गठबन्धनले झापामा स्थानीय तह बाँडफाँड आज टुङ्ग्याउने

झापा । स्थानीय तहको निर्वाचनमा गठबन्धन बिच पालिका मिलाउने बारेमा बसेको बैठक आज सहमतिमा पुग्ने गरी बस्दैछ । झापामा १५ पालिकामा माओवादी, कांग्रेस, जसपा, नेकपा एकीकृत समाजवादीबीच शुक्रबारको बैठक केही विषय नमिलेर टुङ्गोमा पुग्न सकेको थिएन ।

गठबन्धन दलहरू बिच बनेको कार्यदलले आज अन्तिम रूप दिएर पालिका बाँडफाँडको विषय सार्वजनिक गर्ने तयारी गरेको नेपाली कांग्रेस झापा सचिव कृष्ण हुमागाईँले जानकारी दिए । आगामी वैशाख ३० गते हुने निर्वाचनका लागि झापाका १५ वटा स्थानीय तहमा उम्मेदवारको टुङ्गो लगाउन र उम्मेदवार तालमेलका विषयमा बैठकमा छलफल भएको थियो ।

बैठकमा उम्मेदवारी र तालमेलका विषयमा भएको छलफल सहमति नजिक पुगेकोले आज अन्तिम विषय टुङ्गो लगाउन बैठक बस्ने तयारी भएको हुमागाईँले बताए । अपराह्नसम्ममा पाँच दलीय गठबन्धनले उम्मेदवारी तालमेल सहमति पत्रमा हस्ताक्षर गर्ने सम्भावना रहेको उनको भनाई छ ।

गठबन्धन दलका झापा जिल्ला संयोजक तथा नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवे, संविधान सभा सदस्य तथा नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य सुधिरकुमार शिवाकोटी, नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागाईँ, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा प्रदेश नम्बर १ का कृषि मन्त्री झलकसिंह दर्लामी, संविधान सभा सदस्य मोहन टुडु, माओवादी केन्द्रका प्रदेश कमिटी सचिवालय सदस्य सीपी कडरिया , झापा अध्यक्ष राजु आचार्य, नेकपा एकीकृत समाजवादी पार्टीका पोलिटब्यूरो सदस्य भाष्कर काफ्ले, निलमणि बराल, जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य नित्यानन्द ताजपुरिया, झापा अध्यक्ष दीपेनवाला राई लगायत बैठकमा सहभागी थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *