मोरङमा यसरी हुँदैछ गठबन्धनबिच तालमेल

विराटनगर । नेपाली कांग्रेस मोरङ पार्टी कार्यालयमा शुक्रबार दिउँसो ३ बजे एउटा समूह डेलिगेसनमा थियो ।

चुनावी तालमेल गर्न नहुने भन्दै पार्टी कार्यालयमा पुगेको टोलीले जिल्ला सभापति डिगबहादुर लिम्बूलाई भेटेर पालिका र वडाको अवस्था जानकारी गराएको थियो । २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी निर्वाचित भएको विराटनगर महानगरपालिका वडा नम्बर ६ मा अहिले नेपाली कांग्रेस एक्लैले चुनाव जित्ने दाबी सहित वडा सभापति राम ढकालको नेतृत्वमा पार्टी कार्यालयमा ध्यानाकर्षण गराउन टोली पुगेको थियो ।

टोलीले जिल्ला सभापति लिम्बूलाई ध्यानाकर्षण गराउँदै वडा नम्बर ६ मा चुनावी तालमेल नगर्न सुझाए । एक्लै चुनाव जित्ने आधार हुँदा हुँदै पनि अर्को पार्टीलाई भोट हाल्ने अवस्था सिर्जना नगर्न उनीहरूको दबाव थियो ।

यस्तो दबाब निरन्तर जिल्ला पार्टी सभापति र पदाधिकारी समक्ष आउने गरेको छ । शुक्रबार बिहानैै पनि सुन्दरहरैँचा नगरपालिका वडा नम्बर ३ बाट पनि नेपाली कांग्रेस वडा समितीको नेतृत्वमा डेलिगेसन पार्टी कार्यालयमा पुगेको थियो । शुक्रबार मात्र तीनवटा समूह यसरी डेलिगेसनमा आएको कांग्रेस मोरङ सभापति लिम्बूले बताए । यो दर चुनाव नजिकिँदै जाँदा बढ्ने उनको भनाई छ । उनका अनुसार वडागत, पालिकागत, क्षेत्रगत रूपमा पार्टीको नेतृत्वमा नै डेलिगेसन आउने गरेका छन् ।

भित्र बैठक बाहिर डेलिगेसन
नेपाली कांग्रेस पार्टी कार्यालयमा शुक्रबार दिउँसो सभापति लिम्बूसँग डेलिलगेशनका लागि कार्यकर्ता आउँदै गर्दा कार्यालयको अर्को कोठामा गठबन्धन दलको संयन्त्रको बैठक बसिरहेको थियो । पालिका बाँडफाँड गर्ने बारेमा गठबन्धन जिल्ला संयन्त्रको बैठकले छलफल गरेको हो । छलफलमा माओवादीले प्याकेजमा पालिका माग गरिरहेको छ भने नेकपा एकिकृत समाजवादी र जसपाले आबश्यकताको आधारमा तालमेल गर्न सकिने भनेका छन् ।

कहाँ कसरी तालमेल हुँदैछ
प्रतीनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ मा पालिका स्तरमा छलफल शुरू भएको छ । मिक्लाजुङ, केरावारी र लेटाङमा प्रमुख उपप्रमुख सहित केही वडालाई मिलाएर लिएर जाने तयारी देखिएको छ । उर्लाबारीमा एक्लैले जितिने दाबी कांग्रेसले गर्दै आएको भएपनि उपप्रमुखमा र केही वडाहरूमा यसअघि एमालेले जितेको कारण ती वडाहरूमा पनि बाँडफाँड गरेर जाने तयारीमा गठबन्धन दल देखिएका छन् । क्षेत्र नम्बर २ को रतुवामाई नगरपालिका बाहेकमा तालमेल हुनसक्ने देखिएको छैन ।

रतुवामाईमा मेयर कांग्रेसले राखेर उपमेयर अर्को दललाई दिएर जाने र वडाहरूमा केही तालमेल हुने देखिएको छ । क्षेत्र नम्बर ३ अहिले तालमेलमा सबैदल मिलेर जाने तयारीमा छन् । जिल्लामा जिल्ला संयन्त्रको बैठक बसिरहेको अवस्थामा क्षेत्र नम्बर ३ मा गठबन्धनको क्षेत्रीय संयन्त्रको बैैठक पनि बसेको छ । यो क्षेत्रमा अधिकांश पालिका एमालेले जितेको थियो । पथरी, बेलबारी, कानेपोखरी र सुन्दर हरैँचामा प्रमुख उपप्रमुख र केही वडाहरूमा दलहरूबिच तालमेल हुने स्राेतको दाबी छ ।

त्यस्तै, क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेस तालमेल गर्ने पक्षमा देखिएको छैन । कटहरी र ग्रामथान पुरै पालिका पर्छ भने विराटनगर महानगरपालिकाको वडा नम्बर १,२,३,८,१० र १९, बेलवारी नगरपालिकाको ५, ६ र ७ वडा पर्छन् । यी सबै पालिका र वडा जित्ने दाउमा कांग्रेस देखिएको छ । स्वतः कांग्रेसले जित्ने भएकोले आफ्नो स्पष्ट जित हुने क्षेत्रमा तालमेलको जरुरी नभएको भन्दै कार्यकर्ता स्तरबाट नै विराेध हुँदै आएको छ ।

निर्वाचन क्षेत्र नम्बर ५ मा भने नेपाली कांग्रेसले जनता समाजवादी पार्टीसँग तालमेल गर्ने भएको छ । यो क्षेत्रमा पर्ने विराटनगरको वडा नम्बर १३ देखि १८ सम्मका सबै वडा, जहदा, धनपाल, रंगेली नगरपालिकामा तालमेलको तयारी छ ।

यसअघिको निर्वाचनमा नेपाली कांग्रेस एक्लैले चुनाव जितेको स्थानीय तहमा जसपाले सघाउने र जसपाले चुनाव जितेको पालिकामा कांग्रेसले जसपालाई सघाउने बारेमा छलफल अन्तीम चरणमा पुगेको छ । डा. शेखर कोइरालाको क्षेत्र भनेर चिनिएको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर ६ मा भने कुनैपनि तालमेल नहुने नेपाली कांग्रेसले जनाएको छ ।

विराटनगर महानगरपालिका, ४,५,६,७, ९, ११ र १२, बुढिगंगा गाउँपालिका र सुन्दर हरैँचा नगरपालिकाको केही वडा पर्छ । यी वडा सहितको पालिका एक्लैले चुनाव जित्ने दाबी कांग्रेसको छ । तालमेल हुँदा सुन्दर हरैँचामा उपप्रमुख सहित केही वडा अध्यक्षमा हुने जनाईएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *