सभापति गठबन्धनको बैठकमा, सचिवहरूले निकाले गठबन्धन टुटेको विज्ञप्ति

पोखरा । कास्की कांग्रेसका सभापति किशोरदत्त बराल अहिले गठबन्धनको बैठकमा छन् । माओवादी, एकीकृत समाजवादी, जनता समाजवादी र जनमोर्चाबीच पोखरा र कास्कीका पदहरूकाे बाँडफाँटका लागि अहिले बैठक चलिरहेको छ ।

तर, कास्की कांग्रेसका दुई सचिवहरूले कास्कीमा गठबन्धन टुटेको विज्ञप्ति निकालेका छन् । भानुभक्त ढकाल र देवेन्द्र रानाभाटले विज्ञप्ति निकाल्दै माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीसँग स्वस्थ प्रतिस्पर्धा गर्ने र गठबन्धनमा सामेल नगराउने विज्ञप्ति निकालेका हुन् । एकीकृत समाजवादीले पोखराको मेयरमा दाबी  नछोडेपछि कांग्रेसले उसलाई गठबन्धनबाटै बाहिर राखेको सचिव ढकालले बताए ।

‘पटक पटकको लामो छलफल र बहसका साथै सँगै तालमेल गरेर जाने सन्दर्भमा भरपुर प्रयत्न गरियो । जिल्ला संयन्त्रबाट निर्वाचनका लागि तालमेल गर्ने सम्बन्धमा एकीकृत समाजवादीसँग कास्की जिल्लामा व्यापक छलफल हुँदा पनि अस्वभाविक दाबीका कारणले निष्कर्ष निस्केन,’ विज्ञप्तिमा लेखिएको छ, ‘पार्टी मातहतका निकायहरुको राय सुझावलाई समेत मध्येनजर गरी अन्य गठबन्धनका दलहरूसँग तालमेलका लागि वार्ता र संवाद अगाडि बढाउने र एकीकृत समाजवादीसँग मैत्रीपूर्ण र स्वच्छ प्रतिस्पर्धामा जाने निर्णय गरियो ।’

तर सभापति बरालले भने कांग्रेसले गठबन्धन टुटाउने निर्णय नगरेको बताएका छन् । ‘म बैठकमै छु । हामी सहमति खोजिरहेका छौं । गठबन्धन टुटाउने कुरा छैन,’ उनले भने, ‘उहाँहरूले के विज्ञप्ति लेख्नुभयो म पछि बुझौंला । अहिले हामी वार्ता गरिरहेका छौं ।’

एकीकृत समाजवादीका अध्यक्ष धनराज आचार्य पनि गठबन्धन नटुटेको बताउँछन् । ‘हाम्रो माग अस्वाभाविक छैन । त्यसमै सहमति खोज्नका लागि बैठक भैरहेको छ,’ उनले भने, ‘सभापतिज्यू नै बैठकमा भएको बेला बाहिर आएको विज्ञप्तिको कुनै अर्थ छैन ।’

दुवैजना गठबन्धनमा कटिबद्ध भएर लाग्ने बताउँछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *