१० पालिका रहेको तनहुँमा गठबन्धनको भाग पुर्‍याउँदा १४ पालिका पुग्यो

पोखरा । तनहुँमा १० वटा पालिका छ । ४ वटा नगरपालिका र ६ वटा गाउँपालिका रहेको यहाँ गठबन्धन दलहरूको माग अनुसार १४ पालिका पुग्छ । कांग्रेसले ६ वटा पालिकामा अडान छोडेको छैन । माओवादीले ४, एकीकृत समाजवादीले ३ र जनता समाजवादीले १ पालिकामा प्रमुख दावी गरेका छन् ।

गठबन्धन दलहरूको अस्वाभाविक माग भएको भन्दै कांग्रेसले गठबन्धन नगर्ने मनस्थितिमा पुगेको छ । ‘हामीले यसअघि जितेकै पालिकामा पनि माओवादी र एकीकृत समाजवादीलाई दिनुपर्ने भयो । पहिलेकै उपलब्धी पनि गुम्ने भए गठबन्धन किन गर्ने रु,’ जिल्ला सचिव लक्ष्मीभक्त खनालले भने, ‘अब बैठक अनिश्चित भएको छ । सायद बैठक नहुन पनि सक्छ ।’

उनले मंगलबार कांग्रेसको जिल्ला समिति बैठक बोलाएर गठबन्धन बारे रिपोर्टिङ गर्ने र समितिको सुझावका आधारमा निर्णय लिने बताए । माओवादीले शुक्लागण्डकी नगरपालिका र आँबुखैरेनी गाउँपालिका मागेको छ भने एकीकृत समाजवादीले शुक्लागण्डकी र भानु नगरपालिकाको प्रमुख मागेको छ । कांग्रेसले नै जितेको ब्यास र ऋषिङ गाउँपालिकाको उपप्रमुख एकीकृत समाजवादीले मागेको छ भने घिरिङ र देवघाटको उपप्रमुख माओवादीले मागेको छ ।

‘हामीले नै जितेको ३ पालिकाको प्रमुख र ३ पालिकाको उपप्रमुख दिएर कांग्रेसलाई कुनै फाईदा छैन,’ उनी अघि भन्छन्, ‘त्यही कारण बैठक विना निष्कर्ष टुंगिएको छ । अर्को बैठकको समय तोकिएको छैन । हामीले चाहेको र अरु पार्टीले पनि चाहेको पालिका एउटै भयो ।’ गठबन्धनले अस्वाभाविक माग राखेकोले बैठक तत्कालै रोकिएको कांग्रेसले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + 20 =