निष्पक्ष एवं मर्यादित निर्वाचनका लागि बारामा कार्यक्रम

काठमाडौँ । निर्वाचनलाई निष्पक्ष एवं मर्यादित बनाउनका लागि बारामा प्रमुख निर्वाचन कार्यालयको एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ।

प्रमुख निर्वाचन अधिकृत खिलनाथ रेग्मी, जिल्ला समन्वय समितिका संयोजक नवलकिशोर सिंह, प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले संयुक्तरूपमा कार्यालयको उद्घाटन गरेका छन्। निर्वाचन निष्पक्ष, तटस्थ, धाँधलीरहित हुनेमा कसैलाई शङ्का नगर्न प्रमुख निर्वाचन अधिकृत रेग्मीले प्रतिबद्धता व्यक्त गरेका छन्। उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै समन्वय समितिका संयोजक सिंहले दलहरूबीचको सहमति, सहकार्य र मित्रवत् सम्बन्ध कायम गरेर चुनावमा अगाडि बढ्न सुझाव दिँदै निर्वाचनका दौरानमा भए-गरेका नाकारात्मक कुरालाई प्राथमिकता नदिई सकरात्मक कुरालाई सञ्चारमाध्यममा उजागर गर्न आग्रहसमेत गरे।

सोही कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी कटुवालले चुनावलाई मर्यादित, निष्पक्ष, शान्तिपूर्णरूपमा सम्पन्न गर्नका लागि भरपुर सुरक्षा व्यवस्था मिलाई मतदान केन्द्रसम्म जाने वातावरण मिलाउन आफू कटिबद्ध रहेको बताउँदै ढुक्क भएर मतदान गर्नका लागि सबैलाई आग्रह गरे। उनले प्रहरी प्रशासनले एक्लै मात्र चाहेर सबै थोक गर्न नसक्ने बताउँदै निर्वाचन सम्पन्न गर्नका लागि राजनीतिक दल, नागरिक अगुवा, पत्रकारसहित सबैको सहयोगको उत्तिकै खाँचो रहेको स्मरण गरेका छन्।

निर्वाचनमा भाइचाराको सम्बन्ध गाँसी कुनै प्रकारको झैझगडा, होहल्ला, वादविवादमा नपरी शान्तिपूर्णरूपले अगाडि बढ्न प्रमुख जिल्ला अधिकारी कटुवालले सुझाव दिएका छन्। सोही क्रममा उनले मतदातालाई कसैको दबाब, प्रभावमा नपरी आफूलाई योग्य लागेका उम्मेदवारलाई नै चुनावमा मतदान गर्न आग्रहसमेत गरे।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *