तनहुँमा गोविन्दराज जोशी र एमालेबीच गठबन्धन, जोशीका छोरा ब्यासका मेयर उठ्ने

पोखरा । चैत २३ गते तनहुँका प्रभावशाली नेता कांग्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशीका छोराले ब्यास नगरपालिकाको मेयरमा उम्मेदवारी घोषणा गरे । उनले कांग्रेस कार्यालयमा पुगेर मेयरमा आफ्नो दाबी टिपाए । तर उनको नाम सिफारिस भएन । लामो समय कांग्रेसको राजनीतिमा कपाल फुलाएका गोविन्दराज जोशी अन्ततः आफ्नो पुरानो पार्टी छोडेर विचार नै नमिल्ने एमालेसँग गठबन्धन गर्न पुगेका छन् ।

जोशीले आफ्ना छोरालाई मेयर बनाउन एमालेसँग घाँटी जोडेका हुन् । ‘अनौठो किन भएको भने यहाँको वास्तविकता धेरैलाई थाहा छैन । ८ हजार जनालाई क्रियाशील सदस्यबाट वञ्चित गराइयो अहिले । म लगायत ८ हजार जना साधारण सदस्य पनि छैनौँ । हामी आफै साधारण सदस्य छैनौँ भने कांग्रेसको चिन्ता लिनुपर्ने भएन,’ उनले भने, ‘मान्छेले मलाई कांग्रेस नै ठानेर प्रश्न गरिरहनु भएको छ । तर हामीलाई केही पनि भएको छैन ।’

आफूले कांग्रेस मिलाउन धेरै प्रयास गरेपनि कांग्रेसले नै वास्ता नगरेको उनको गुनासो छ । ‘म यो जिल्लामा कांग्रेस सुरु गरेको हुनाले मिलाउने प्रयास गरेँ । वार्ता टोली बन्यो, वास्ता गरेनन्,’ उनी भन्छन्, ‘कांग्रेसले छोडेर जाऊ भनेपछि हामी पनि अस्तित्वको लडाइँ लड्नुपर्‍याे । कि पार्टी छोड्नुपर्‍याे, कि केही गर्नुपर्‍याे । मैले मात्रै छोडेर पनि भएन । साथीहरूको भावना एमालेसँग मिल्ने भनेपछि म सहमत भएँ ।’

उनले कांग्रेसको विरुद्धमा गठबन्धन बनेको बताए । ‘खोलाको तिरमा शत्रुहरू उभिएको बेला पछाडिबाट बाघले लखेट्यो भने नबोली नबोली हात समातेर तर्नुपरेन ? मलाई भएको त्यही हो । त्यसकै लागि गठबन्धन गरेका हौँ । खोलो नतरुन्जेल सँगै हिँड्ने भनेर गठबन्धन गरेका हौँ,’ जोशीले मकालुखवरसँग भने, ‘हामी स्वतन्त्र चिन्ह लिएर चुनाव लड्छौँ, एमालेको चिन्हमा लड्दैनौँ ।’ उनले जिल्लाका १० वटै पालिकामा गठबन्धन हुने बताए । ब्यासमा भने आफ्नै छोरा मेयरमा उठ्ने र एमालेले सघाउने उनको दाबी छ ।

एमाले जिल्ला अध्यक्ष श्रीप्रसाद श्रेष्ठले भने छलफलकै क्रममा भएकाले नटुङ्गिएको बताए । ‘हामी छलफलमा छौँ । सबै कुरा भन्न नमिल्ने खालको छ,’ उनले भने, ‘आज टुङ्गो लागेपछि औपचारिक रूपमा बाहिर आउँछ । सम्भवतः मिलेर जाने कुरामा सहमति छ ।’ कुन पालिकामा कसरी जाने भन्ने टुङ्गो चाहिँ लागेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *