग लिन योग्य नरहेको निष्कर्षमा पुगेको स्वीकार गरेकी हुन्। उनले सार्वजनिक रूपमै आफ्नो कटु समीक्षा आफैले गरेकी हुन्। उनले लेखेकी छन्, ‘तपाईंहरूको साथ र वैकल्पिक राजनीतिप्रतिको अपेक्षा एवम् विश्वासले मलाई आफ्नै कटु समीक्षा र मूल्याङ्कन गर्न प्रेरित गरेको छ। सबैभन्दा कठिन पनि आफ्नै समीक्षा गर्ने काम रहेछ। तर, म सत्यमा विश्वास गर्छु र मूल्यमान्यतामा आधारित राजनीति र जिवन दर्शन अपनाउँछु। त्यसैले, पनि यो पत्र, यो सन्देश सबैले पढ्न जरूरी छ।’

उनले आफू र आफ्नो टिमप्रति समाजको अपेक्षा रहेको महसुस भएका कारण आफूले निष्ठा र भरोसाको राजनीतिलाई अघि बढाउनुपर्ने यथार्थलाई स्वीकार गर्दै आफू आगामी चुनावबाट पछि हटेको जानकारी गराएकी हुन्। उनले यथार्थलाई स्वीकार गर्नु पुरुषार्थ भएको समेत बताएकी हुन्। उनले अघिल्लो चुनावमा अघि सारिएको घोषणापत्रअनुसारको काम गर्न नसकेका कारण यसपटक आफूले चुनावमा उठ्न नमिल्ने नैतिक बोध भएको उल्लेख गरेकी छन्।

उनले लेखेकी छन्, “म आफैले अघिल्लोपटकको स्थानिय निर्वाचनमा गरेको वाचा, घर-घर मतदातालाई बाँडेको घोषणापत्र बमोजिम काम नगरेको कारणले यस निर्वाचनमा आफूले मेयर पदको आकांक्षा राखी चुनावमा प्रतिस्पर्धामा उत्रन नमिल्ने समीक्षा गरेको छु। तसर्थ यस स्थानीय निर्वाचनमा रञ्जुको उम्मेदवारी रहनेछैन।

साथै, उनले चुनावी प्रतिस्पर्धामा भाग नलिएको भए पनि आफूले राजनीति भने नछोडेकोसमेत स्पष्ट पारेकी छन्। उनले स्थानीय तहको राजनीतिमा समुदाय, स्थानीयसँग निकटको सम्बन्ध हुनैपर्ने बताउँदै उनले स्थानीय स्तरमै सक्रियताकासाथ कदम चाल्ने  बताएकी छन्। उनले आफूले सुरु गरेको राजनीति चुनावमा बढी मत ल्याउँदैमा र चुनावमा विजय हासिल गर्दैमा मात्र सार्थक नहुने जनाउँदै राजनीतिमा राजनीतिक  राजनीतिक सु-संस्कार स्थापना गर्ने कुरामा आफूले विश्वास गर्ने बताएकी छन्।

उनले आफ्ना शुभचिन्तक एवं साथीहरूलाई सम्बोधन गर्दै लेखेकी छन्, ‘धेरै शुभचिन्तक एवं साथीहरूले यस स्थानीय निर्वाचनमा उठनुस् भनिरहनु भएता पनि म यो यथार्थ र परिस्थितिलाई खुल्ला मनले स्वीकार गरि पूर्ण सशक्त रूपमा राजनीतिक यात्रा अघि बढाउने घोषणा गर्दछु।’

युवा नेता दर्शनाले आफू चुनावमा प्रतिस्पर्धामा उत्रिने भन्दा पनि आफूले गरेका कामहरूका आधारमा जनताबाट नै आफू चुनिने ढंगबाट आफू अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेकी छन्।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *